+
+

दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र : हाम्रो परिवारमाथि घातक प्रहार भए

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १७:३३

१३ माघ, वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताए ।

शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको उनले बताए ।

दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘…राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’

दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरु बहकिरहेको भन्दै उनले भने, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिए । त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे ।

त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले भने, ‘आज त्यो असन्तोष, चासो, चासो चिन्ता छलाछुल्ल छ ।’

राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले भने, ‘त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’

अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको पूर्वराजा ज्ञानेन्द्रले बताए । आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको उनले बताए । राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्ने उनको जोड छ ।

देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे ।

‘दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ’, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो ।’

उनले भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?