+
+

सुरक्षा पन्त अभिनित नाटक ‘क्लेशाः’ दिल्ली र रामनगरमा मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १२:४८

काठमाडौं । सुरक्षा पन्त अभिनित नाटक ‘क्लेशाः’ २३ औं भारत रंग महोत्सवमा छनोट भइसकेको खबर यसअघि नै आइसकेको छ । यतिबेला भने यो नाटकको भारत मञ्चनलाई लिएर नयाँ खबर छ ।

प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको यो नाटक फेब्रुअरी १७ र १९ सम्म मञ्चन हुने तय भएको छ । यो नाटक भारतीय रंग महोत्सवमा सन् २०२२ का लागि छनोट भएको थियो ।

कोभिडका कारण रोकिएको यो नाटकलाई पुनः मञ्चनका लागि निम्तो मिलेको हो । जसअनुसार ती मितिमा यो नाटक दिल्ली र रामनगरमा मञ्चन हुने तय भएको छ । महोत्सवमा छनोट ६२ मध्ये एक मात्र अन्तर्राष्ट्रिय नाटक रुसबाट छ । भारतको नाट्य प्रज्ञा प्रतिष्ठान मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रुपमा आयोजना गर्ने सो महोत्सव फेब्रुअरी १ देखि सुरु हुँदैछ ।

सन् १९९९ बाट सुरु महोत्सवमा यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीले सहभागिता जनाइसकेका छन् । यसपटक भारत रंग महोत्सवमा नेपालबाट नयाँ पुस्ताका युवा निर्देशकको डेब्यु नाटकले नै प्रतिनिधित्व गर्न लागेको हो । ‘क्लेशाः’ विजया कार्कीको डेब्यु निर्देशन हो ।

फेब्रुअरी १ देखि २६ सम्म आयोजना हुने महोत्सवमा यस वर्ष भारतका ५९ वटा नाटक, रुसको एक नाटक र दुई लोकनाटक छनोट भएको आधिकारिक वेबसाइटमा उल्लेख छ । साथै सन् २०२२ का लागि छानिएको नाटकमध्ये समावेश केही नाटकमा ‘क्लेशाः’ परेको हो ।

नाटक ‘क्लेशाः’को मुख्य स्रोत रामायण हो । यसले ऋषि वाल्मिकीको कथालाई समसामयिक रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । ‘क्लेशाः’का पाँच तत्व अज्ञानता, अहंकार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा छ ।

यसअघि गत पुसमै सुरक्षाले सामाजिक सञ्जालमार्फत नाटक महोत्सवमा छनोट भएको जनाएकी थिइन् । करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय छ । कलाकार सुरक्षा पन्तले यो नाटकबाटै डेब्यु गरेकी थिइन् । नाटक ‘क्लेशाः’बाट थिएटर डेब्यु गरेकी थिइन् ।

त्यस्तै नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल र केदार श्रेष्ठ छन् । ‘क्लेशाः’ टोली अहिले नाटकको नियमित अभ्यासमा छ ।

‘क्लेशाः’ टोली काठमाडौंको विशेष मञ्चनपछि फागुन २ गते भारत प्रस्थान गर्नेछ । कला समूहको रुपमा स्थापना भएको करमनको पहिलो प्रस्तुति भारत रङ्ग महोत्सवमा छनोट भएको हो । भारतअघि माघ २९ र फागुन १ गते काठमाडौंको मण्डला थिएटरमा मञ्चन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?