+
+

‘नेपाल जसरी विश्वकपमा छनोट भएको थियो, त्योभन्दा ठूलो क्षण देखें’

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १७:२२

१५ माघ, काठमाडौं । नेपाल सन् २०१६ मा यू-१९ विश्वकपको क्वाटरफाइनलमा बंगलादेशसँग हारेर बाहिरियो । त्यसपछि जगत टमाटाले यू-१९ टोली छाडेर सिनियरको मुख्य प्रशिक्षक बने । नेपालका पूर्वकप्तान विनोद दासले यू-१९ टोलीको मुख्य प्रशिक्षक पद सम्हाल्लेका थिए । तर नेपाल २०१७ र २०१९ दुवै छनोटबाट बाहिरियो ।

२०१९ मा नेपाल युएईसँग एक रनले हारेको थियो । त्यो एक रनको कारण नेपालले २०२० मात्रै होइन, २०२२ को पनि यू-१९ विश्वकप पनि खेल्न पाएन । कोरोना महामारीको कारण छनोट २०२१ हुन नसकेपछि पछिल्ला पाँच प्रतियोगिताको उपाधि गणना गर्दा त्यही एक रनको जितका कारण युएईले सोझै विश्वकप खेल्न पायो ।

गत वर्ष यू-१९ विश्वकप छनोट एसिया क्षेत्र छनोटमा नेपालको मुख्य प्रशिक्षकमा जगत टमाटाले पुनः जिम्मेवारी पाए । यू-१९ विश्वकप २०२४ मा स्थान बनाउन घरेलु टोली युएईलाई हराउनुपर्ने थियो । युएईको इडेन गार्डेन ओभल आजमानमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पायो । सुरुवातमै ओपनर दीपक बोहरा शून्य, अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ रनमा आउट भएपछि नेपाल ६.१ ओभरमा १९-३ को अवस्थामा पुगेको थियो ।

देव खनाल र ५१ र उत्तम थापा मगरले ३६ रन बनाउँदै उद्दार गरे, नेपाल ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनायो ।

युएईको युवा टोलीले पनि राम्रो सुरुवात गरेको थियो । युएईका ओपनर अर्यान सक्सेना र अर्यांश शर्माले १७ ओभरमा ६७ रन बनाउँदा कुनै विकेट दिएनन् । स्पिनर सुवास भण्डारीले अर्यांशलाई ३२ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए ।

त्यसपछि नेपाल विस्तारै खेलमा फर्कियो । डि सोल्झाले अर्धशतकीय इनिङ खेलेपछि अन्त्यमा युएईलाई जित्न अन्तिम १८ बलमा ११ रन चाहिँदा हातमा ३ विकेट थियो । ४८औं ओभरमा दीपेश कँडेलले सुरुवाती तीन बलमा ३ रन दिए ।

त्यसपछि १५ बलमा ८ रन चाहिएको थियो । उनले युएईका हषिर्त सेथलाई बोल्ड, हरित हर्षित सेठ्ठीलाई क्याच र मोनिश गजेशलाई आउट गर्दै हृयाटि्रक गरेपछि नेपाल ७ रनले विजयी हुँदै ८ वर्षपछि यू-१९ विश्वकपमा पुग्यो । त्यो नेपाली यू-१९ क्रिकेट इतिहासकै उत्कृष्ट क्षणमध्ये एक थियो ।

शुक्रबार अफगानिस्तानलाई यू-१९ विश्वकपमा १ विकेटले हराउँदै नेपालले सुपर सिक्समा यात्रा पक्का गर्यो । जितको लागि १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको हातमा १ विकेट हुँदा अफगानिस्तानले आक्रामक फिल्डिङ लगाएको थियो । पहिलो बल नै अरब गुलले वाइड फ्याले । त्यसपछि लगातार तीन बल डट गराएका थिए । चौथो बलमा सुवास भण्डारीले कट खेल्दै चार रनका साथ रोमाञ्चक जित दिलाए ।

नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । ‘हामी त्यसको लागि पनि तयार छौं, किनकि यो एउटा मौका हो,’ नेपाली टोलीका प्रशिक्षक टमाटाले भने

‘हामी जसरी विश्वकपमा छनोट भएका थियौं, त्योभन्दा पनि ठूलो मोमेन्ट्स -क्षण) मैले यो देखे,’ अफगानिस्तानसँगको विजयी क्षण सम्झदै टमाटाले भने, ‘यस्तो क्षण धेरै कम मात्र आउँछ । किनकी एक रन र १ विकेट बाँकी छ, त्यो कन्डिनमा खेल जे पनि हुन्छ । यो जितको सबै श्रेय खेलाडीहरुलाई जान्छ ।’

जितको लागि १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३६ ओभरमा १२७-६ को अवस्थामा थियो ।

अफगानिस्तानका स्पिनर घजान्फरले ३७ औं ओभरको तेस्रो बलमा देव खनाललाई ५८ रनमा आउट गरे । ‘देव हुँदासम्म दुई/तीन विकेटले जितौंला भन्ने थियो । देव आउट भएपछि भित्रदेखि अब चाहिँ गाह्रो भन्ने आएको थियो किनकी उनीहरुको बलिङ आक्रामण राम्रो थियो, प्रशिक्षक टमाटा भन्छन्, ‘दीपक बोहरा पनि आउट भएपछि अब १०-१२ रन पनि गाह्रो होला भन्ने भयो ।’

४२औं ओभरमा दीपक बोहरा २७ रनमा क्याच आउट भए । आकाश चन्द ४४औं ओभरको अन्तिम बलमा आउट भए । नेपाल ४४ ओभरमा १४४-९ को अवस्थामा थियो । जितको लागि दुई रन चाहिँदा हातमा १ विकेट थियो ।

तिलकराज भण्डारी फिल्डिङ गर्नेक्रममा दायाँ हातको हत्केला पछाडि चोट लागेर टाँका लगाएको हुँदा डाक्टरले नखेल्न भनेका थिए । ‘त्यसैले मलाई खेल हार्ने हो कि भनेर डर लाग्यो’ टमाटाले त्यो अन्तिम क्षण सम्झदै भने, ‘तिलकले निकै साहस देखाए ।’

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले ११.३ ओभरमा ४३-६ को अवस्थामा पुर्‍याएको थियो । आकाश चन्दले पाँच र गुलशन झाले एक विकेट लिएका थिए ।

नेपालले दुर्गेश गुप्तालाई पनि खेलाउन चाहेको थियो । दुर्भाग्य, अभ्यासमा जाँदा दुर्गेशको खुट्टाको एङ्कलमा चोट लाग्यो । त्यसैले स्पिनर तिलकराज भण्डारीलाई प्लेइङ ११ मा ल्याइएको थियो, उनले आफ्नो उपस्थितिलाई साबित गरे ।

मुख्य प्रशिक्षक टमाटाका अनुसार १४६ रनको लक्ष्य ठूलो होइन, तर त्यो पिच र अफगानिस्तानको बलिङ आक्रामणसामु सहज भने थिएन ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित ५८ रनको कप्तानी इनिङ खेले । अफगानिस्तानविरुद्ध उक्त प्रदर्शन शतकभन्दा कम थिएन ।

दीपक बोहराले ४२ बलमा ४ चौकासहित २७ रनको योगदान दिए ।

सुवास भण्डारीले २९ बलमा १ चौकासहित ९ रनको विजयी इनिङ खेलेका थिए । सुवासले न्युजिल्यान्डविरुद्ध ३३ रनमा नट आउट रहँदा ३ विकेट लिएका थिए । पाकिस्तानसँग २० रन जोडेका थिए । सुवासको प्रदर्शनको टमाटा खुलेर प्रशंसा गर्छन् ।

नेपालका शीर्षक्रमका ब्याटर अर्जुन कुमाल १०, विपिन रावल २ र गुलशन झा १ रनमा आउट भएका थिए । ‘नेपालको जितमा समग्रमा सबै खेलाडीको योगदान छ । २०-३० रन हानेर सबैले खेललाई लगेर गए,’ मुख्य प्रशिक्षक टमाटा भन्छन्, ‘हाम्रो शीर्षक्रम चल्न सकेको छैन । त्यो हाम्रो कन्डिसनले गर्दा हो ।’

सुपर सिक्समा अब नेपालले भारत र बंगलादेशसँग खेल्ने छ ।

नेपालले समूह चरण डी का खेल बफेलो पार्कमा खेलेको थियो । सुपर सिक्सका दुई खेल मङ्गाउङ ओभलमा हुनेछ । अहिले खेलेको स्थानबाट बसमा ६ घण्टाको यात्रा गरेपछि त्यहाँ पुगिन्छ । आइतबार नेपाली टोली त्यसतर्फ लागेको छ ।

नेपालले बुधबार बंगलादेश र शुक्रबार भारतसँग खेल्नेछ । ‘हामी त्यसको लागि पनि तयार छौं, किनकि यो एउटा मौका हो,’ नेपाली टोलीका प्रशिक्षक टमाटाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?