+
+

दबाबमा रमाउने सिनर बने अस्ट्रेलियन ओपन टेनिसको च्याम्पियन

एजेन्सी एजेन्सी
२०८० माघ १५ गते १०:३५

१५ माघ, मेलबर्न । केही खेलाडी दबाबमा बढी राम्रो खेल्ने गर्छन् । यानिक सिनिर त्यस्तै रहे । उनले दुई सेटले पछाडि रहेको स्थिति उल्टाउँदै आइतबार ड्यानिल मेडभेडेभलाई पाँच सेटको फाइनलमा पराजित गर्दै अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।

उनले ग्रान्ड स्लामको उपाधि जितेको यो पहिलोपल्ट हो । सुरुमा दुई सेटमा रुसी खेलाडीको आक्रामक प्रस्तुति अगाडि इटालीका चौथो वरियता प्राप्त सिनरको केही चलेन । लागिरहेको थियो, मेडभेडेभले सजिलै फाइनल जित्ने छन् । तर त्यसपछि उनी खेलमा फर्किए र तीन घण्टा ४४ मिनेट चलेको फाइनल ३-६, ३-६, ६-४, ६-४, ६-३ ले जिते ।

रड लेभर एरेनामा भएको फाइनल जितेपछि सबैभन्दा पहिले २२ वर्षीय सिनर भुईंमा ढले, त्यसपछि आफ्नो बक्समा चढेर प्रशिक्षक सिमोन भानोजी र डरेन चाहिललाई अंगालो मारे । उनले १४ एसे प्रहार गरे भने ५० विनर्स आत्मसात् गरे । यसक्रममा उनले मेडभेडेभको चारपल्ट सर्भिस तोडे । उनी अस्ट्रेलियन ओपन च्याम्पियन हुने पहिलो इटालीका खेलाडी पनि बने ।

यस्तै उनी सन् १९७६ पछि ग्रान्ड स्लाम जित्ने पहिलो इटालीका खेलाडी पनि भए । सन् १९७६ मा एड्रिनो पानाटाले अन्तिम पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बनेका थिए । सन् २००८ मा नोभाक जोकोभिचपछि उनी अस्ट्रेलियन ओपन जित्ने कान्छो खेलाडी पनि बने ।

सिनरले सेमिफाइनलमा कीर्तिमान १० पल्टका विजेता जोकोभिचलाई हराएका थिए । यसक्रममा प्रतियोगिताले नयाँ विजेता पाउने निश्चित भएको थियो ।

अभाग्यशाली मेडभेडेभ

पराजित तेस्रो वरियताका मेडभेडेभका लागि यो एक अर्को स्तब्धपूर्ण नतिजा रह्यो । सन् २०२२ को फाइनलमा पनि उनले दुई सेटको अग्रता लिएर पनि राफेल नाडालविरुद्धको खेल गुमाएका थिए ।

पूर्व यूएस ओपन रहेका २७ वर्षीय मेडभेडेभले यससँगै ग्रान्ड स्लामका पाँच फाइनल गुमाइसकेका छन् । उनी ग्रान्ड स्लामको फाइनल त पुग्छन्, तर जित्न सक्दैनन् । उनले जितेको भने त्यही सन् २०२१ को यूएस ओपन मात्रै रहेको छ ।

यसपल्टको खेलमा पनि सिनर जितका लागि पूर्ण हकदार रहेको स्विकारे । उनले भने, ‘खेलको अन्त्यसम्म उनले आफ्नो संघर्ष जारी राखे र आफ्नो मानसिक स्थितिलाई बलियो राखे । ‘मलाई विश्वास छ, म फेरि एकपल्ट ग्रान्ड स्लामको फाइनल पुग्ने छु । जितका लागि आफूले सक्दो प्रयास गर्ने छु र भाग्यमानी पनि हुनेछु,’ उनले भने । यहाँनिर उनले ‘भाग्यमानी’ शब्द प्रयोग गरेका छन् । खासमा उनी ग्रान्ड स्लामा साँच्चै अभाग्यशाली सावित भइरहेका छन् ।

यता सिनर भने स्वाभाविक रूपमा अपार खुसीमा रहे । ‘म अहिले निकै खुसी छु र आनन्द महसुस गरिरहेको छु । आजको फाइनल गज्जब रह्यो । यो मेरो लागि ठूलो अवसर पनि रह्यो । र, यो मेरो लागि ठीक मोड पनि रहृयो,’ सिनरले भने, ‘आजको जित मेरो जीवनकै सबैभन्दा अविश्मरणीय क्षण रहेको छ । म भर्खर २२ वर्षको भएँ, तर अहिलेसम्म मैले तय गरेको यात्रा सजिलो भने थिएन । मलाई लाग्छ, म दबाबमा बढी राम्रो खेल्ने गर्छु ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?