+
+

त्रिभुवन विमानस्थल आन्तरिक उडानमा छुट्टै ‘अराइभल टर्मिनल’, कस्तो बन्यो ? (भिडियोसहित)

छुट्टै ‘अराइभल टर्मिनल’ भवन सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानतर्फ यात्रुले सहज र सकारात्मक महसुस गर्न थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १८:२०

१५ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा आगमन (अराइभल) र प्रस्थान (डिपार्चर) एउटै भवनमा हुँदाको अस्तव्यस्तता हटेको छ ।

विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणले आगमनतर्फ छुट्टै टर्मिनल भवन बनाएर सञ्चालनमा ल्याएको छ ।

यसअघि प्रस्थान टर्मिनलकै एक कोठालाई आगमन कक्ष बनाएर एउटा ‘कन्भेयर बेल्ट’ बाट यात्रुका ब्यागेज लिने व्यवस्था गरिएको थियो ।

अब भने यसका लागि छुट्टै भवन बनाएर व्यवस्थापन सुरु गरिएको विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिए ।

‘अब आगमनका यात्रु र प्रस्थान कक्षका यात्रु ठोक्किनुपर्दैन, यसले यात्रु र व्यवस्थापन दुवैलाई सहज बनाएको छ’, उनले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १० माघमा नयाँ टर्मिनल भवन उद्घाटन गरेका थिए ।

यसअघि पुरानो भवनमा रहेको आगमन कक्षतर्फको कोठालाई भीआईपी रुम बनाएर त्यस्ता यात्रुको व्यवस्थापनमा प्रयोग गर्ने योजना रहेको उनले जानकारी दिए ।

६ करोड लागत

त्रिभुवन विमानस्थलका प्रवक्ता झाका अनुसार यो भवनको कुल लागत ६ करोड रुपैयाँ हो । जसले एकसाथ ४०० यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ । अहिले एउटा कन्भेयर बेल्ट जडान गरिएको र दोस्रो बेल्ट निकट भविष्यमा जडान गरिनेछ ।

अब यसै भवनभित्र रेस्टुरेन्टको समेत व्यवस्था गरिनेछ । यात्रुलाई वातावरण अनुकूलित बस्ने व्यवस्थाका लागि कुर्सी राखिएको छ । भवनभित्रै सार्वजनिक शौचालयको समेत व्यवस्था छ ।

यात्रु लिन जाने सवारी पार्किङमा छिर्नु नपर्ने

यसअघि आगमन र प्रस्थानका यात्रु बोकेर जाने सबै सवारी साधनका लागि एउटै मार्ग थयो । अब भने प्रस्थानका यात्रु सवारीसाधन लिएर सीधै प्रस्थान टर्मिनल भवन अगाडिसम्म जान सक्नेछन् ।

आगमनबाट आउने यात्रुलाई पिकअप गर्न जाने सवारी साधन पार्किङ स्थलमा नछिरी टर्मिनल गेटबाटै सीधै यात्रु लिएर फर्किन सक्नेछन् । यसका लागि छुट्टै मार्ग बनाइएको छ ।

भवन अगाडि निःशुल्क सटल बस समेत उपलब्ध छ । यो बसले यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी गेट (चक्रपथ) मा ल्याएर छाडिदिन्छ । यहाँबाट यात्रुले सार्वजनिक बस समातेर गन्तव्य जान सक्छन् ।

गाडी पार्किङ क्षेत्रमा राख्ने हो भने चाहिं पार्किङ शुल्क तिर्नुपर्छ । पैदल विमानस्थलसम्म पुगेर आफन्त कुर्ने यात्रुले समेत अब टर्मिनलभित्र बसेर यात्रु कुर्न सक्ने गरी पर्याप्त स्थानको व्यवस्था गरिएको छ । यसअघि पुरानो आगमन कक्षमा यात्रु कुर्न खुला ठाउँमा उभिनुपर्ने बाध्यता थियो ।

टर्मिनल गेटमा ट्राफिक व्यवस्थापन चुनौती

नयाँ टर्मिनल भवनकै अगाडि रोकिएका ट्याक्सी, निजी सवारी र यात्रुको ठूलो संख्या एकसाथ बाहिर निस्किंदा ट्राफिक व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ ।

विमानस्थलभित्र चल्ने गरी दर्ता भएका हरियो नम्बर प्लेटका ट्याक्सीलाई टर्मिनलको गेटमै यात्रु कुर्न सक्ने गरी सुविधा दिइएको छ । यसले टर्मिनल गेट अगाडिको व्यवस्थापन भने भद्रगोल देखिन्छ ।

विमानस्थलबाट चर्को मूल्य लिन पाइने भएपछि ट्याक्सीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । यसको नियन्त्रणमा भने व्यवस्थापन उदासीन देखिन्छ ।       

भिडियो/तस्वीर : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?