+
+

मुख्यमन्त्रीको गाउँमा विद्यालय भत्काएर मन्दिर निर्माण

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको गाउँमा विद्यालय भवन भत्काएर एउटा मन्दिर निर्माण गरिएको छ । विद्यालयमा भने भवन अभावमा विद्यार्थीलाई चउरमा राखेर पढाइएको छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० माघ १७ गते १३:४५

१७ माघ, जनकपुरधाम । बाराको सिम्रौनगढ दरबारको मूल ढोकाको दायाँ छेउमा छ, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सोमबार दिउँसो ३ बजे पुग्दा विद्यालय भवन बाहिरको खुला चौरमा नै पठनपाठन भइरहेको थियो । सिम्रौनगढ दरबारको मूल ढोकामा हामीलाई देखेर शिक्षक र विद्यार्थीको ध्यान बिथोलियो ।

‘पर्खाल छैन, चारैतिर खुल्ला छ । दरबार हेर्न कोही मान्छे आयो भने हाम्रो ध्यान उतै जान्छ । पढाइ डिस्टर्ब हुन्छ’, प्रधानाध्यापक तुलसी चौरसियाले भने । सिम्रौनगढ नगरपालिका-२ सलेमपुरस्थित यो विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म गरी करिब ५० जना विद्यार्थी देखिए ।

चउरमा बाल विकास, कक्षा १ र २ का विद्यार्थीलाई एकै ठाउँमा राखेर बालविकासकी शिक्षिका आशा कुमारीले पढाउँदै थिइन् । छेउमै कक्षा ३ का विद्यार्थीलाई प्रअ चौरसिया पढाइरहेका थिए । कक्षा ४ र ५ का विद्यार्थीलाई भने कक्षा कोठाभित्र शिक्षिका सुनिता कुमारीले पढाउँदै थिइन् ।

प्रधानाध्यापक चौरसियाले दुई दिनअघि मात्र जाडो बिदा सकिएकाले विद्यार्थी कम भएको बताए । ‘छेउछाउका कतिपय विद्यालय खुलेका छैनन् । हाम्रो दुईदिन अघि मात्र विद्यालय खुल्यो । विस्तारै विद्यार्थीको संख्या बढ्छ’, उनले भने ।

विद्यालयमा पुगनपुग ४०० विद्यार्थी रहेको तर २५० जना नियमित आउने गरेका प्रधानाध्यापक चौरसियाको भनाइ छ ।

विद्यालयमा एउटा जस्तापाताले छाएको र एउटा ढलान गरेको गरी दुईवटा भवन छ । दुवै भवनमा २/२ वटा कोठा छन् । कक्षाकोठा प्लास्टर गरिएको छैन भने झ्याल पनि राखिएको छैन ।

भएका कक्षाकोठामा पनि डेस्क बेन्च पुराना छन् । तीन शिक्षक र एक बालविकास सहजकर्ता मात्र भएकाले सबै कक्षाका विद्यार्थीलाई एकै पटक कक्षा लिन नसकिने प्रधानाध्यापक चौरसिया बताउँछन् ।

‘६ जना शिक्षकको आवश्यकता छ । तर, ३ जना मात्र शिक्षक शिक्षिका छौं । एकजना आउनुभएको छैन’, प्रअ चौरसियाले सुनाए ‘एकजना आएन भने यसरी नै कक्षाकोठा मिक्स गरेर पढाउनुपर्छ ।’ कार्यालय सहयोगी ललिता मुखियाले पनि कक्षा लिने गरेकी छन् । तैपनि शिक्षक अभाव हुने उनले बताए ।

विद्यालयमा कक्षाकोठा र शिक्षकको अभाव छ । तर, विद्यालय भवनको साटो छेउमै एउटा मन्दिर निर्माणाधीन छ । अझ रोचक के भने निर्माणाधीन दुर्गा मन्दिर विद्यालयकै भवन भत्काएर त्यही ठाउँमा बनाइएको हो ।

विद्यालय भवन भत्काएर निर्माणाधीन मन्दिर ।

यो मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको गाउँ हो । मुख्यमन्त्रीको घर र विद्यालयबीचको दूरी करिब २०० मिटर छ ।

मुख्यमन्त्री यादवकै निर्देशनमा विद्यालयको भवन भत्काएर मन्दिर निर्माण गरिएको स्थानीय बताउँछन् । ‘स्कुलको घर पुरानो भइसकेको थियो । मुख्यमन्त्रीको निर्देशन थियो, त्यसलाई भत्काएर दुर्गा मन्दिर बनाउनु पर्‍यो भनेर । जसमा सबै गाउँले सहमत भए’ मुख्यमन्त्रीका छिमेकी भैरवलाल प्रसाद यादव भन्छन् ‘आवश्यकता त विद्यालय र मन्दिर दुवैको छ ।’

उनका अनुसार विद्यालयको पुरानो भवन भत्काएर नयाँ बनाउने सल्लाह भएको थियो । सिम्रौनगढ दरबार रहेको रानीवास मठको करिब ५ कठ्ठा जग्गामा २०४६ सालमा स्थानीय बासिन्दाले विद्यालय स्थापना गरेका थिए ।

मन्दिर बनाउने बेलामा विद्यालयको नयाँ भवन बनाउने सहमति भएको तर अघि नबढेको प्रधानाध्यापक चौरसियाले बताए । ‘भत्काउने बेलामा नयाँ भवन बनाउने कुरा थियो । तर अहिलेसम्म बनेन’, उनी भछिन् ।

विपन्न समुदायका बालबालिकाले पढ्ने यो विद्यालयमा भवन र शिक्षक नपुग रहेको पटक–पटक गुनासो गरे पनि जनप्रतिनिधिले वास्ता गरेका छैनन् । प्रधानाध्यापक चौरसिया र मुख्यमन्त्री यादव एउटै कक्षा पढेका साथी हुन् । तर मुख्यमन्त्रीले गाउँको विद्यालयको वास्ता नगरेको चौरसिया बताउँछन् ।

विद्यालयका जीर्ण भवन र चउरमा विद्यार्थी ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले विद्यालय साँघुरो ठाउँमा रहेको र भवन पनि जीर्ण भएकाले भत्काएर मन्दिर बनाएको स्वीकार गरे । विद्यालय भने अन्यत्र बनाउने योजना रहेकाेमा जग्गा विवादका कारण मधेश सरकारबाट आएको २५ लाख  रुपैयाँ बजेट फ्रिज भएको उनको तर्क छ ।

‘विद्यालयको भवन जीर्ण थियो । त्यसलाई गत वर्ष भत्काएर मन्दिर बनाउने काम भयो । विद्यालय रानीवास मठकै एक किलोमिटर पर रहेको जग्गामा बनाउने तयारी थियो । तर मठको जग्गा ठेक्का लिएका व्यक्तिले नमानेपछि भवन बनेन’, उनले भने । उनले विवाद समाधान गरेर विद्यालयको भवन बनाउने प्रयास भइरहेको बताए ।

यस विद्यालयसहित नगरपालिकाभरका शिक्षकले गत साउनदेखि तलब पनि पाएका छैनन् । जसपाबाट निर्वाचित मेयर र कांग्रेसबाट निर्वाचित उपमेयर तथा वडाध्यक्षहरुबीच विवाद चलिरहेकाले नगरपालिकामा विवाद छ ।

डेढ महिनाअघि प्रमुख प्रशासकीय अधिकृत हाजिर गराउने विषयमा विवाद हुँदा एक जनाको मृत्यु भएको थियो । मेयर साहले कोष तथा लेखा नियन्त्रण कार्यालयले लेखापाल नदिएका कारण नगरपालिकाले शिक्षक तथा कर्मचारीलाई तलब दिन नसकेको बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?