+
+

बुद्धि तामाङको नाटक ‘मासिन्या’ हेर्न शनिबारसम्मै टिकट बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १७:२३

काठमाडौं । पछिल्लो समय नाटकप्रति दर्शकीय अभिरुचि लोभलाग्दो देखिएको छ । मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘मासिन्या’को क्रेजले यो दर्शाउँछ ।

निर्देशक तथा परिकल्पनाकार बुद्धि तामाङले प्रदर्शनको एक साता पुगिसक्दा पनि दर्शकीय क्रेज उल्लेखनीय रहेको बताए । माघ ११ गतेदेखि मञ्चन सुरु भएको यो नाटक २८ गतेसम्म निरन्तर मञ्चन हुने जनाइएको छ ।

शनिबारसम्मै दर्शकले अग्रिम टिकट बुकिङ गरेको उनको भनाइ छ । ‘शनिबार बेलुकासम्मै सोल्डआउटको स्थिति छ,’ उनले भने, ‘नाटकप्रतिको यो क्रेजले हामीलाई उत्साहित तुल्याएको छ । अनलाइन सिस्टमले अझै सजिलो बनाएको छ ।’

अघिपछि फिल्मको छायांकनमा भ्याइनभ्याइ हुने बुद्धि पछिल्लो समय ‘मासिन्या’को लागि मण्डला थिएटरतिरै व्यस्त छन् । ‘प्रतिक्रिया पनि सकारात्मक छ । कथा तामाङको भएपनि व्यथा सबैको एउटै हो । सबै दर्शकलाई मिल्ने खालको कथा छ,’ उनले भने, ‘अहिलेको समाजसँग निकै सान्दर्भिक छ ।’

नाटकलाई लक्ष्मी रुम्बा, राजु स्याङ्तान र राबतले लेखेका हुन् । ‘मान्छेलाई आफ्नो कथा भन्नका लागि ठूलो हिम्मत चाहिने रहेछ,’ लेखक रुम्बाले भनिन्, ‘हामीभित्र मासिन्या कानुन लामो समयदेखि खिलजस्तै गढेर बसेको छ । हामीले तामाङ समुदायको दृष्टिकोणबाट सीमान्तकृत र बहिष्कृत समाजको कथा भनेका छौं ।’

‘हामीले विदेशीभन्दा हाम्रै मौलिक र माटोको स्वादको कथा भन्न जरुरी थियो,’ लेखक स्याङ्तानले भने, ‘यो सुन्दर तामाङ बस्ती रित्तिएको कथा हो ।’ तामाङ घेदुङका अध्यक्ष गोले तामाङले यो नाटकले सामाजिक दबाब बढाउन योगदान दिने बताए ।

नाटकमा सोनम लामा, रोहनी लामा, रुपेश तामाङ, रमिता मोक्तान, विष्णु मोक्तान लगायतको अभिनय छ । ६० प्रतिशत तामाङ कलाकारको अभिनय रहेको जनाइएको छ ।

कामको कुरा गर्दा बुद्धिले अभिनय गरेका दुई फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ माघ २६ गते एकैदिनमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?