+
+

लगानीकर्ताको रोजाइ नबिल कि एनआईसी एसिया ?

तरलताको सहज स्थिति, घट्दो ब्याजदर जस्ता सैद्धान्तिक पक्षले पनि सेयर बजारका लागि अनुकूल साथ दिएको छ । यतिबेला सेयर बजारमा ५ सयभन्दा मुनि र ४ सयभन्दा माथि मूल्य भएका दुइटा मात्रै वाणिज्य बैंक छन् । ती हुन्– नबिल र एनआईसी एसिया ।

कमल नेपाल कमल नेपाल
२०८० माघ १९ गते १०:०८

१९ माघ, काठमाडौं । सबै वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेकाले यतिबेला लगानीकर्ताले ती विवरण केलाएर लगानी गर्न उपयुक्त योजना बनाउन सक्छन् ।

तरलताको सहज स्थिति, घट्दो ब्याजदर जस्ता सैद्धान्तिक पक्षले पनि सेयर बजारका लागि अनुकूल साथ दिएको छ । यतिबेला सेयर बजारमा ५ सयभन्दा मुनि र ४ सयभन्दा माथि मूल्य भएका दुइटा मात्रै वाणिज्य बैंक छन् । ती हुन्– नबिल र एनआईसी एसिया ।

बिहीबार बजार बन्द हुँदा नबिलको सेयर मूल्य प्रतिकित्ता ४८० रुपैयाँ ६० पैसा तथा एनआईसीको ४६६ रुपैयाँ छ । कहिले नबिलको मूल्य माथि त कहिले एनआईसीको माथि हुने गरेको छ । कम्पनीको वित्तीय स्थितिले नै बजार मूल्य डोर्‍याउने हो ।

वित्तीय स्थितिमा बलियो कुन ?
चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा नबिलको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष सोही अवधिको दाँजोमा ५.२ प्रतिशत बढेर ८ अर्ब २४ करोड पुगेको छ । सोही अवधिमा एनआईसीको खुद ब्याज आम्दानी भने १० प्रतिशत घटेर ५ अर्ब ५४ करोड भएको छ ।

दुवै बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नबिलको खुद नाफा ३ अर्ब २० करोड बराबर छ । बैंकको खुद नाफा गत वर्ष यसै अवधिको तुलनामा ६.२ प्रतिशत घटेको हो । एनआईसीको नाफा भने ४१ प्रतिशत घटेर चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा १ अर्ब ९० करोडबराबर छ ।

लगानीकर्तालाई वितरण गर्न मिल्ने (वितरणयोग्य) नाफा दोस्रो त्रैमाससम्म नबिलको १ अर्ब ८ करोड छ भने एनआईसीको ५९ करोड २२ लाख ऋणात्मक छ । यसको अर्थ नाफा राम्रै देखिए पनि प्राप्त भइसक्नुपर्ने नाफाको अंश पनि बैंकहरूले उठाउन सकिरहेका छैनन् । चौथो त्रैमाससम्म पनि वितरणयोग्य नाफा ऋणात्मक रहे लगानीकर्ताले लाभांश पाउँदैनन् ।

बैंकहरूलाई अहिले सबैभन्दा ठूलो चुनौती भनेकै ऋणीबाट ब्याजसहित परिपक्व भइसकेको ब्याज र साँवा रकम उठाउनु हो । परिपक्व भइसकेको ब्याज र साँवा रकम नउठ्दा नै बैंकहरूको वितरणयोग्य नाफा न्यून वा ऋणात्मक भएको हो । यसले बैंकहरुको ‘लोन लस प्रोभिजन’ का साथै निष्क्रिय कर्जासमेत वृद्धि भएको छ ।

दोस्रो त्रैमासमा नबिलले लोन लस प्रोभिजन वापत १ अर्ब ९७ करोड रुपैयाँ छुट्ट्याएको छ भने एनआईसीले जम्मा ४८ करोड छुट्ट्याएको छ । नबिलको खुद निष्क्रिय कर्जा १.२० प्रतिशत छ भने एनआईसीको १.१९ प्रतिशत छ । गत वर्ष यसै अवधिमा नबिलको १.४६ र एनआईसीको ०. ६१ प्रतिशत थियो । नबिलको निष्क्रिय कर्जामा केही सुधार देखिए पनि एनआईसीको निष्क्रिय कर्जा धेरै बढेको देखिन्छ ।

वार्षिक प्रतिसेयर आम्दानीका आधारमा नबिलभन्दा एनआईसी अगाडि छ । नबिलको २३ रुपैयाँ ७४ पैसा र एनआईसीको २५ रुपैयाँ ५९ पैसा छ । एनआईसीको सेयर संख्या नबिलको तुलनामा न्यून भएकाले नाफा नबिलको बढी हुँदा पनि प्रतिसेयर आम्दानी एनआईसीको धेरै भएको हो । नबिलको प्रतिसेयर नेटवर्थ २ सय ४ रुपैयाँ ४४ पैसा छ भने एनआईसीको २ सय ५ रुपैयाँ १० पैसा छ ।

बिजनेस वृद्धि
बैंकहरूको कर्जा प्रवाह नै मुख्य व्यापार हो । पुस मसान्तसम्म नबिलले कुल ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यसै अवधिको तुलनामा नबिलको कर्जा प्रवाह १४.७ प्रतिशतले बढेको छ भने एनआईसीको १३.५ प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्म एनआईसीले ३ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । पछिल्ला त्रैमासमा यी दुवै बैंक व्यापार विस्तारमा अन्यभन्दा माथि देखिएका छन् । नबिलको कर्जा वृद्धिदर क्रमिक बढ्दै गएको देखिएको छ भने एनआईसीको उतारचढाव हुँदै बढ्दै गएको देखिएको छ ।

विगत १० वर्षको लाभांश इतिहास
बैंकहरूले दिएको लाभांश दर केही वर्षदेखि नै घट्दै गएको छ । न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुर्‍याएपछि नै बैंकहरूको लाभांश क्षमता कमजोर बन्दै गएको देखिन्छ ।

बैंकहरूको मुख्य व्यापार नै निक्षेप संकलन गरी कर्जा प्रवाह गर्ने हो । चुक्ता पूँजी दोब्बर गर्दैमा बैंकहरूको व्यापार दोब्बर हुने होइन, व्यापार र आम्दानी दोब्बर हुन कर्जा प्रवाह नै दोब्बर हुनुपर्छ ।

त्यसबाहेक नाफाको मार्जिन (स्प्रेड दर) घटाइनु, कोष लागत बढ्नुजस्ता कारण बैंकहरूको लाभांश क्षमता घट्दै गएको छ । नबिल र एनआईसी पनि यसबाट अछुतो छैनन्।एनआईसीले विगत दुई वर्ष लाभांश नदिएकाले यस वर्ष लाभांश केही राम्रो (२९ प्रतिशत बोनस) देखिए पनि आगामी वर्ष उक्त दरमा लाभांश दिन सक्ने क्षमता राख्दैन ।

२०७१ सालमा ६५ प्रतिशत लाभांश दिएको नबिलले पनि गत वर्ष ११ प्रतिशत मात्रै दिन सक्यो । आगामी वर्ष दुवै बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सके त्यो ठूलो उपलब्धि हुनेछ ।

सेयर बजारमा नबिल र एनआईसी एसिया :
यतिबेला धेरैजसो बैंकको सेयर मूल्य एक वर्ष (५२ साता) कै न्यूनतम नजिक छ । विगत ५२ साता हेर्दा नबिलको उच्चतम सेयर मूल्य प्रतिकित्ता ७ सय ५ रुपैयाँ ७० पैसासम्म पुगेको छ भने न्यूनतम बिहीबारकै मूल्य ४ सय ८० रुपैयाँ हो । अर्थात्, नबिलको सेयर मूल्य ५२ साताकै न्यूनतममा झरेको छ ।

एनआईसीको अवस्था पनि त्यस्तै छ । विगत ५२ सातामा एनआईसीको मूल्य अधिकतम ८ सय ५२ रुपैयाँसम्म पुगेको छ भने न्यूनतम ४ सय ६३ सम्म झरेको छ । बिहीबार बजार बन्द हुँदा भने मूल्य प्रतिकित्ता ४ सय ६६ रुपैयाँ छ ।

नबिलको तुलनामा एनआईसीको मूल्य उतारचढाव बढी हुने गरेको छ । मूल्यलाई केही हदसम्म सेयर संख्याले पनि असर पार्ने गर्छ । सामान्यतया सेयर संख्या बढी हुँदा आपूर्ति बलियो हुन जाने लगानीकर्ताको बुझाइ छ । नबिलले तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंक मर्ज गरेका कारण उसको जारी सेयर संख्या एनआईसीको तुलनामा बढी छ ।

कुल २७ करोड ५ लाख कित्ता नबिलको सेयर सूचीकृत छ जसमा ४० प्रतिशत अर्थात् १० करोड ८२ लाख कित्ता सर्वसाधारणमा जारी छ । त्यस्तै एनआईसीको कुल १४ करोड ९१ लाख कित्ता सेयर सूचीकृत रहेकोमा ४९ प्रतिशत अर्थात् ७ करोड ३० लाख कित्ता सेयर सर्वसाधारणको छ ।

विगत एक वर्षमा दुई बैंकको मूल्य ट्रेन्डलाइन

 

 

 

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?