+
+

अध्यागमन अधिकृतले झुट बोलेको पोलिग्राफले देखायो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:१३

१९ माघ, काठमाडौं । भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको पोलिग्राफ जाँचका क्रममा उनले झुट बोलेको देखिएको हो ।

जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्दा प्रहरीले समावेश गरेको पोलिग्राफको प्रतिवेदनमा ‘डिसेप्सन इन्डिकेटेड’ लेखिएको छ । जाँच गरिएका व्यक्तिले झुटाे बोलेको अवस्थामा यस्तो रिपोर्ट आउने अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले नरवीरलाई १८ मंसिरमा सिनामंगलस्थित होटल वाल्टिक इनबाट पक्राउ गरेको थियो । त्यसबेला उनको साथबाट प्रहरीले २ लाख रुपैयाँ र विदेश जाने ६६ युवाको सूची पनि बरामद गरेको थियो ।

बयानका क्रममा आफूले सेटिङ गर्ने गरेको स्वीकारे पनि उनले २ लाख रुपैयाँ सापटी लिएको दाबी गरेका थिए । अनुसन्धानका क्रममा भने उनले कन्सल्टेन्सीका सञ्चालकहरुले दिने सूची अनुसारका व्यक्तिहरुलाई विदेश पठाउन सहयोग गरेवापत पैसा लिएको भेटिएको थियो ।

सत्तारुढ नेकपा माओवादी निकट ट्रेड युनियनमा समेत रहेका खड्का पक्राउ परेपछि अध्यागमनमा अधिकृतहरुको भागाभाग चलेको अधिकृतहरु बताउँछन् । अनुसन्धान भइरहँदा काज सरुवा मिलाएर अर्का अधिकृत नरबहादुर कुँवर उम्किए । पछि बुबाको निधन भएर अन्तिम संस्कारमा सहभागी भएका उनलाई प्रहरीले फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाएको थियो ।

पछि नरवीरको बयानका आधारमा प्रहरीले थप ७ जना अध्यागमन अधिकृतलाई प्रतिवादी बनाएको थियो ।

प्रहरी स्रोतका अनुसार, खड्काले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई दिएको प्रारम्भिक बयानमा भिजिट भिसाका लागि विमानस्थलमा रहेको सहजीकरण समितिलाई ‘घुस समिति’ भनेका थिए । र, त्यसमा रहेका सबैसमक्ष भिजिट भिसामा विदेश पठाउने गिरोहको पैसा पुग्ने बताएका थिए ।

कार्यालयले उनको प्रारम्भिक बयानको भिडियो रेकर्ड समेत गरेको थियो । तर, सरकारी वकिलको रोहबरमा जिल्ला प्रहरी परिसर, काठमाडौंसमक्ष दिएको बयानमा उनले बोली फेरेको अधिकृतहरु बताउँछन् ।

नरवीरको नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि सम्बन्ध देखिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा उनले ५० हजार रुपैयाँ लिएर पीडितलाई दुबई पठाएको खुलेको थियो । त्यो रकम उनले आफ्नो बहिनी भावनाको नेपाल बैंकमा रहेको खाताबाटै लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?