+
+

मो ब्लाँ र प्रमात्रा भौतिकी

के हामीले मो ब्लाँ खोजिरहेको बेला त्यसमा ठोक्किएर आउने प्रकाशका अणुले देखिइनु सोचिरहेका थिए या नदेखिनु ? उत्तरहरू हामीले खिचेका तस्वीरहरूमा होलान् ।

जैसेरी जैसेरी
२०८० माघ २० गते १७:५१

‘जब लाइटलाई अब्जर्भ गरिन्छ त्यसले पार्टिकलको जस्तो व्यवहार गर्छ अनि जब त्यसलाई अब्जर्भ गरिन्न त्यसले वेभको जस्तो व्यवहार गर्छ ।’ प्रवीणले क्वान्टम फिजिक्स अर्थात् प्रमात्रा भौतिकी बुझाउने क्रममा प्रकाशको दोहोरो चरित्रका बारेमा बुझाउने निकै कोसिस गरिरहेका थिए ।

हामी लेम्बर्गबाट आउँदै थियौं । फुटबल खेलाडीका रूपमा चिनिएका प्रवीण बिस्तारै कवि अनि भौतिकशास्त्रका विद्यार्थीका रूपमा चिनिन थालेका थिए । केहीअघि जर्मनीमा नेपाली साहित्य पानाका लागि उनीसँग एक अन्तर्वार्ता नै पनि लिएको थिएँ ।

सोही अन्तर्वार्ता अघि ओपेनहाइमर चलचित्रको एउटा सानो टुक्रा हेर्न पुगेको थिएँ । त्यसमा ओपेनहाइमरले प्रकाशको दुई थरीको व्यवहारका बारेमा चर्चा गर्दै थिए ।

‘प्रकाश कणको जस्तो व्यवहार पनि गर्छ । अनि तरंगको पनि व्यवहार गर्छ । हुनलाई यो परस्पर विरोधी कुरा हुनुपर्ने हो । तर वास्तवमा यो दुवै सही हुन पनि सक्छ’, ओपेनहाइमर यस्तै केही भन्दैथिए ।

मैले अन्तर्वार्ताका क्रममा पनि यो कुरा उप्काएको थिएँ । क्यामेरा अघिको अर्कै तनावले अनि समय सीमाले त्यसको बारेमा विस्तारमा कुरा गर्न मिलेको थिएन । लेम्बर्गबाट फर्कन करीब डेढ घण्टा लाग्ने समयमा यी कुराकानी भइरहेको यियो । विषयको जटिलता यस्तो थियो कि हामी शान्त भएर सुनिरहन मात्रै सकेका थियौं । चढाइले थाकेका मन्जिल र सविता त सुन्दासुन्दै निदाइ पनि हालेछन् । म चाहिं सकेसम्म बुझ्ने कोसिस गर्दै थिएँ ।

*** ***

लेम्बर्ग नाम गरेको एक डाँडो त यसअघि पनि चढिसकेको थिएँ । यो फरक डाँडो थियो । स्वेबीस आल्ब भनेर चिनिने स्टुटगार्ट नजिकका टेबल आकारका पहाडहरूमध्ये सबैभन्दा अग्लो यो डाँडो उचाइका अलावा अर्को कुराका लागि पनि प्रख्यात थियो । यो जर्मनीको त्यस्तो ठाउँ थियो जहाँबाट सबैभन्दा परसम्म हेर्न सकिन्थ्यो ।

यो ठाउँ जर्मनीकै सर्वोच्च चुली चुगस्पिच्चेदेखि अष्ट्रियाका आल्पसहरू हुँदै स्विट्जरल्याण्डका आल्पस र फ्रान्सको मो ब्लाँ पनि देखिने भनेर प्रचारित थियो । हिउँ ओढेका पत्थरचुलीको नवपारखी बनेको मेरा लागि योभन्दा बढी उत्प्रेरणाको आवश्यकता परेन ।

आइतबारको दिन प्रायः हामी नेपाली क्लबमा फुटबल खेल्छौं । घाम लागेका बेला फुटबलसँगै कतै जान अलि असहज हुन्थ्यो । फुटबल पनि मनपर्ने अनि डाँडापाखा पनि हेर्नुपर्ने भएकाले कहिलेकाहीं एक कुरा छान्न निकै गाह्रो हुन्थ्यो । त्यसमाथि श्रीमतीको समेत बिदा भएका बेला उनका लागि पनि समय छुट्याउनु परिगयो । त्यसैले घाम लागेको आइतबार समय व्यवस्थापनका लागि निकै नै चुनौतीपूर्ण हुनेगर्थ्यो ।

यसपालि पनि त्यस्तै चुनौतीहरू थपिएको थियो । त्यसको समाधानका लागि मैले एउटा उपाय खोजेको थिएँः लेम्बर्गबाट आल्पसहरू अनि सूर्यास्त हेर्ने ।

मन्जिल केही समययता फुर्सदिला भएका थिए । त्यसैले उनी प्रायः यस्ता यात्रामा मसँगै हुन्थे । प्रवीणलाई पनि घुमघाममा रुचि भएकाले उनी पनि थपिएका थिए । उता दिलीप पनि रहर गरिरहेका थिए । बिहानको काम भएकाले ‘डेढ बजे जाने भए म पनि जान्छु’ भनेर प्रस्ताव गरेका थिए । घरमा विमल र प्रज्ज्वल पनि आउने भएका थिए । सविताले भेटघाट र खानपानको योजना बनाएकी थिइन् ।

घामले गर्दा लेम्बर्गको योजना थपिएको थियो । केही गरे पनि जान मिल्ला जस्तो भएको थिएन । रेलको यात्रा गरेर त जति पनि जान सकिन्थ्यो । तर रेलको कर्मचारीहरूको हड्ताल चलिरहेको हुनाले रेलयात्रा सहज थिएन । गाडीमा ५ सिट तर लैजान भएका मान्छेहरूको संख्या ७ । अनि कसरी मिल्नु ?

प्रज्ज्वल सधैं भेटिने भएकाले उनी प्राथमिकतामा परेनन् । परीक्षा र फुटबलको थकाइले पनि उनी हिंड्नका लागि उति उत्साहित थिएनन् । दिलीप पनि काममा थिए । त्यसैले चाँडै निस्कँदा उनलाई पनि सँगै लैजान पर्थेन । विमललाई चाहिं घरमा पाहुनाका रूपमै बोलाएकोले पनि लैजाने मन थियो । तर उनले जान मन गरेनन् ।

त्यति भएपछि खुबै रहर गरेका दिलीपलाई कुरेर हामी मो ब्लाँ हेर्नका लागि लेम्बर्गतिर लाग्यौं । कामबाट सोझै खाना समेत नखाएर आएका दिलीपको लगाव देखेरै पनि उनलाई लैजान पाएकोमा खुशी लागेको थियो ।

लेम्बर्गसम्मको यात्रा तुलनात्मक रूपमा छोटो थियो । करीब १ घण्टा २५ मिनेट जस्तोमा हामी पुगिन्थ्यो । स्टुटगार्ट शहर छोडेर हेरेनबेर्ग हुँदै गाडी अघि बढ्दै गर्दा डाँडाहरूको मनमोहक दृश्यले सुन्दर सूर्यास्तको बाचा गरिरहेको थियो ।

हल्का तुवाँलो जस्तो पृष्ठभूमिमा डाँडाका तहपछि तह देखिएका थिए भने हाम्रो बायाँतिरको हेरेनबेर्ग पहाडमा बनेका घरहरू बोराबाट पोखिएको चामलको रास जस्तो देखिएका थिए । यो ठाउँ प्रायः स्विट्जरल्याण्डको यात्राका क्रममा या स्टुटगार्टबाट दक्षिण पश्चिमको यात्राका क्रममा सधैं देखिन्छ तर यहाँसम्मको यात्रा आजसम्म प्राथमिकतामा परेको छैन । सडकबाटै यस्तो सुन्दर देखिने ठाउँ झन् डाँडाको अग्लो ठाउँमा गएर हेर्दा त निकै सुन्दर देखिनुपर्ने हो । त्यो रहर फेरि एकपटक पछिका लागि साँच्दै हामी अघि बढ्यौं ।

दिन ढलिरहेको थियो । सवा पाँचमा सूर्यास्त हुने भनेर मौसम पूर्वानुमान रहेको थियो । हामीले यात्रा नै अढाइ बजे सुरु गरेकाले ४ बज्नै लाग्दा पुगिने भन्ने पूर्वानुमान गाडीको नक्सामा देखिएको थियो । हामी पुग्ने ठाउँबाट केही उकालो चाहिं लाग्नुपथ्र्यो । डाँडाको माथिल्लो भागमा बनेको दृश्यस्तम्भबाट चारैतिरको दृश्यहरू देख्न सकिन्थ्यो ।

सम्भवतः मो ब्लाँ पनि हामीले देख्न पाउँथ्यौं । खुलेको आकाश र पारिलो घामले त्यसैको संकेत गरेको थियो । लगभग ७ किमी जति बाँकी रहेका बेलामा भने हामी बढ्न खोजेको बाटोमा दमकल तेर्स्याएर बाटो छेकेको भेटियो । अलि अघि बाटामा पस्ने चौबाटामा बाटो बन्दको सूचना त थियो ।

तर हामी पारिको बस्ती जाने भएकाले त्यसले फरक नगर्ला कि भन्ने सोचेर अघि बढेका थियौं । बाटोभरि फर्किन लागेका गाडीहरूको लाम मात्रै भएपछि र अघिल्तिरको सडक नै अन्त्य हुने देखेपछि हामी आएकै बाटो र्फकन बाध्य भयौं । समस्या बाटो भन्दा पनि समयको थियो । कनिकुथी ४ बजे पुग्न लागेकोमा अब चाहिं सूर्यास्त भेटिन्न कि भन्ने डर पक्का जस्तै भएको थियो ।

म आत्तिएको देखेर गाडीमा भएका सबै पनि आत्तिएका थिए । हुनलाई ७ किमी पर थियौं । तर त्यो हिंडेरै जाँदा पनि सूर्यास्त देख्न सकिंदैन थियो । त्यसैले नक्सामा देखिएको वैकल्पिक बाटो समाएर हामी अघि बढ्यौं । बाटाभरि सबैले सान्त्वना दिंदै नआत्तिन भनिरहे ।

हतारमा गाडी हाँक्दाको परिणाम बारम्बार खेपिसकेको थिएँ । त्यही गल्ती दोहोर्‍याइरहन मन पनि थिएन । अनि यत्रो पर पुगेर जुन उद्देश्यका लागि आएको हो त्यही नगरी र्फकन मन पनि थिएन ।

‘म सक्दिनँ । तिमी जाऊ एक्लै । तिम्रो छुट्छ’, सविताले एकदमै गम्भीर भएर सुनाई ।

गाडी योजना भन्दा १० मिनेट ढिलो गन्तव्यमा पुग्यो । लगत्तै हामी हिंड्न थाल्यौं । मैले यात्राका लागि सवितालाई मनाउँदा उसलाई एक्लै छोडेर नजाने बाचा गरेको थिएँ । यात्राको सुरुवातमै गोडा यसरी लम्किए कि सविता निकै पछि परिन् । उनले मैले गरेको बाचा सम्झाएपछि भने म सँगै हिंड्नका लागि रोकिएँ ।

एक त ढिलो सुरु गरेको यात्रा, त्यसैमाथि बाटो बन्द भएका कारण भएको ढिलाइ पछि उक्लन पनि ढिलो हुन थालेपछि सँगै आएका दिलीप र प्रवीणलाई अघि जान भनें । म, सविता अनि मञ्जिल चाहिं पछिपछि रहृयौं ।

म सवितासँगै हिंड्ने भन्दै गर्दा पनि अघिअघि पुगिरहेको थिएँ । अन्तिम उकालोमा उनलाई केही गाह्रो भयो । जसोतसो कट्यो । उकालो सकिएपछि टाकुराको टावरमा अझै सिंढीहरू चढ्नुपर्ने थियो । अन्तिमतिर पुगेर उनलाई रिंगटा लागे जस्तो पनि भयो । म उनलाई विश्राम गर्न नदिई उकाल्दै थिएँ । अनि अति भएपछि उनले असमर्थता प्रकट गरिन् ।

‘छुटे दुवैको छुटोस् ! तिम्रो छुट्नु भनेको मेरो पनि छुट्नु हो !’ मैले सोचेर जवाफ दिएँ ।

प्रायः म उनलाई छोडेरै पनि हिंडिरहेको हुन्थें । यसपटक त्यसो गर्न मन लागेन । विशेषगरी त्यस्तो बेला जब मैले उनलाई दिन समय काटेर समय दिएकाहरूले नै मेरा लागि इडेस अभ माघ आयोजना गरिरहेका थिए । उनको आफ्नो दुःख त आफ्नै थियो । त्यसमाथि मैले पनि तमाम थपेको थिएँ ।

अझ उनलाई दुःखी ती पलले बनाउँथ्यो जहाँ म आफैं छट्पटिएको हुन्थें र दुःखी देखिन्थें । त्यस्तो मान्छेलाई छोडेर सूर्यास्त हेर्नुको पनि के अर्थ ? जवाफ सुनेर पाएको पुरस्कारले सही जवाफ दिइएछ भन्ने पक्का गर्‍यो ।

दिलीप र प्रवीण सूर्यास्त देखिने दिशातिर क्यामेरा तेस्र्याएर थुचुक्कै बसेका थिए । मेरो पहिलो दृष्टि आल्पसहरूतिर गयो । देखिने आल्पसको नाम र आकृति कोरिएको धातुको पाटीमा चुगस्पिच्चेदेखि मो ब्लाँसम्मका चुचुराहरूको नाम थियो । तीमध्ये कति त चढिसकिएका चुचुराहरू थिए । चुगस्पिच्चे नै पनि तीन पटक चढिसकेको थिएँ ।
ओबस्र्टडोर्फको मेडेलेगाबेल पनि चढिसकिएको थियो । आपेनचेलको हुन्डस्टाइन पनि चढिसकिएको थियो । त्यसपछि

देखिने स्विट्जरल्याण्डका आल्पसहरूमध्ये आइगर, मोन्स र युङ्गफ्राउ स्विट्जरल्याण्डका विभिन्न यात्रामा नजिकबाट देख्ने अवसर मिलेको थियो । तिनको भन्दा अझै पर, आल्पसहरू सकिने ठाउँमा मो ब्लाँ अंकित गरिएको थियो । साथै ‘देखिन छोडेको’ भनेर पनि अंकित गरिएको थियो ।

‘म टाइम ट्राभल गर्न सक्ने भए अरू भविष्यमा यात्रा गर्न खोज्थे होलान् । म विगतमा जान्थें । प्रकृतिमा रमाउँथें । घोडासोडा चढ्थें’ प्रवीणले सूर्यास्तको भिडियो लिंदै गर्दा सुनाइरहेका थिए ।

‘अब यस्तो हुन्छ नि दाइ, तपाईंसँग पैसा पनि त हुनुपर्‍यो’ दिलीप प्रतिवाद गर्दै थियो ।

‘मलाई त्यस्तो पैसासैसासँग खासै मतलब भएन’ प्रवीण विशुद्ध प्रकृतिप्रेमकै लागि विगतको यात्रा रोजेको भनी बुझाउन खोज्दै थियो ।

‘अनि पैसा नभइकन त कसरी घोडा चढ्नुहुन्थ्यो त ? पुरानो समयमा त घोडा चढ्ने हैसियत सबैको कहाँ हुन्थ्यो र ? अहिलेको हैसियत पो तपाईंको घोडा चढ्न सक्ने छ । तर विना पैसा पुरानो समयमा जानुभयो भने त कताबाट घोडा चढ्न पाउनु’ दिलीपले कडा रूपमा प्रतिवाद गर्दै थियो ।

मलाई उनीहरूको कुरा एकदमै रोचक लागिरहेको थियो । हान्स रोस्लिङ लगायतले लेखेको फ्याक्टफुलनेसको सम्झना दिलाइरहेको थियो । हाम्रा विचारहरू गलत आधारमा टेकेर बनेका हुनाले तिनमा तथ्यगत त्रुटिहरू आउने गरेको प्रसंग त्यसमा पढेको थिएँ । जस्तो आजको युगभन्दा हिजोको युग राम्रो भन्ने कुरामा किताबमा तमाम तथ्याङ्कहरू प्रयोग गरेर गलत प्रमाणित गरिएको छ । प्रवीणको स्वैरकल्पनामा पनि त्यही समस्या थियो जुन दिलीपले औंल्याएको थियो ।

‘त्यो विवादास्पद छ । खासमा पृथ्वीको बाङ्गोपनाका कारण २९० किमी टाढा रहेको मो ब्लाँ देख्न सकिंदैन भन्ने एकथरीको मत छ’ हामी निकै बेर माथि बसिरहेका बेला उक्लिएका एक स्थानीय वृद्धाले मो ब्लाँका बारेमा सुनाए ।

स्थानीय हुनाले टहल्दै आएका थिए । हामीले केही चुचुराहरू चिन्नलाई सहयोग पनि गर्‍यौं । तलको नक्सामा देखिए जस्तो आकृति आँखाले छुट्याउन गाह्रो भए पनि क्यामेरा जुम गरेर हेर्दा दूरबीनको जस्तो काम गथ्र्यो । उनलाई पनि त्यसरी नै केही चुचुरा देखायौं । मो ब्लाँ देखिने कुरामा चाहिं उनी विवादास्पद भएको भन्ने कुरामा अडिएका थिए ।

४ हजर ८०५.५९ मिटर उचाइ रहेको यो चुचुरो पश्चिमी युरोप अनि आल्पसको सर्वोच्च चुचुरो मानिन्छ । खासमा त माउण्ट एल्ब्रस युरोपको सर्वोच्च चुली हुनुपर्ने हो । तर रसिया युरोप कि एसिया भन्ने विवादले मो ब्लाँ अनेक वहानामा सर्वोच्च चुली बनेरै प्रचारित छ । जेहोस्, जर्मनीको सर्वोच्च चुलीदेखि पश्चिम युरोपको सर्वोच्च चुलीदेखि मो ब्लाँसम्म देखिने लेम्बर्ग हिमालप्रेमीका लागि एकदमै महत्त्वपूर्ण चुली लाग्यो ।

एकछिन ती स्थानीयसँग कुराकानी गरेर हामी तल बालिएको आगोको वरिपरि झुम्मियौं । उनले हामी चढेको टावर १२५ वर्ष पुरानो रहेको जानकारी पनि दिए । टावरका काठका फल्याकहरू चाहिं फेरिएका रहेछन् । १२५ वर्ष टिक्ने संरचना शिल्पमा चढेको कुराले हामीलाई छुट्टै अनुभव दियो । अर्को कुरा पनि हामीले ख्याल गर्‍यौं । हामी भएकै ठाउँमा पुगे पनि तिनले एकपटक मोबाइल झिकेका थिएनन् ।

फेसबुकमा मैले मो ब्लाँको तस्वीर देखाउँदा अनि लेम्बर्ग नजिकै अघिल्लो दिन खिचिएको तस्वीरहरू देखाउँदा उनलाई सबै नौलो लागिरहेको थियो । यी सबै प्रविधि बेगर पनि उनी त्यही ठाउँको मज्जा लिइरहेका थिए । त्यसले हामीलाई चाहिं प्रविधिप्रति बढी नै आश्रति भएकोमा अलि असहज महसुस गराइरहेको थियो ।

केहीबेरमा ती स्थानीय गएपछि हामीले बुढ्यौलीको एक्लोपनाको बारेमा कुरा गर्‍यौं । एकछिन आमाबाको पीर गर्‍यौं । अनि आफैं पनि त्यही अवस्थामा पुग्ने कुरा सम्झेर थप पीर गर्‍यौं । त्यहाँको बसाइ अन्त्य गर्‍यौं । बालेको आगो निभाएर तल झर्दा निकै अँध्यारो भइसकेको थियो ।

*** ***

‘एउटा कथा छ के दाइ । एक जना फरक ग्रहकी आमाले आफ्ना दुई सन्तानलाई पृथ्वीमा मानिसहरूलाई बुझ्नका लागि पठाइछिन् । पहिलो सन्तानले पृथ्वीमा पुगेर गुडिरहेको गाडी देखेछ । उसले अघिल्तिरबाट हेर्दा दुई पाङ्ग्रामा गुडिरहेको गाडी देखेर अचम्ममा परेछ र आमालाई त्यस्तै सुनाएछ ।

अर्को सन्तानले त्यही गुडिरहेको गाडी कुनाबाट हेरेछ । कुनाबाट उसले अघिका दुई पाङ्ग्रा र एकापट्टकिो अर्को पाङ्ग्रा पनि देखेछ । आमालाई उसले अघिल्लो सन्तानले देखेकै वस्तुमा ३ पाङ्ग्रा भएको सुनाएछ । दुवै सन्तानले फरक फरक जानकारी लिएर आएपछि आमा आफैं बुझ्नका लागि पृथ्वी आइछिन् । अघिबाट हेर्दा पहिलो सन्तान सही लागेछ ।

कुनाबाट हेर्दा दोस्रो सन्तान सही लागेछ । एक चक्कर घुम्दा त चौथो पाङ्ग्रा समेत देखिछिन् । त्यसपछि दुवै सन्तान गलत लागेछन्, या भनौं दुवैमा आंशिक सत्यता देखिछिन् । हामीले संसार बुझ्ने कुरामा पनि यस्तै सीमा हुन्छ । सबै आयामलाई समेट्ने गरी दृष्टिविन्दु या हेराइ बनाउन हामी सक्दैनौं । त्यसैले हामीलाई परस्पर विरोधी कुराहरूले हतोत्साहित गर्छ या झन् विज्ञानप्रति शंका गराउन खोज्छ ।’

फर्किंदाको प्रमात्रा भौतिकी सम्बन्धी संवादमा प्रवीणले प्रकाशको द्वैधता बुझाउने क्रममा यस्तै केही सुनाएका थिए ।

‘भनेपछि हामीले पनि तरंगमा रूपान्तरित हुनसक्यौं भने त एक ठाउँबाट अर्काे ठाउँ जान सजिलै सक्ने रहेछौं’, मैले हाँसो गर्दै भनें ।

‘हो नि दाइ । पहिलेका ऋषिमुनिहरूले तप र ध्यानबाट त्यो गर्न सकेको हुनुपर्छ’ प्रवीणले भौतिक विज्ञान र अध्यात्म जोडेर जवाफ फर्काए ।

कुराकानी यसरी नै अघि बढिरहेको थियो । हामी छुट्टनिे समय आइपुग्यो । सबै आ-आफ्ना घर लाग्यौं । बिहानको फुटबल र साँझको उकालो हिंडाइ र त्यसलगत्तैको डेढ घण्टा गाडी चलाउनाले थकाएको पनि थियो । भोलिपल्ट बिहानै काम पनि सुरु गर्नु थियो । त्यसैले चाँडै निदाएँ ।

*** ***

भोलिपल्ट यात्राको रन्को अझै बाँकी थियो । मो ब्लाँ हेर्न हिंडेका हामी प्रमात्रा भौतिकीदेखि समययात्राका कुराहरू गरेर फर्क्यौं । मो ब्लाँ नै चाहिं देख्यौं कि देखेनौं यकिन थिएन । कहाँनिर हुनुपथ्र्यो भन्ने यकिन गर्नै पनि कठिन थियो । त्यसैले मो ब्लाँ देखिने दिशाका केही तस्वीर लिएर हामी फर्केका थियौं । भोलिपल्ट सबै तस्वीरहरू हेर्दै अनि इन्टरनेटमा उपलब्ध जानकारीहरू बटुल्दै आफूले लिएका तस्वीरहरूमा मो ब्लाँ खोजें ।

स्थानीयले मो ब्लाँको तस्वीर भनेर दावा गरेका तस्वीरहरू गलत भएको भनेर छापिएका समाचारहरू पनि भेटिए । सँगै एक समाचार भेटियो जसमा ‘मो ब्लाँ प्रकाशको र लेम्बर्गको बीच पृथ्वीको वक्रताका कारण क्षितिजको ९४५ मिटरको ढिस्को वाधक हुने र अपवादका अवस्थामा परावर्तनले मो ब्लाँको २९५ किमी परको चुचुरा २५ मिटर माथिसम्म देखिन सक्छ’ भनेर लेखिएको थियो ।

सँगै अर्को कुराको पनि सम्झना दिलायो । प्रमात्रा भौतिकीले प्रकाशले कण र तरंग दुवैको व्यवहार गर्ने कुरा गर्छ । कणको व्यवहार गर्दा त नदेखिएला । तर तरंगको व्यवहार गर्‍यो भने त मो ब्लाँले प्रतिबिम्वित गर्ने प्रकाश लेम्बर्ग पुग्नुपर्ने हो र त्यहाँबाट देखिनुपर्ने हो । बरु कण र तरंगको व्यवहार कुन बेला गर्छ भन्ने पो कसरी निर्धारित गर्छ होला ? प्रवीणले रिचर्ड फेनमानको उक्ति ‘के अणुले सोच्छ ?’ भन्ने उद्धृत गरेर त्यसको जवाफ दिन खोजेका थिए ।

अनि के हामीले मो ब्लाँ खोजिरहेको बेला त्यसमा ठोक्किएर आउने प्रकाशका अणुले देखिइनु सोचिरहेका थिए या नदेखिनु ? उत्तरहरू हामीले खिचेका तस्वीरहरूमा होलान् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?