+
+

इरान समर्थित सशस्त्र समूहविरुद्ध हमला गर्न अमेरिकाको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १४:२५

जोर्डनमा आफ्ना तीन सैनिक मारिएपछि जवाफी कारबाहीका लागि विलम्ब गरेको अमेरिकाले इरान समर्थित सशस्त्र समुहविरुद् श्रृंखलावद्ध हमलाका लागि स्वीकृति दिएको छ । सिरिया र इराकमा रहेका इरान समर्थित सशस्त्र समुहविरुद्ध श्रृंखलावद्ध हमला गर्न स्वीकृति दिइएको बीबीसीले उल्लेख गरेको छ ।

कहिलेबाट हमला हुने भन्नेकुरा मौसमी अवस्थितिको निर्क्यौलपछि निर्धारण हुने बीबीसीले जनाएको छ । अमेरिकी सैन्य इलाका रहेको जोर्डनस्थित टावर ट्वान्टी टूमा गरिएको हमलाको जिम्मा इस्लामिक प्रतिरोध समूहले लिएको थियो ।

अत्याधुनिक ड्रोनमार्फत त्यहाँ हमला भएको थियो । अमेरिकी जासुसी संयन्त्रले घटनामा प्रयोग भएको ड्रोन इरानी प्रविधिको रहेको जिकिर गरेको छ । इरानले रुसलाई समेत युक्रेनविरुद्ध लड्नका निम्ति ड्रोन निर्यात गरेको अमेरिकी आरोप छ ।

आफ्ना सैनिक मारिँदा समेत प्रतिवादका निम्ति अमेरिकाले निकै विलम्ब गरेको भन्दै आलोचना भइरहेको थियो । प्रतिवादमा भएको विलम्बको बचाउमा अमेरिकी रक्षा मन्त्री ल्योएड अस्टिनले पत्रकार सम्मेलनमा भनेका छन्, ‘जहाँ भएपनि, जहिले भएपनि र जसरी भएपनि हामी त्यसको प्रत्युत्तर दिएरै छोड्नेछौँ यससम्बन्धमा आइपर्ने चुनौतीबारे सबैनै जानकार भएजस्तो लाग्छ । निकै नै सुझबुझपूर्ण ढंगले कदम चाल्नुपर्ने अवस्था छl ’

सर्वसाधारणमाथि कुनै क्षति नपुर्‍याउने लक्ष्यसहित हमलाको तयारी भइरहेकाले खुला मौसमको प्रतिरक्षामा रहेको अमेरिकी रक्षा मन्त्रालयको भनाइ छ । मध्यपूर्व पहिलेनै इजरायल हमास युद्धमा रहेकाले इरानसँग सैन्य तनाव बढाउने पक्षमा ह्वाइटहाउस छैन । रिपब्लिकन सांसदहरुले इरानमाथि हमलाको दबाब दिइरहेका बखत ह्वाइटहाउसले संयमता अपनाइरहेको छ ।

७ अक्टोबरमा हमासले इजरायलमा हमला गरेसँगै विभिन्न इस्लामिक सशस्त्र समूहले अमेरिका लक्षित हमलाको थालनी गरेका थिए । इरान समर्थित हुथी समूहले लाल सागरमा आपूर्ति श्रृंखलामा अवरोध पुर्‍याउने उद्देश्यले अमेरिकी सेना तथा त्यहाँका मालबाहक कन्टेनरमाथि हमला तीव्र बनाएको थियो । अक्टोबर ७ यता अमेरिका लक्षित १६० हमला भएको जिकिर पेन्टागनको छ ।

अमेरिकी निर्णयप्रति के भन्छन् इरानी अधिकारी ?

इरानले अमेरिकी सेनामाथिको हमलामा आफ्नो कुनै पनि हात नरहेको जिकिर गर्दै आएको छ । त्यसका बाबजुद पनि इरान लक्षित हमला अमेरिकाले सुरु गरेमा आफूहरु चुप लागेर नबस्ने इरानी अधिकारीहरुले चेतावनी दिएका छन् ।

अमेरिकाले दाबी गरेझैँ इरानले कुनैपनि इस्लामिक सशस्त्र समूहलाई समर्थन नगरेको उच्च अधिकारीहरुको जिकिर छ । संयुक्त राष्ट्रसंघमा इरानका उच्च प्रतिनिधि  अमिसहेद इर्भानीका अनुसार जोर्डनको हमलालाई लिएर दुई मुलुकबीच कुनैपनि औपचारिक सन्देश आदानप्रदान भएको छैन ।

यदि अमेरिकाले इरानी भूमिमा कुनै पनि हमला गरेमा त्यसको कडा प्रतिवाद गर्न मुलुक सक्षम रहेको चेतावनी उनले दिएका छन् । इरानी सेनाका कमाण्डर हुसेन सलामीले पनि यस्तै चेतावनी दिएका छन् ।

‘अमेरिकाले हामीमाथि यसअघि पनि परीक्षण गरेकै हो । हामी एकअर्काको हैसियतबारे राम्रोसँग परिचित छौँ । हामीमाथि कुनै पनि चुनौती अमेरिकाले पेश गरेमा हरेक चुनौतीको कडा प्रतिकार गर्नेछौँ’, सीबीएस न्यूजले लेखेको छ । हाल इरानका सांसद रहेकाले पूर्वसैन्य कमाण्डर स्माइल कोसारीले हमलाका लागि अमेरिकी स्वीकृतिप्रति टिप्पणी गर्दै भनेका छन्-‘अमेरिकाले मनोवैज्ञानिक युद्ध छेडेको छ । उसले सैन्य हमलाको कुरा गरेर हाम्रा नागरिकलाइ आतंकित बनाउन खोजेको मात्रै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?