+
+

राष्ट्रिय कराते प्रतियोगितामा पुलिस टिम च्याम्पियन, विप्लव र मिस्लीको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १०:५४

२१ माघ, काठमाडौं । नेपाल पुलिस क्लब तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।

सातदोबाटोमा स्थिति कराते हलमा शनिबार सम्पन्न प्रतियोगितामा पुलिस १० स्वर्ण पदकसहित च्याम्पियन बनेको हो । पुलिसले समान ३ रजत र कांस्य पदक पनि जित्यो ।

प्रतियोगितामा महिलातर्फ रमिता माझी र पुरुषतर्फ सुदूरपश्चिमका कमल ओली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले समान २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ निरुपा दोङ र पुरुषतर्फ साहिल नेपाली उदीयमान खेलाडी चुनिए ।

यस्तै प्रतियोगिताको तीनै संस्करणमा स्वर्ण पदक जितेका विप्लवलाल श्रेष्ठले सुपरस्टार खेलाडीको उपाधिसहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठले पनि जितको ह्याट्रिक गर्न सफल भइन् ।

पुलिस च्याम्पियन बन्दा अर्को विभागीय टोली एपीएफ ३ स्वर्ण तथा समान ५ रजत र कांस्य पदक जित्दै दोस्रो भयो । बागमती प्रदेश २ स्वर्ण १ रजत र ६ कांस्य पदकका साथ तेस्रो भयो । आर्मी एक स्वर्ण तथा समान ४ रजत र कांस्य पदकका साथ चौथो भयो । पाँचौं भएको सुदूरपश्चिम प्रदेश को १ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेको छ ।

मधेश प्रदेश १ रजत र ६ कांस्य जित्दै छैटौं, कोशी प्रदेश १ रजत र ४ कांस्य जित्दै सातौं, १ रजत र २ कांस्य पदकका साथ लुम्बिनी प्रदेश आठौं र १ कांस्यका साथ गण्डकी प्रदेश नवौं स्थानमा रह्यो । कर्णाली प्रदेश भने पदकविहीन रह्यो ।

अन्तिम दिन पुलिसलाई थप २ स्वर्ण

प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पुलिसले थप २ स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र आर्मीले समान एक/एक स्वर्ण पदक जिते ।

पुलिसका विप्लवलाल श्रेष्ठ ८४ केजी माथिको तौल समूहमा स्वर्ण पदक जितेका थिए । प्रतियोगिताको समेत अन्तिम खेलमा शनिबार फाइनलमा सुदूरपश्चिमका लोकश कार्की १२– ४ को फुल स्कोरमा हराउँदै विप्लवलाल पहिलो भएका थिए ।

विप्लवलाल नेपाल खेलकुद पत्रकार मन्चले माघ २८ गते आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस अवार्डको मनोनयमा समेत छन् । सो समूहमा एपीएफ तेन्जिङ शेर्पा र मधेश विवश गौतमले कांस्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एपीएफ तेन्जिङ शेर्पा र लोकेशले मधेश विवश गौतमलाई हराएका थिए । सेमिफाइनल फाइनल अघि विप्लवलालले २ फाइट जितेका थिए ।

त्यसअघि कुमुते महिला ५० केजी तौल समूहको फाइनलमा आर्मीकी मिस्ली श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन् । आर्मीका लागि पहिलो स्वर्ण पदक जित्ने क्रममा मिस्लीले एपीएफकी सोनु श्रेष्ठलाई हराएकी हुन् । सोनु फाइनलमा मेडिकल्ली डिस्क्वालिफाइ हुनुअघि ५–१ ले पछाडि थिइन। सो समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र मधेश प्रदेशकी बबिता इस्मालीले कांस्य पदक प्राप्त गरे । सेमिफाइनलमा मिस्लीले सविना र सोनुले बबितालाई हराएकी थिइन् ।

ह्याट्रिक गरेका विप्लव र मिस्ली ।

त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि कमल ओलीले पहिलो स्वर्ण पदक जितेका थिए । कुमुते पुरुष ७५ केजीमा फाइनलमा बागमती प्रदेशका साहिल नेपाली ५–४ स्कोरले हराउँदै कमलले स्वर्ण पदक जितेका हुन्। त्यो‌ तौल‌ समूहमा प्रदेशका खेलाडीले‌ मात्र पदक जितेका छन् ।

विभागीय टोली पुलिस क्लबका‌ खेलाडी पहिलो चरणमा तथा नेपाल एपीएफ क्लब र आर्मीका खेलाडी क्वाटरफाइनलमा पराजित भएका थिए । समूहमा मधेश प्रदेशका करणकुमार महतो र कोशी प्रदेशका रुरिहाङ दुमी कांस्य पदक प्राप्त गरे । त्यसअघि कमलले रुरिहाङ र‌ साहिलले करणलाई हराएका थिए ।

त्यसअघि आज चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता पुलिसकी एरिका गुरुङले तेस्रो स्वर्ण पदक‌ जितेकी‌ थिइन् । असोजमा सम्पन्न एसियाडपछि पहिलो प्रतियोगिता खेलेकी एरिकाले कुमुते महिला ६८ केजीमाथिको तौल समूहमा एपीएफकी विनिता श्रेष्ठलाई‌ ७–१ ले हराउँदै पहिलो स्थान हासिल गरेको‌ थिइन् । प्रतियोगितामा पुलिसको त्यो नवौं स्वर्ण पदक हो ।

सो समूहमा मधेश प्रदेशकी पोरिना शाही ठकुरी र बागमतीकी कलाहाङ लिम्बुले कांस्य पदक प्राप्त गरे । त्यसअघि सेमिफाइनलमा एरिकाले कलाहाङ र विनिताले पोरिकालाई हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । चोटका कारण एरिकाले साफ कराते च्याम्पियनसीपमा भाग लिएकी थिइनन् । विप्लवलाल र मिस्लीले प्रतियोगितामा ह्याट्कि गरेका छन् ।

करातेको‌ राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका‌ रूपमा रहेको‌ प्रतियोगिताको‌ आयोजना‌ जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलले गरेको हो ।

प्रतियोगिताको च्याम्पियन हुने टोली पुलिसले ट्रफीसहित एक लाख र दोस्रो एपीएफले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

माघ १८ गते देखि सन्चालन भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागका खेलाडी कुमुते र काता गरी १७ इभेन्टमा प्रतिस्पर्धा गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?