+
+

टिकट काटेर मुक्तक सुन्ने विरासतमा फर्कियो पोखरा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १४:०२

चामलकै लागि भएपनि धान कुटिनुपर्छ
बोटकै लागि भएपनि बीउ फुटिनुपर्छ
म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न
मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ

अमृता पोखरेलले मञ्चमा उभिएर यी मुक्तकका हरफ वाचन गर्नेबित्तिकै पोखरा उद्योग वाणिज्य संघको सभा हल वाहवाही र तालीले गुञ्जिइहाल्यो । पहिलो वाचकका रुपमा मञ्चमा उभिएकी अमृताले कार्यक्रमको सुरुमै बनाएको मुक्तकिलो माहोल अन्तिमसम्मै जारी रह्यो ।

मुक्तक सुन्न त्यो पनि १ हजार रुपैयाँसम्म टिकट काटेर सयौं पारखी उपस्थित भए । १० वर्षपछि पोखरा फेरि मुक्तकमय बनेको छ । ‘मुक्तक सुन्न पोखरा जाऔं’ भनाइ स्थापित गरेको पोखरामा शनिबार फेरि टिकट काटेर पोखरेली मुक्तक सुन्न पुगेका हुन् ।

२०३५ साल माघ २० गते पहिलो पटक पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेको पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार फेरि त्यो इतिहासलाई जोड्ने काम गरेको छ । अनेक भावभंगीमा फरक फरक विषयविस्तु समेटिएका चोटिला मुक्तकले शनिबार साँझसम्मै कार्यक्रममा पारखीलाई झंकृत बनाइरह्यो ।

मुक्तक वाचन गर्दै बुँद राना ।

ऊबेलादेखि टिकटमा मुक्तक पोखराकै लोकप्रिय कार्यक्रम भएको र त्यो इतिहासलाई फेरि एकपटक जुरुक्कै उठाउन पाएकोमा अध्यक्ष उपेन्द्र पौडेलले सुरुमै खुसी साटे ।

‘एउटा तुल टाँसेर २ रुपैयाँको टिकटमा चलेको कार्यक्रम आज यत्तिका मानिसको उपस्थितिमा यो भव्य हलमा तपाईंहरुलाई साक्षी राखेर गर्न पाउँदा परिवारले गौरववोध गरेको छ’, पौडेलले भने, ‘लगभग ४५ वर्षको सन्तानलाई अंगालोेमा बेरेर उसको जन्मदिनको त्यो पहिलो च्याँच्याँ रुवाइ सम्झँदा उसकी आमा जति पुलकित हुन्छिन्, आज यो पलमा टिकटमा मुक्तकको पहिलो कार्यक्रमको सम्झनाले म पनि उत्तिकै रोमाञ्चित र पुलकित भएको छु ।’

पोखराका मेयर धनराज आचार्यले भूपि शेरचनको मुक्तक वाचन गरेर सुरु भएको कार्यक्रममा साहित्यको चोटिलो विधाले शक्ति प्रदर्शन गर्‍यो । देशप्रेम, राजनीतिक तथा सामाजिक मुद्धा समेट्दै चोटिला मुक्तक कार्यक्रममा सुनिए । समसामायिक विषयलाई उजागर गर्दै नेताहरुप्रति तिखो व्यंग्य गरेका मुक्तककारले प्रेमका मुक्तकले माहोल रसिक बनाएका थिए । समानता र वर्गीय मुक्तिका आवाजहरु पनि मुक्तकमार्फत सुनाएका थिए ।

दोस्रो वाचकका रुपमा मञ्चमा गएका श्रीराम अधिकारी ‘गोर्जे’ ले राजनीतिक विंसगतिमाथि कसिलो प्रहार गरे । सञ्जीव पौडेलले पनि राजनीतिक तथा समसामायिक विषयलाई मुक्तकमार्फत पस्किए ।

अमृत सुवेदी, रामजी आचार्य, कृष्ण सुवेदी, सावित्री गिरी, रुपिन्द्र प्रभावीले बाँच्नकै लागि निरन्तर युद्धमा होमिनुपर्ने नेपालीको नियतीलाई रुस–युक्रेन युद्धदेखि र राजनीति, समसामयिक र प्रेमसम्मका विषयलाई समेटे ।

कपिल शर्माले वाचन गरेको प्रणयपरक मुक्तकले माहोल अझ गर्मिलो बनायो । सरला लामिछानेले त्यसैमा प्रेम र सपनताको आवाज थपिन् ।

भन्नुपर्ने सोझै भन मज्जा आउँछ
मेरैअघि खाल्डो खन मज्जा आउँछ
मित्र हुँ भन्छौ बेइमानी गरिरहन्छौ
बरु इमानदार सत्रु बन मज्जा आउँछ

प्राञ्जलका यी मुक्तकले वाहवाही कमाएसँगै भूमिराज बस्ताकोटी, शिव त्रिपाठी, गौरी तमुले मुक्तक वाचन गर्दा देश प्रेम, विसंगति एकसाथ प्रकट भए । लक्ष्मण थापा, मन क्षेत्री, सरस्वती श्रेष्ठ, सुरेश रानाभाट, दीपक समीप, ईश्वरमणि अधिकारी लगायतले मुक्तक वाचन गर्दा माहोल जुरुक्कै उठ्यो ।

मुक्तक वाचन गर्दै सरस्वती प्रतीक्षा ।

कवि रीता अधिकारीले विभिन्न किस्सा र सन्दर्भहरु जोड्दै कार्यक्रमलाई रोचक बनाइरहिन् । कविता हुँदै आख्यानमा दरिएकी सरस्वती प्रतीक्षाले फरक फरक स्वादका ३ मुक्तक सुनाइन् । जस्तो कि प्रेमलाई यसरी व्यक्ति गरिन् ।

आफ्नो मान्नु कि पराइको ठान्नु ? प्रश्नैप्रश्नमा साँझ ढल्छ
पाएको भन्नु कि नपाएको भन्नु ? सोच्दासोच्दैमा नौनाडी गल्छ
कसैले पनि कसैलाई यस्तो चेकबुक जस्तो प्रेम नदेओस्
जहाँ नाम एउटाको हुन्छ अनि हस्ताक्षर अर्कोको चल्छ

रमेश श्रेष्ठ, रुद्र ज्ञवाली, रामकाजी कोने, विश्वमोहन श्रेष्ठ, उषा शेरचन, बुँद राना हुँदै सरुभक्तसम्मले मुक्तक वाचनमात्रै गरेनन्, मुक्तकको गौरवशाली इतिहासलाई पनि जोडे । सरुभक्त, उषा शेरचन लगायतकै नेतृत्वमा पोखरामा पहिलो पटक २०३५ सालमा मुक्तक वाचनको थालनी भएको थियो ।

भीमदर्शन रोका राष्ट्रिय मुक्तक सम्मान लिँदै सरुभक्त ।

टिकटमा मुक्तक कार्यक्रमकै सन्दर्भमा मुक्तक प्रतिष्ठान नेपालले भीमदर्शन रोका राष्ट्रिय मुक्तक सम्मान प्रख्यात साहित्यकार सरुभक्तलाई प्रदान गरेको छ ।

भीमदर्शन रोका आफैं पनि २०३५ सालमा टिकटमा मुक्तक कार्यक्रममा वाचन गर्न आएको स्मरण गर्दै त्यो बेलाका मुक्तक अभियन्ता सरुभक्तले अहिले उनकै नामको पुरस्कार पाउनुलाई सौभाग्य माने ।

समसामायिक विषयलाई उजागर गर्दै नेताहरुप्रति तिखो व्यंग्य गरेका मुक्तककारले प्रेमका मुक्तकले माहोल रसिक बनाएका थिए । समानता र वर्गीय मुक्तिका आवाजहरु पनि मुक्तकमार्फत सुनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?