+
+

हिउँदे अधिवेशनमा महत्वपूर्ण विधेयक पास गर्ने सरकारको तयारी

एमाले सरकारको काम कारबाहीमा केन्द्रित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:०८

२१ माघ, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको तयारी पूरा भएको छ । अधिवेशन सुरु हुनु अघिल्लो दिन आइतबार सभामुख देवराज घिमिरेसहित संसद सचिवालयका पदाधिकारीले सभाकक्षको अवलोकन गरे ।

राजनीतिक दलहरुले पनि संसदको हिउँदे अधिवेशनको तयारी गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले शनिबार र आइतबार दुई दिन संसदीय दलको बैठक राखेर सांसदहरुलाई प्रशिक्षित गरेको छ ।

नेपाली कांग्रेसले बिहीबार नै संसदीय दलको बैठक राखेर संसदीय समिति समेत हेर्ने गरी सांसदहरुलाई संयोजक नै तोकेर जिम्मेवारी दिएको छ ।

नेकपा माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक बोलाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रस्तुत हुने तयारी लगायतका विषयमा गृहकार्य गर्न र त्यस अनुसार प्रस्तुत हुने रणनीतिका लागि उपसभापतिद्वय स्वर्णिम वाग्ले र डोलप्रसाद अर्याललाई जिम्मेवारी तोकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतले समेत संसदमा प्रस्तुत हुने रणनीतिका सम्बन्धमा पूर्वतयारी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा सरकारको कामकारबाहीका केन्द्रित रहेर छलफल र बहस गराउने रणनीति अख्तियार गर्ने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद अधिवेशनमा सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाएर प्रस्तुत हुने तयारी गरेको छ । देशमा भ्रष्टाचार बढेको र जनतामा निराशा बढेको एमालेको ठम्याइ छ । सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुन नसकेको कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई पहिलो मुद्दा बनाउने बताए । ‘अहिले सरकारले देशको राष्ट्रिय स्वाधीनता, हाम्रो सार्वभौमसत्ता, विकास, सुशासन र समृद्धिका मुद्दाहरुमा सरकार जुनखालको अवस्थामा उभिएको छ, जस्तो सरकारको अकर्मण्यता छ, यो विषय अबको सदनको पहिलो विषय बन्छ । प्रमुख एजेण्डाका साथ हामी प्रस्तुत हुन्छौं’, प्रमुख सचेतक गिरीले भने ।

साथै, ऐन, कानुनहरु निर्माण गर्न संसदलाई केन्द्रित गर्नुपर्ने पनि उनले बताए ।

एमालेकै सचेतक महेश बर्तौलाले सरकारले संविधान र कानुन विपरीत गतिविधि गरेमा संसदमार्फत भण्डाफोर गर्ने बताए । ‘कानुन र संविधान विपरीत सरकारका समग्र गतिविधिको संसदमार्फत सशक्त आवाज उठाउँछौ । भण्डाफोर गर्नेछौं’, उनले भने ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले महत्वपूर्ण विधेयकहरु पास गर्ने आफूहरुको तयारी रहेको बताए । अधिवेशनलाई विधेयक केन्द्रित बनाउने गरी तयारी भएको उनको भनाइ छ ।

सक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई गतिका साथ अगाडि बढाइने उनको भनाइ छ । ‘संसद अधिवेशनलाई व्यवस्थित र विधेयक केन्द्रीत बनाउने गरेर सोचिरहेका छौं । कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गर्नेबारे हामी सोचिरहेका छौं’ उनले भने, ‘असाध्यै महत्वपूर्ण विधेयकहरु छन् । तिनलाई गतिका साथ अगाडि बढाउनुपर्ने भनेर सोचेका छौं ।’

आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा नयाँ तरिकाले लैजानका लागि पनि संसदमा छलफल केन्द्रित गर्ने उनको भनाइ छ ।

सत्तारुढ दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ अधिवेशनको प्रारम्भमै संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास गर्न पर्यास गर्ने बताइन् ।

नेपाली काग्रेसका सांसद जीवन परियारले हिउँदे अधिवेशनमा कानुन निर्माणको कामलाई विशेष प्राथमिकता दिइने बताए ।

‘हामीले अघिल्लो संसदमा जतिपनि कानुनहरु पारित गर्नुपथ्र्यो त्यो गर्न सकेनौँ । त्यसका लागि हामी क्षमाप्रार्थी पनि छौं । कतिपय विधेयकहरु समितिमा छलफलका क्रममा छन् । ती कानुनहरु यथाशीघ्र हामीले संसदबाट पारित गर्नुपर्छ’ उनले भने, ‘संसदको अधिवेशनलाई विशेषगरी कानुन निर्माणको काममा नै बढी समय खर्चिनुपर्छ भन्ने मलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?