२२ माघ, काठमाडौं । धनुषा सबैला नगरपालिका-५ का २२ वर्षीय सुमित यादव स्वास्थ्य क्षेत्रमा केही गर्न चाहन्थे । परिवारको पनि चाहना थियो, उनलाई डाक्टर भएको हेर्ने ।
आफ्नो र परिवारको सपना पूरा गर्न सुमित पर्साको वीरगञ्जमा बसेर नेशनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्दै थिए । दोस्रो वर्षमा पढिरहेका उनी तीन वर्षभित्र अध्ययन सिध्याएर डाक्टर हुने ध्याउन्नमा थिए । तर उनको त्यो सपना पूरा हुन पाएन ।
गत माघ ६ गते राति २ बजे कलेजको होस्टलबाट निस्किएका सुमित वीरगन्ज-१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल जाने बाटोमा बिहान ३ बजे मोटरसाइकल दुर्घटनामा परे । आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिंदा घटनास्थलमै उनले ज्यान गुमाए । दुर्घटनामा उनीसँगै बीबीएमा पढ्ने २३ वर्षीय सन्दीप यादवको पनि ज्यान गयो ।
घरका कान्छा छोरा रहेका सुमितलाई उनको परिवारले १६ कट्ठा जग्गा बेचेर एमबीबीएस पढ्न पठाएका थिए । परिवारको मात्र हैन गाउँलेको नै सुमितलाई डाक्टर भएको हेर्ने चाहना अधुरै रहृयो ।
*** ***
द्वन्द्वकालमा बुबा बेपत्ता भएपछि रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-३ का २४ वर्षीय सुनिल घर्तीलाई आमाले अनेक दुःख, अभाव झेलेर पढाइन् । रोल्पा, लिवाङको बाल कल्याण माविमा एसएलसी दिएपछि उनी दाङको राप्ती इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ पढ्थे । चारवर्षे पढाइ सकेर उनी सिभिल इञ्जिनियर हुन चाहन्थे । तर उनको त्यो सपना सडक दुर्घटनामा खोसियो ।
दाङको रतनपुरमा बसेर पढिरहेका उनी दशैंको बेला घर फर्कंदै गर्दा राप्ती राजमार्ग अन्तर्गत सल्यान सडकखण्डमा २०७८ असोजमा दुर्घटनामा परे । उनी चढेको रा ६ प ४१७१ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिंदा गम्भीर घाइते भए । उपचारका लागि बुटवलको प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भयो ।
सुनिल घरको जेठो छोरा थिए । घरमा आमासहित दुई भाइ र एक बहिनी छन् । आमापछि भाइ-बहिनीको भरोसा थिए, सुनिल । ‘दाइको मृत्युपछि आशा नै ढल्यो’ माइलो भाइ सुशील घर्ती भन्छन्, ‘भाइ र बहिनीलाई पढाउने, लेखाउने जिम्मेवारी ममाथि आइपर्यो । पढाइ बीचैमा छोडेर म मजदुरी गर्न हिंडें ।’ यसरी हरेक दिनजसो हुने सडक दुर्घटनामा युवाहरूको जीवनसँगै सपना पनि खोसिंदैछ ।
प्रहरीको तथ्यांक भन्छ- पछिल्लो साढे तीन वर्षमा मात्रै देशभर सडक दुर्घटनामा ८ हजार ६७८ जनाको ज्यान गयो । दुर्घटनामा परेर ८८ हजार ३०१ जना अंगभंग र घाइते भए । झस्काउने कुरा त के छ भने सडक दुर्घटनामा ज्यान गुमाउने ठूलो हिस्सा युवाको छ । प्रहरी प्रधान कार्यालयका अनुसार (२०७७ देखि २०८० को पुस मसान्तसम्म) को अवधिमा १६ देखि २५ वर्ष उमेर समूहका २ हजार २०९ जनाले ज्यान गुमाएका छन् । यो दुर्घटनामा ज्यान गुमाउने कुल हिस्साको ३३ प्रतिशत हो ।
आ.व. २०७७/७८ मा २ हजार ५०० को मृत्यु हुँदा ६५३ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै आ.व. २०७८/७९ मा २ हजार ८८३ जनाको मृत्यु हुँदा ७३८ जना, आ.व. २०७९/८० मा २ हजार ६३ को मृत्यु हुँदा ५५० जना, चालु आ.व. २०८०/८१ को पुस मसान्तसम्म ९१६ को मृत्यु हुँदा २६८ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकाल हरेक वर्ष सवारी दुर्घटनामा ठूलो संख्यामा युवाहरूले जीवन गुमाइरहेको बताउँछन् । ‘सडक दुर्घटनामा ज्यान गुमाउने १६ देखि ३० वर्ष उमेर समूह बढी छ’ उनी भन्छन्, ‘ऊर्जाशील मानिने युवा उमेर समूहले सडक दुर्घटनामा ज्यान गुमाइरहेको आँकडाले हामीलाई पनि झस्काएको छ ।’ युवा नै सडकमा बढी चलायमान हुने उमेर समूह भएकाले दुर्घटनामा पनि युवाहरू नै बढी परिरहेको उनी बताउँछन् ।
२०७९ सालमा यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले एक साताअघि मात्र प्रतिवेदन निकालेको थियो । प्रतिवेदनका अनुसार प्रत्येक दिन औसतमा ८ जनाको मृत्यु दुर्घटनाबाट हुने गर्छ । सवारी दुर्घटनामा ज्यान गुमाउने मध्ये ७२ प्रतिशत पैदलयात्री, मोटरसाइकल र साइकल चालक जस्ता संवेदनशील समूह छन् । यसमा पनि आर्थिक रूपमा सक्रिय समूहका पुरुषहरूको हिस्सा ७७ प्रतिशत जति छ । दुर्घटनामा सवारी साधनमा मोटरसाइकलको हिस्सा सबैभन्दा धेरै ५०.७२ प्रतिशत छ । यसले पनि नेपालमा दुर्घटनाबाट मृत्यु हुनेमा युवा उमेर समूह अधिक भएको देखाउँछ ।
परिवारलाई गम्भीर आहत
दाङ घोराही-१५ का दीपक केसी २३ पुगेर २४ टेक्दैथिए । बुटवलमा होटल म्यानेजमेन्ट पढिरहेका उनी २०७८ असोजमा दशैं मनाउन घर फर्किए । होटल म्यानेजमेन्टमा स्नातक सकेर रोजगारीका लागि उनी विदेश जाने तयारीमा थिए ।
घर फर्किएको बेला उनी साथीहरूसँग घुम्न निस्किएका थिए । राति घर र्फकने बेला उनी चढेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो र घटनास्थलमै उनको ज्यान गयो ।
दशैंको मुखमा भएको त्यो दुर्घटनाले दीपकको मात्र ज्यान गुमेन, परिवारको खुसी नै सधैंका लागि खोसियो । उनको मृत्युपछि परिवारमा गम्भीर आहत पुग्यो । छोराको मृत्युपछि आमा सुशीला केसी पहिले जस्तो रहिनन् । सन्तानको वियोगमा उनी विक्षिप्त नै बनिन् ।
‘छोराको मृत्युपछि हामी उस्तै रहेनौं’ बाबु कृष्ण केसीले भने, ‘श्रीमती बेला-बेला झस्किने भइन् । हामीले त्यो ठाउँ नै छोड्नुपर्ने भयो ।’ त्यसपछि दीपकको परिवार घोराही छोडेर तुलसीपुरको पातुखोला छेउमा बसाइँ सर्यो ।
मनोविद् गरिष्मा पनेरु सडक दुर्घटनामा हुने मानवीय क्षतिले परिवारलाई गम्भीर आघात पुग्ने बताउँछिन् । दुर्घटनामा परेका मृतक परिवारलाई पुग्ने मनोसामाजिक असर गहिरो र लामो समयसम्म हुने उनी बताउँछिन् । ‘सवारी दुर्घटनाले कुनै एक जनाको मात्र जीवन लिएको हुँदैन, सिंगो परिवारको खुसी नै खोसिदिन्छ’, उनी भन्छिन् ।
त्यसमा पनि युवा उमेर समूह परिवारकै आड, भरोसा हुने भएकाले ती सदस्य गुमाउँदा परिवारमा गहिरो मनोसामाजिक असर पुग्ने उनी सुनाउँछिन् । ‘सबैजसो परिवारको धान्ने समूह युवा नै हुन्छ, जब त्यो सदस्य गुम्छ, परिवारको भरोसा ढल्छ, आशाको दियो निभ्छ’ उनी थप्छिन्, ‘त्यस्ता परिवारले आर्थिक, सामाजिक क्षति व्यहोर्नुपर्छ ।’
नहेरिएको सामाजिक पाटो
बर्सेनी सडक दुर्घटनामा ठूलो मानवीय क्षति भइरहे पनि सामाजिक क्षतिबारे अध्ययन हुनसकेको छैन । सडक दुर्घटना सामाजिक परिवेशसँग जोडिएकाले यसमा हुने क्षतिलाई सामाजिक कोणबाट पनि हेरिनुपर्ने समाजशास्त्री सनम पाठक बताउँछन् । ‘सवारी दुर्घटनामा हुने मानवीय क्षतिले परिवारलाई मात्रै क्षति पुगेको हुँदैन, यसको मूल्य समाजले पनि उत्तिकै चुकाइरहेको हुन्छ’, उनले भने ।
त्यसमा पनि ठूलो हिस्साको युवा शक्ति सडक दुर्घटनामा मृत्युवरण गरिरहेको कुरा समाज र मुलुकका लागि ठूलो क्षति भएको बताउँछन् उनी । ‘गतिशील र चलायमान उमेर समूह नै युवा मानिन्छ । परिवार, समाज मात्र हैन, मुलुक नै युवामा निर्भर हुन्छ’ उनले भने, ‘परिवार र मुलुककै आशा र भरोसा बोकेको उमेर समूह सडक दुर्घटनामा मृत्युवरण गर्ने कुरा समाज र मुलुकका लागि अपूरणीय क्षति हो ।’ दिनहुँजसो हुने सडक दुर्घटनामा आशा लाग्दा र दक्ष युवा जनशक्ति गुमिरहेको प्रसंगलाई जोड्दै उनी थप्छन्, ‘ठूलो युवा शक्ति सडकमा यसरी अनाहक मृत्युवरण गर्नु पर्दाको क्षति सामान्य होइन ।’
प्रहरी प्रवक्ता ढकाल सवारी दुर्घटनाको विषय ट्राफिक र प्रहरीसँग मात्र सम्बन्धित नभएको बताउँछन् । ‘सवारी दुर्घटनाको कारण एउटा मात्र हुँदैन, योसँग थुप्रै पाटा र नियमन निकायहरू जोडिएका हुन्छन्’ उनले भने, ‘ट्राफिक प्रहरीसँगै, सडक पूर्वाधार, यातायात व्यवस्थापन, सवारी साधनको प्राविधिक चेकजाँचका विषय लगायत कुराहरू जोडिन्छन् । सडक सुरक्षाका यी सबै नियमन निकायहरूको भूमिका उत्तिकै हुन जरूरी छ ।’
समाजशास्त्री पाठक सवारी दुर्घटनाका विषयमा राज्यले जिम्मेवारी लिनुको साटो एउटा पक्षलाई मात्र दोष देखाएर आफू उम्कने काम भएको बताउँछन् । ‘सडक दुर्घटनाको कारणबारे गहिरो अध्ययन नै नगरी एउटा पाटोलाई मात्र दोष देखाएर नियमन निकायहरू पन्छिने परिपाटी छ’, उनले भने ।
दुर्घटनाको समाधान नखोजिए कालान्तरमा यही संख्यामा नागरिकले सडकमा अकालमै मृत्युवरण गर्नुपर्ने उनले बताए । ‘आज भइरहेको क्षतिबारे गम्भीर भएर नसोचिए कालान्तरमा यसले ठूलो क्षति पुर्याउने छ’ उनले भने, ‘यसको मूल्य समाज र राज्यले पनि चुकाउनुपर्ने हुन्छ ।’
प्रतिक्रिया 4