+
+
ब्लग :

कासमूको आत्मकथा

मेरो जन्म चाहिं थोरै नियन्त्रण गर्ने, केही जिम्मेवारीमा बाँध्ने र धेरै चाहिं कर्मको फल चखाउने सोचबाट भएको अनुमान गर्छु। त्यसरी जन्म दिएपछि मेरा जन्मदाताले मलाई अरुका हातमा जिम्मा लगाउँछन्। म बबुरो कति ठाउँ चहार्नुपर्छ। त्यसरी हिंड्दा मैले भोग्नुपर्ने दु:खलाई कसले हेरिदिने हो र ?

गेहनाथ गौतम गेहनाथ गौतम
२०८० माघ २३ गते ९:२१

मेरो रचना किन भयो ? मलाई नै थाहा छैन पनि कसरी भनौं र ? हुनत मान्छे जस्तो आफूलाई सर्वश्रेष्ठ भन्न रूचाउने प्राणीलाई पनि आफू किन जन्मिएको भन्ने त थाहा हुन्न क्यारे नि! उ पनि कुनै तरिकाले धर्तीमा आएपछि बल्ल अरूबाट विस्तारै बुझ्न खोज्छ। सेरोफेरोबाट केही जानकारी लिएर त्यसैका भरमा आफ्नो सिर्जना किन भएको होला भन्ने ठम्याउन थाल्छ।

मलाई हाँसो उठ्छ मान्छेको ढर्रा देखेर पनि। कस्तो स्वाङ पार्न जानेको हो उसले ? आफू जन्मनुपूर्व कहाँ, किन, कसरी, के र कहिले भन्ने कुनै कुरा आफ्नो जानकारीमा हुन्न। अर्काको मनखुसीमा सिर्जना हुन्छ। तर आफू एकदमै पूर्व तयारी गरेर आएको झल्को दिनलाई भने कुनै अप्ठ्यारो मान्दैन।

उसका आफन्तले मनपराएर नै सिर्जना भएको भए त धन्न केही खुसी पाउँछ। इच्छा विना आएको भए उसले अझ जन्मनुपूर्व मात्र होइन जन्मेपछि पनि कति हन्डर खानुपर्छ त्यो उसैलाई थाहा हुन्छ। त्यति मात्र कहाँ हो र आफ्नै खुट्टामा उभिन थालेको पनि धेरै समय पछिसम्म अर्काको औंलो समाउन बाध्य हुनुपर्छ। औंलो समाउन छाडेर पनि के भयो र उसको शिरमाथि औंलो बसेर उसलाई थर्काइरहेकै हुन्छ क्यारे!

मान्छे बबुराको अक्कल चाहिं अस्थायी हुँदोरहेछ। म सोच्दैछु, यो मान्छेको अक्कल अस्थायी र भुलक्कड नहुने हो भने के गर्थ्यो होला बबुरो ?  उसलाई प्रकृतिले किच्याउँछ। अनि जुरूक्क उठेर यता उता हेर्छ कसैले देख्यो कि भनेर आत्तिन्छ। कसैले नदेख्या भए मुसुक्क मुस्कुराउँछ र आफैं आफ्नो काँधमा थपथपाउँछ। धन्न बचिस् नि!

यो धन्न बचेको केबाट उसैलाई थाहा हुन्न फेरि। उ प्रकृतिको किच्याइबाट बचेकोमा धन्य हो कि अरूको दृष्टिबाट बचेकोमा धन्य छ जान्दैन।

अँ म भन्दै थिएँ मेरो रचना किन भएछ ? मान्छेको मनमौजी योजनामा म जन्मेको रहेछु।

मैले उनीहरूबाटै सुनेको हुँ ‘उनीहरूले पाएको जिम्मेवारी कति पूरा गर्न सके त्यसको लेखाजोखा गर्ने सिपाही बनाउन मलाई सृष्टि गरेको’ रे! माथिल्लो तलामा बस्ने मान्छेले तल्लो तलामा बस्ने मान्छेको निगरानी गर्न मलाई जन्माएको रे! हुनत आजभोलि यो तल–माथि भन्ने छैन वरिपरि भन्ने हुन्छ भन्न पछि पर्दैनन्। तर तलामाथि बस्न बानी परेकाहरू कहाँ गोलमेच भन्न रूचाउँछन् र ?

उहिलेको घटना सम्झिन्छु। एकदिन आफ्ना बाबुले थालेको महायज्ञको भुङ्ग्रे आगोमा एक्कासी खुट्टा चिप्लिएर सतीदेवी यज्ञकुण्डमा खसिन्। उनलाई त्यहाँबाट निकाल्ने सहास र शुद्धि कसैलाई भएन। सायद अर्काकी पत्नी छुन हुन्न भनेर हो कि ? उनी बेफ्वाँकमा पोलिइन्। त्यसदिन कामविशेषले त्यो यज्ञस्थलमा जान नभ्याएका महादेव सतीदेवीको वियोगबाट अति नै विक्षिप्त भए। तत्कालै वीरभद्रहरूको सृष्टि गरेर आफ्नै ससुरालीमा विध्वंश मच्चाउन पठाए। रिस पनि कस्तो एकोहोरो त ? त्यहाँ त भवितव्य परेको न थियो। यज्ञकुण्डमा होम गर्न ल्याएको घिउ पग्लिएर पोखिएको थियो। यसले बाटो चिप्लो भएको थियो। सतीदेवीलाई त्यही बाटो भएर दक्षप्रजापतिलाई भेट्न जानुपरेको रहेछ। यजमानलाई खुसी बनाउन गुरुहरूले अग्निदेवलाई अति प्रज्वलन गराएको अवस्था थियो। एक्कासी भएको त्यो दुर्घटनाको परिणाम कति भयावह! यस्तो दुर्घटना नभएको भए वा त्यसपछि महादेवजीलाई त्यसरी अचाक्ली रिस नउठेको भए त वीरभद्रको जन्म हुँदैनथ्यो होला।

म हेर्दै अत्तालिन्छु। तीन चारजनाले मलाई परबाटै खाउँला जस्तो गरेर हेर्छन्। तर सबै हतारमा भएको अनुभूति हुन्छ। तैपनि मलाई पहिले एक जनाको जिम्मा लगाइन्छ। उसले मलाई छामछाम छुमछुम पार्छ। मेरा हरेक अङ्ग नियालेर हेर्छ।

मेरो जन्म चाहिं थोरै नियन्त्रण गर्ने, केही जिम्मेवारीमा बाँध्ने र धेरै चाहिं कर्मको फल चखाउने सोचबाट भएको अनुमान गर्छु। त्यसरी जन्म दिएपछि मेरा जन्मदाताले मलाई अरुका हातमा जिम्मा लगाउँछन्। म बबुरो कति ठाउँ चहार्नुपर्छ। त्यसरी हिंड्दा मैले भोग्नुपर्ने दु:खलाई कसले हेरिदिने हो र ?

मान्छेको अन्तस्करणका भाव मैले बुझ्न पाउँछु। मैले स्यावासी पाउने अवस्था बन्न कम्तीमा आधा दर्जन चरणहरू पूरा गर्नुपर्छ। तर जीवनमा मैले गुनासो धेरै भोगेको छु र स्यावासी चाहिं थोरै पाएको छु।

मेरो जन्मपछि मेरा सादा प्रतिलिपिहरू धेरै बन्छन्। अनि यी चारैतिर बाँडिन्छन्। बाँडिएका तिनै सादा प्रतिहरू मान्छेका हातहातमा पुग्छन्। मान्छेले मलाई घुरेर हेर्छन्। मेरा साना–साना अङ्गहरू केलाउँछन्। सडकमा हिंडिरहेकी युवतीलाई हरेक बटुवाले हेरेजस्तो वा त्यसैगरी हिंडिरहेको अर्को युवकलाई झ्यालबाट युवतीले हेरे जस्तो। मैले यस्तै कर्के, सोझो, मायालु, लोभी वा घृणित सबै खाले दृष्टि बाण झेल्छु।

यसपछि हातमा लिएको मान्छेले मलाई सुमसुम्याउँछ। मेरा अङ्ग–प्रत्यङ्ग विस्तारै खेलाउँछ। मलाई चलाउँछ र कोट्याउँछ। मेरा कुनै अङ्गमा बल लगाउँछ। कुनै अङ्गलाई काटी दिन्छ। कुनै अङ्गलाई लालीपाउडर लगाइदिन्छ। म छक्क पर्छु। ममाथि आफ्ना केही पदचाप र छापको अभिलेख राख्छ पहिलो मान्छे। अनि मलाई अर्को अगुवा कहाँ पठाउन लुगा लगाइदिन्छ। टाँक लगाइदिन्छ। फुलबुट्टा भरिएर म माथिल्लो तलामा जान्छु। माथिल्लो तलामा पुगेपछि त्यहाँका मान्छे कस्ता हुन्छन् मलाई जानकारी हुन्छ। त्यो हेरी त तल्लो तलाका मान्छेले मलाई निकै प्यारो गरेको लाग्छ। सायद म पुलपुलिएको हुन्छु। तर माथि ?

म धकेलिन्छु। म थन्क्याइन्छु पनि। अनि मेरो पहिले काटिएका अङ्गहरू नियालिन्छ। लाली पाउडर लगाएका अङ्गहरू सुमसुम्याइन्छ। उसले लगाएका पदचाप र अभिलेखमा फेरि रफू भरिन्छ। यति गरेपछि ममाथि फेरि केही क्रिम दलिन्छ। यसरी हातले नै थपथपाएपछि मेरो त्यहाँ पनि काम सकिन्छ।

म अब अर्को तलामा उकालिन्छु। तला अग्लोमा त छँदैछ। सायद यो तला अरूभन्दा ठूलो पनि छ। म हेर्दै अत्तालिन्छु। तीन चारजनाले मलाई परबाटै खाउँला जस्तो गरेर हेर्छन्। तर सबै हतारमा भएको अनुभूति हुन्छ। तैपनि मलाई पहिले एक जनाको जिम्मा लगाइन्छ। उसले मलाई छामछाम छुमछुम पार्छ। मेरा हरेक अङ्ग नियालेर हेर्छ। तलकाले भरिएका फुलबुट्टा मात्र होइन देखिएका पदचापहरू पनि कोट्याई कोट्याई हेर्छ। मलाई दुख्छ पनि। तर मेरो बाध्यता, म सहन्छु। उनीहरूले जे गरे पनि चुपचाप निहुरिदिन्छु।

त्यतिबेला कसै कसैले त कस्तो घिनलाग्दो बोल्छन्। मलाई त गाली गरे गरे, विचरा त्यो सबैभन्दा पहिले मलाई सुमसुम्याउने मान्छेलाई आमा चकारी चकारी दुत्कार्छन्। म आहत हुन्छु। तर पनि म उनीहरूको घेराबाट उम्किन सक्दिनँ, न त प्रतिवाद नै। त्यसैले मलाई जे जे गर्छन् सबै सही दिन्छु। मलाई सबैभन्दा पहिले छुने र फुलबुट्टा भर्ने मान्छे मेरो पहिलो प्रेमी जस्तै लाग्न थाल्छ। उसको माया लाग्न थालेछ। विचरा उसले नै त हो मेरो शरीरमा फुलबुट्टा भरेको। मेरा अङ्गहरू चलाएको र मेरो खाली अस्तित्वमा प्राण भरेको। यसपछि नै त म माथिल्ला तलाहरूमा उक्लन सकेको छु।

‘काम चाहिं नगर्ने पूरामा पूरा नै दावी गर्ने। त्यो ढुस मान्छे हो’, एकजनाले भन्छन्। अर्काले थप्छन्, ‘अस्ति मैले तिम्रो लोकल ठाउँको उपहार ल्याउ है भनेको थिएँ। सुनेको नसुन्यै गरेर अहिलेसम्म पनि टारिरहेको छ। मलाई त रत्ति पनि मन परेको छैन।’ मतिर झर्किंदै हेरेको उसको भाव देखेर म कायल बन्छु। आखिर उसले त आफ्नो कर्तव्य निर्वाह गरेको थियो। आफ्नो दावी पेश गरेको थियो होला अथवा गर्नुपर्ने काम गरेको थियो होला। नमिल्ने भए नदिनु। मिल्ने भए दिनु नि! तर मातृवात्सल्यमा प्रहार गरी गरी गाली चाहिं किन गर्नु त ?

विचरा मेरो पहिलो प्रेमीलाई त के थाहा र? गाली हो कि ताली हो अथवा यथार्थ कि कम वा अधिक ? जे भए पनि अहिले नै त थाहा हुने कुरै भएन। मैले सोचें उ यतिबेला मलाई राम्रोसँग सुमसुम्याएको र फुलबुट्टा भरेर मलाई माथि पठाएकोमा सन्तोषको सास फेरिरहेको हुनुपर्छ। आखिर मेरो कल्पना न हो। हुनसक्छ उ पनि उस्तै माथिकालाई गाली नै पो दिंदै छ कि? किनकि उ त झन् तल्लो तलाको बासिन्दा न हो। बुद्धि, विवेक, मर्यादा वा क्षेत्राधिकारमा पनि उ त अझ कच्चा नै ठहर्छ।

मैले म जस्ता छिमेकीका पनि गतिविधिहरू हेरिरहेकै छु। सायद उनीहरूले पनि यस्तै पीडा भोगिरहेका हुँदा हुन्। तर उस्तै सामाजिक परम्परा भए पनि घरहरू अनुसार व्यवहारमा फरक हुन्छ नि! सायद यही भएर होला राज्यको ढुकुटी चलाउनेहरूका घरमा मप्रतिको व्यवहार र तिनलाई सानैदेखि सिकाउने गुरूहरुका घरमा मलाई गर्ने व्यवहारमा धेरै अन्तर देखेको छु मैले।

पहिलो किसिमका तल्ला घरवालाहरूले मलाई निकै प्यारो गर्छन्। समयमै मलाई अंकमाल गर्छन्। आफ्ना कर्मको सूचीसँगै फुलबुट्टा भर्न निकै ध्यान दिन्छन्। माथिल्ला घरमा पठाउन पाउँदा खुशी हुन्छन्। मेरा कारणले भविष्यमा केही राम्रो हुने अपेक्षा गर्छन्। मप्रतिको यस्तो आशा र भरोसा देखेर मलाई पनि खुशी लाग्दो रहेछ।

तर अर्कालाई सिकाउने गुरुघरानाकाहरूले भने म जस्तालाई त्यति महत्व दिन्नन्। यस्तो घरकाहरू कोही कोही मात्र अलिक गम्भीर हुन्छन्। हामीलाई समयमै चुम्छन् र ढुकुटीवालाले जस्तै फुलबुट्टा भर्छन्। अनि हाम्रो यात्रा माथि विश्वास पनि गर्छन्। धेरैजसोले चाहिं समयमा हाम्रो महत्व बुझ्दैनन्। बेवास्ता गर्छन् र पछि पछुताउँछन्। पछुताएर मात्र त केही हुन्न, आगामी दिनमा हामीलाई समयमै अंकमाल गर्ने प्रेरणा पनि लिनुपर्छ नि! तर तीमध्ये कतिपय चाहिं उल्टै अर्काले षडयन्त्र गरेको आरोप लगाएर आत्मपीडामा बस्छन् र प्रतिस्पर्धीलाई बाटो खुला गरिरहन्छन्।

हुनत माथि पठाएर मात्र पनि नहुने रहेछ। त्यहाँ पुगेपछि मलाई गर्ने व्यवहारले मेरो पहिलो प्रेमीको हित हुने वा नहुने निर्धारण गर्ने रहेछ। कसैले मेरै अगाडि मेरो प्रथम प्रेमीलाई दुत्कार्दै मलाई ओल्टाई–पल्टाई गर्छन्। अनि मेरो शरीरमा के के लगाएर अरूसँगै कुनामा कैद गर्छन्। केही समयपछि फेरि मलाई निकालेर कुत्कुती लागुन्जेल मुसार्छन्। त्यतिबेला मलाई मेरो पहिलो प्रेमीको कस्तो याद आउँछ। तर म त अवाक् हुन्छु। उसकै हितको कामना गरेर लुसुक्क बस्छु। यतिबेला मलाई मुसार्ने अरू नै हुन्छन्। यी पनि हतारमै हुन्छन्। तैपनि अलिक गम्भीर र धीर लाग्छ उनीहरू। यतिबेला मलाई कम्तीमा पनि तीन पटकसम्म एउटै क्रियामा लतारिन्छ। म दुखे पनि सहन्छु। मलाई अब थाहा छ मेरो पाँचवर्षे जीवनयात्रा सकिन लागेको छ।

म चुपचाप रहन्छु। हल्ला होइन है यो त गोप्य हुन्छ नि भन्दै ओल्टाई–पल्टाई गर्छन्। म थाहै नपाए जस्तो गर्छु। यसरी पाँचौं पटक पछि म सधैंका लागि त्यागिन्छु। कहिलेकाहीं कुनै दरबारबाट फेरि बोलाहट भयो भने मात्र मैले जानुपर्छ। नत्र अब मेरो प्रयोजन सकिन्छ, चुनावपछि मतदाताको खोजी सकिए जस्तै।

यतिवेला लाग्छ यो जिन्दगी एक यात्रा न रहेछ। कसैलाई यो जिन्दगी कति अपरिहार्य लाग्छ। कसैलाई यसको कुनै मतलब नै हुन्न रहेछ। पटक–पटकको परीक्षण, फुलबुट्टा र ओल्टाई–पल्टाईमा नै जिन्दगी बित्दो रहेछ।

साँच्ची हाम्रो त यसरी बित्छ हामीलाई ओल्टाई–पल्टाई गरिरहनेहरूको जिन्दगीको यात्रा कसरी बित्छ होला ? मलाई कुनै दिन यो पनि जान्ने इच्छा छ। उनीहरूको यात्राका पाइलासँगै अघिपछि गर्दै सदावहार मनस्थिति नियाल्न मन छ। अनि मुस्कुराउँदै उनीहरूलाई प्रश्न गर्न मन छ ‘ए माथ्लाघरे दिग्विजयी प्राणीहरू, अनि तिम्रो जीवनयात्रा चाहिं कसरी चलिरहेछ ?’

म सोच्दैछु, सायद उनीहरूले मेरो प्रश्नको बेवास्ता गर्नेछन्। त्यसपछि म अझ उच्चस्वरमा थप प्रश्न गर्नेछु ‘कि कुनै दिन तिमी पनि प्रयोजनहीन भएर हामी जस्तै थन्किने छौ हँ ?’

यतिबेलासम्ममा एक हूल मेरा सहयात्रीहरू मेरो नजिक आउनेछन्। उनीहरूले पनि समूहमा मसँगै चिच्याउँदै यस्तै प्रश्नहरू दोहोर्‍याइदिनेछन्, ‘साँच्चै भन त महाशय, तिम्रो प्रयोजन कहिलेसम्म ?’

( गौतम शिक्षक सेवा आयोग, सानोठिमीका उपसचिव हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?