+
+
ब्लग :

नोथिङ्ग इज परफेक्ट !

कतिपय मानिस प्रकृति पूर्ण छ, प्रकृति जतिको पूर्ण केही छैन भन्ने ठान्छन् । वास्तविकता त्यो पनि होइन । ब्रह्माण्डका वस्तु तथा जीव जस्तै प्रकृति पनि अपूर्ण छ । त्यसैले ऊ अनावृष्टि, अतिवृष्टि, बाढी–पहिरो, ज्वालामुखी, आँधीबेहरीको रूपमा उपस्थित हुन्छ ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०८० मंसिर १६ गते ८:३५

पूर्णविरामले वाक्य पूर्ण भएको सङ्केत दिन्छ । पूर्णविरामको तात्पर्य हो रोकिनु, थामिनु वा अडिनु । जब पूर्णविराम लाग्छ, गुडिरहेको कलम अडिन्छ । जिन्दगीको यात्रा रोकिन्छ । घडीले टिक्टिक् गर्न छोडेको दिन समयको म्याराथन थामिन्छ ।

नरोकियोस् भन्दाभन्दै रोकिन्छ कदम । सधैं बाँचौं, सधैं नाचौं भन्दाभन्दै मूर्झाउँछ जीवन । त्यसैले होला अंग्रेजीमा एउटा भनाइ छ– ‘नोथिङ्ग इज परफेक्ट !’ अर्थात् कुनै पनि चिज पूर्ण छैन ।

किन्तु पूर्ण के ? अपूर्ण के ? यो, तथ्यमा भन्दा विश्वासमा ज्यादा निर्भर रहन्छ । विश्वासको अगाडि विज्ञान समेत पराजित हुन्छ । तब न अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, मार्कण्डेय, कृप र परशुराम अष्ट चिरञ्जीवी कहलाए । राधाले कृष्णलाई पूर्ण देखिन् । हनुमानले रामलाई पूर्ण माने । गान्धीवादीहरूले गान्धीमा पूर्णत्व देखे । बौद्धिष्टहरूले बुुद्धमा पूर्णताको ठोकुवा गरे ।

त्यसैगरी, हिन्दुहरूले भने वेद पूर्ण । किराँतहरूले मत दिए– मुन्धुम पूर्ण । इस्लामहरू बोले– कुरान पूर्ण । शिखहरूले माने – गुरुग्रन्थ साहिव पूर्ण । जैनहरूले ठाने – समयसार पूर्ण ।

कम्युनिष्टहरूका लागि कम्युनिजम पूर्ण भयो । पूँजीवादीहरूलाई प्रजातन्त्र पूर्ण लाग्यो । भौतिकवादीहरूले विज्ञान पूर्ण माने । धर्मभीरुहरूले अध्यात्म सम्पूर्ण ठाने ।

तर, गान्धी पूर्ण भएका भए सगोत्री युवतीमाथि ब्रह्मचर्य परीक्षण गर्दैनथे । बुद्ध पूर्ण हुँदा हुन् त सुत्केरी श्रीमतीलाई छोडी तपस्या गर्न जाँदैनथे । राम मर्यादा पुरुषोत्तम हुन्थे भने सीतालाई अग्निकुण्डमा होमेर सतीत्व परीक्षण गर्दैनथे । श्रीकृष्ण शान्तिप्रिय हुन्थे भने अर्जुनलाई हतियार उठाउन उक्साउँदैनथे ।

एकथरी भन्ने गर्छन्, जीवनमा मृत्यु छ । त्यसैले जीवन अपूर्ण छ । तिनीहरू अजर–अमरतामा पूर्णत्व देख्छन् । एकैछिन सोचौं, जीवहरू जन्मिने तर नमर्ने भएमा के होला ? उत्तर सहज छ– त्यो प्रथम दृष्टिमै प्राकृतिक नियमको विपरित हुनेछ । प्रकृतिमा उपलब्ध स्रोत–साधन भरणपोषणका निम्ति अपर्याप्त बन्ने छ । यत्रतत्र सर्वत्र झैझगडा, वैमनस्य, मारकाट, महामारी, युद्ध, अशान्तिको कोलाहल मच्चिनेछ ।

कतिपय मानिस प्रकृति पूर्ण छ, प्रकृति जतिको पूर्ण केही छैन भन्ने ठान्छन् । वास्तविकता त्यो पनि होइन । ब्रह्माण्डका वस्तु तथा जीव जस्तै प्रकृति पनि अपूर्ण छ । त्यसैले ऊ अनावृष्टि, अतिवृष्टि, बाढी–पहिरो, ज्वालामुखी, आँधीबेहरीको रूपमा उपस्थित हुन्छ । भुइँचालो, ज्वालामुखी, सुनामी आदिको बीभत्स स्वरूपमा प्रकट हुन्छ ।

आजभोलि भन्न थालिएको छ– मानिसलाई च्याट जीपीटी वा एआईले पूर्णताको विन्दुमा पुर्याउने छ । मानिसले गर्न नसकेका काम एआईले फत्ते गर्नेछ । पूर्ण सत्य यो पनि होइन । खासमा एआई वा च्याट जीपीटीका समेत सकारात्मक र नकारात्मक पाटाहरू छन् ।

पहिलो कुरा त, एआईले मनुष्यभित्रको संवेदनशीलता र भावुकतालाई प्रतिस्थापन गर्न सक्ने छैन । दोस्रो, एआई गैर कानुनी र आपराधिक कार्यहरू गर्नेहरूको सेवक बन्ने सम्भावना त्यतिकै बलियो छ ।

पूर्ण–अपूर्णको बहस ज्ञान, ध्यान, कला–साहित्यको क्षेत्रमा पनि हुँदै आएको देखिन्छ । कतिपय मानिस लियोनार्दो दाभिन्चीको मोनालिसालाई पूर्ण चित्र मान्छन् । त्योभन्दा उत्कृष्ट चित्र अर्को हुन सक्दैन भन्ने ठान्छन् । ज्ञानी, ध्यानी र पण्डितहरू काम, क्रोध, लोभ, मोहबाट मुक्त हुन्छन् भन्ने मान्यता राख्छन् । जुन सर्वथा असम्भव कुरा हो ।

धर्मग्रन्थ तथा पुराणहरूमा चक्रवर्ती सम्राटहरूको कथा आउँछ । ‘चक्रवर्ती सम्राट’ अर्थात् धर्तीका सात द्वीपका अधिपति ! वेद–पुराणमा भरत, राम, युधिष्ठिर लगायत १६ चक्रवर्ती सम्राटले शासन गरेको कथानक आउँछ ।

वेद–पुराण यो पनि भन्छ– ‘सत्ययुग सत्यले परिपूर्ण थियो । असत्यको नामोनिशान थिएन । जब त्रेता अनि द्वापर आयो सत्यको अंश घट्दै गयो । कलियुग पापै पापको बेलुन हो ।’ अपितु सत्य युगमा पनि राजाका सेना थिए । जीउधनको सुरक्षा गर्न प्रहरीहरू राखिन्थे ।

उतिबेला पनि गाई, सुन लगायत बहुमूल्य वस्तु वा धातुको चोरी डकैती हुन्थ्यो । अपराधीलाई थुन्न जेल बनाइन्थ्यो । सत्ताद्रोह गर्नेलाई मृत्युदण्ड दिइन्थ्यो । सदवाको सिउँदो पुछिन्थ्यो । देवासुर संग्राम, राम–रावण, कौरव–पाण्डव युद्धहरू सत्य, त्रेता, द्वापरमै लडिएका थिए ।

हिन्दुहरूले ‘सत्यम् शिवम् सुन्दरम्’ को भजन बनाए । शिवलाई सत्य र सुन्दरताको मानक ठाने । शिवभन्दा सत्य, शिवभन्दा सुन्दर कोही छैनन् भन्दै कीर्तन गाए । तर मनोजन्य सत्यहरू विश्वासमा अडेका हुन्छन् । विश्वासको अगाडि विज्ञान समेत आत्मसमर्पण गर्न बाध्य हुन्छ ।

समूह–सम्प्रदायपिच्छेका फरक–फरक विश्वास छन् । चिन्तनहरू छन् । ‘वादे वादे जायते तत्वबोध’ भन्दै बहसलाई खुला राख्नुपर्दथ्यो हामीले । किनकि मन्थनले मानव जातिलाई माथि उठाउँछ । तर केही मानिस सिक्काका दुई वटा पाटा हुन्छन् भन्ने बिर्सन्छन् ।

त्यसैले, इस्लामहरूका लागि पैगम्बर मोहम्मद सत्य भए । क्रिश्चियनहरूका निम्ति येशु ख्रिष्ट सत्य मानिए । यहुदीहरूका निमित्त यहोवा सत्य ठहरिए । साथै बौद्धका निम्ति बुद्ध, शिखहरूका लागि नानक, जैनहरूका निमित्त अरिहन्त–महावीर, चार्बाकका नजरमा बृहस्पति, पारसीहरूका आँखामा जराथुष्ट्र अन्तिम सत्य कहलाए ।

पौराणिक कहानीहरूमा ऋषि दुर्वासाको नाम आउँछ । दुर्वासा रिसाहा थिए । उनी रिसाएपछि अनिष्ट आइलाग्थ्यो । ऋषि अनि रिसाहापन ! कति धेरै विरोधाभास ! ऋषिमुनिहरू त सहनशील हुनुपर्ने । माया, दया, करुणाका खानी हुनुपर्ने । किन त्यस्तो भएन ?

धर्मग्रन्थ साक्षी छ, ‘भगवान् विष्णु’ले जालन्धर पत्नी वृन्दामाथि छल गरे । चन्द्रमाले गुरु पत्नी गमन गरी नैतिकताको धज्जी उडाए । भगवान त जगतका रक्षक हुनुपर्ने भक्षक कसरी भए ?

यहाँ समूह–सम्प्रदायपिच्छेका फरक–फरक विश्वास छन् । चिन्तनहरू छन् । ‘वादे वादे जायते तत्वबोध’ भन्दै बहसलाई खुला राख्नुपर्दथ्यो हामीले । किनकि मन्थनले मानव जातिलाई माथि उठाउँछ । तर केही मानिस सिक्काका दुई वटा पाटा हुन्छन् भन्ने बिर्सन्छन् । अनि स्व–विश्वास विरुद्ध प्रश्न उठाउनेका गालामा झाप्पु हान्न उद्यत हुन्छन् ।

कुरा जेसुकै होस्, आफूले मानेको सत्यको पक्षमा पहरो झैं खडा हुँदै आयो मानिस । त्यो विरुद्ध औंला उठाउनेको हात काट्न तम्तयार भयो मानिस । सत्य–धर्म रक्षाको बहानामा इतिहासमा अनगिन्ती युद्धहरू लडिए । देव–असुर, राम–रावण, कौरव–पाण्डव, क्रुसेड, प्रथम–द्वितीय विश्वयुद्ध, हिटलर–यहुदी, अरब–इजराइल लडाइँमा अर्बाैं मानिस मारिए ।

हामीमा आफूले समर्थन गरेको राजनैतिक विचार वा प्रणाली मात्र ठीक अरू सबै बेठीक भन्ने मनोरोग पनि छ । तर संयुक्त राज्य अमेरिकाको संविधान होस् या भारत, क्युवा, चीन, बेलायतको शासन विधान । विश्वका कुनै पनि संविधान शतप्रतिशत पूर्ण होइनन् । मनुष्य खुद अपूर्ण छ भने उसद्वारा रचित वस्तु वा प्रणाली पूर्ण हुन्छ भनेर कसरी मान्नु !

चौधौं शताब्दीमा युरोपको इटलीबाट आरम्भ भएको पुनर्जागरण सोह्रौं शताब्दीसम्म चल्यो । जसले समग्र युरोप र शेष विश्वलाई एक नयाँ दिशा दियो । दर्शन, विज्ञान, कला–साहित्य लगायत क्षेत्रमा युगान्तकारी परिवर्तनहरू भए ।

त्यसैगरी १८औं शताब्दीदेखि १९औं शताब्दीसम्म चलेको औद्योगिक क्रान्तिले विश्व–मानचित्रको अनुहार बदलिदियो । विज्ञान, प्रविधि लगायत यावत् क्षेत्रमा चमत्कारको बाढी नै आयो । फलतः बीसौं शताब्दीको अन्त्यतिर मानिसहरू भन्न थाले– विज्ञान र प्रविधिको जेजति विकास हुनुथियो भइसक्यो । संसार त्योभन्दा अघि बढ्ने ठाउँ छैन ।

वास्तविकता त्यहाँ पनि मेल खान सकेन । किनकि विश्वमा आज पनि विज्ञानले नयाँ–नयाँ चमत्कार देखाइरहेको छ । हरेक दिन प्राविधिक विकासका आश्चर्यजनक समाचार सार्वजनिक भइरहेका छन् । र त्यो गति दिन दुगुना रात चौगुना अघि बढिरहेको छ । जुन मानव जातिको अस्तित्व रहेसम्म रोकिने छैन ।

सम्भव छ, त्यतिबेला मानव जाति अन्य ग्रहमा स्थानान्तरित हुनेछन् । ब्रह्माजी त्यस ग्रहमा बसेर ‘सृष्टिको कथा अपुरो रचेको’ स्वीकार गर्दै विज्ञानसँग हात मिलाइरहेका हुनेछन् । हरारीहरू ‘ब्रिफ हिष्ट्री अफ ह्युमन काइण्ड’को नयाँ संस्करण लेखिरहेका हुनेछन् । जोन किट्स अनि मिल्टनहरू ब्रह्माण्डको गहिराइ नाप्दै मधुमयी कविता रचिरहेका देखिनेछन् । मोजार्टहरू तिनका कवितालाई गीतमा ढाल्दै कर्णप्रिय धुन भरिरहेका भेटिनेछन् ।

अपितु त्यतिबेला पनि मानिस अपूर्ण नै रहनेछ । उसले छुने हरेक उचाइसँगै अपूर्णताका नवीन क्षितिजहरू देखिंदै जानेछन् । अनि त्यस दिन सबैले एकै स्वरमा भन्ने छन्– पूर्णता एक दिग्भ्रम हो । ‘चाँद में दाग है ! सूरज में आग है ! नोवडी इज परफेक्ट ! नोथिङ्ग इज परफेक्ट !’

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?