+
+

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १६:३९

२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने भएको छ ।

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादीका मुख्य सचेतक हितराज पाण्डेका अनुसार संसदीय दलको बैठकमा सोमबार १६ जना र मंगलबार ८ जना सांसदले धारणा राखेका थिए । अधिकांशले राष्ट्रिय सभाको अध्यक्षमा पार्टीले उम्मेदवार खडा गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने तर्कहरुसहित प्रस्तुत भएका छन्’ मुख्य सचेतक पाण्डेले अनलाइनखबरसँग भने, ‘अध्यक्ष प्रचण्डले सांसदहरुको भनाइमा समर्थन जनाउँदै सत्ता गठबन्धनमा रहेका अन्य दलहरुसँग छलफल गर्ने बताउनुभएको छ ।’

बैठकमा सांसदहरुले माओवादी राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल भएको भन्दै आलोपालो प्रधानमन्त्री गरेमा माओवादी केन्द्रको उपस्थिति संवैधानिक परिषदमा नरहने विषय स्मरण गरेका छन् ।

साथै, राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादीको उम्मेदवार पराजित हुन पुगेको र त्यसमा कांग्रेसभित्रको अन्तरविरोध कारण रहेको उल्लेख गर्दै यस घटनाका आधारमा पनि माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

‘अध्यक्ष प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षमा हाम्रो उम्मेदवार रहन्छ र यस सम्बन्धमा गठबन्धनमा गम्भीर ढंगले छलफल गर्छु भन्नुभएको छ’ माओवादीका एक सांसदले अनलाइनखबरसँग भने ।

राष्ट्रिय सभाको अध्यक्षमा दाबी गर्ने निचोडमा पुगेतापनि औपचारिक निर्णय भने माओवादी केन्द्रले लिएको छैन । गत माघ ११ गते भएको राष्ट्रिय सभाको निर्वाचनबाट विजयी सबै सदस्यहरुलाई बधाइ दिने विषय भने संसदीय दलको औपचारिक निर्णयमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?