+
+

युट्युब ट्रेन्डिङमा एलिना चौहानको ‘कट्टा हान्दिन्छु’देखि सुशान्त केसीको ‘पर्ख न’सम्म

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १६:४८

काठमाडौं । पछिल्लो साता पनि युट्युबको नेपाल ट्रेन्डिङमा एलिना चौहान र खेम सेञ्चुरीको गीत ‘कट्टा हान्दिन्छु’को शीर्षस्थानमा छ । दुई साताअघि स्ट्रिमिङ भएको यो गीत म्युजिक खण्डतर्फ ट्रेन्डिङ भइरहेको छ ।

यो गीतलाई अहिलेसम्म ४८ लाख पटक हेरिएको छ । गायक विश्वराम कार्कीले यो गीत आफ्नो रचना ‘कट्टा हान्दिन्छु’बाट हुबहु मिलेको भन्दै चोरीको आरोप लगाएपछि चर्चामा छ ।

‘सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु’ भन्ने वाक्य दुवै गीतमा उल्लेख भएपछि निर्माताबीच आरोप-प्रत्यारोप चलेको छ । ओबी रायमाझीले गीत संयोगवश थोरै मिलेको प्रतिक्रिया केही मिडियालाई दिएका छन् ।

कार्कीले ६ दिनअघि रिलिज गरेको नयाँ गीतको बोल पनि ‘कट्टा हान्दिन्छु’ छ, जहाँ जयकिशन बस्नेत र राजेन्द्र खड्गी फिचर्ड छन् । यो गीतलाई साढे ५ लाख पटक हेरिएको छ । यो गीत ट्रेन्डिङको दशौं स्थानमा छ ।

सुशान्त केसीको नयाँ गीत ‘पर्ख न’ ट्रेन्डिङको दोस्रो स्थानमा छ । चार दिनअघि रिलिज भएको यो गीतले भ्यालेन्टाइन्स मुड सिर्जना गर्ने अपेक्षा गर्न सकिन्छ । सम्बन्धको जटिलतालाई केसीले यो गीतमा प्रस्तुत गरेका छन् ।

तीन साताअघि रिलिज भएको उर्गेन दोङको ‘तामाङ दाइ’ ट्रेन्डिङको तेस्रो स्थानमा छ । यो गीतलाई ३२ लाख पटक हेरिएको छ । चौथो स्थानमा पछिल्लो समय भाइरल बनिरहेकी बेनिशा शंकरको गीत ‘फर्की आऊ साइँला’ छ । युट्युबर भोजराज थापाले एक मेलामा भेटिएकी किशोरीलाई गायनका लागि पहल गरेका थिए । बेनिशाको यो गीतलाई चार लाख पटक हेरिएको छ ।

पाँचौं स्थानमा याबीको र्‍याप गीत ‘बाजीगर’ ट्रेन्डिङमा भइरहेको छ । धेरैपछि नेपाली र्‍याप युट्युबमा ट्रेन्डिङ भइरहेको हो । दुई साताअघि रिलिज भएको प्रमोद खरेलको ‘तिम्रो मन बदलियो’ म्युजिकतर्फ ट्रेन्डिङको सातौं स्थानमा छ ।

शान्तिश्री परियारको नयाँ गीत ‘नसोध पिर के को’ ट्रेन्डिङको आठौं नम्बरमा छ । समग्रमा यो साता नेपाली युट्युब ट्रेन्डिङको टाइमलाइनमा सफ्ट पप, सुगम, हिपहप र केही विदेशी गीत ट्रेन्डिङमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?