+
+

टेलिकम एक्लैले हल्लाउँछ सेयर बजार, झुक्याइन्छ लगानीकर्ता

नेपाल टेलिकमको सेयर १० प्रतिशत बढ्यो भने १० अंक बढ्छ नेप्से

कमल नेपाल कमल नेपाल
२०८० माघ २४ गते १८:२४

२४ माघ, काठमाडौं । सोमबार नेपाल टेलिकमको सेयर मूल्य १० प्रतिशत बढेका दिन समग्र सेयर बजारको परिसूचक नै १४ अंक बढ्यो । त्यो १४ अंकको वृद्धिमा नेपाल टेलिकमको मात्रै योगदान १० अंक देखिन्छ ।

टेलिकमको सेयर मूल्य अन्तिम १ मिनेटमा अकस्मात् १० प्रतिशत बढेपछि नेप्से पनि अन्तिम मिनेटमा मात्रै १२ अंक सुधार भएको थियो । सोमबार अन्तिम १ मिनेटमा नेपाल टेलिकम र नेप्सेको वृद्धिदर उस्तै अनुपातमा रह्यो ।

एउटा कम्पनीको मूल्यले मात्रै समग्र बजारलाई बढाउने क्षमता राख्ला ? धेरैलाई यो अपत्यारिलो लागे पनि नेपाल टेलिकमले धेरै क्षमता राख्छ । अर्थात् नेपाल टेलिकमको सेयर मूल्य उच्च दरमा बढेमा वा उच्च दरमा घटेमा समग्र बजारलाई नै बढाउने वा झार्न सक्ने क्षमता छ । कसरी त्यस्तो क्षमता बन्यो टेलिकमको ? त्यसका लागि सबैभन्दा पहिले बुझ्नुपर्छ पूँजीकृत रकम र यसको हिसाव । पूँजीकृत रकममा हुने परिवर्तनले नै नेप्से घटबढ हुने हो ।

सूचीकृत सबै सेयरको पछिल्लो मूल्य नै पूँजीकृत रकम हो । उदाहरणको रुपमा, सेयर बजारमा नेपाल टेलिकमको १८ करोड कित्ता सेयर सूचीकृत छ, बुधबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ८९० रुपैयाँ छ । यसको कुल पूँजीकृत रकम (१८ करोड × ८९०) १ खर्ब ६० अर्ब २० करोड हुन आउँछ । पूँजीकृतका आधारमा टेलिकम सबैभन्दा शक्तिशाली कम्पनी हो ।

यो त भयो टेलिकमको पूँजीकृत रकम । अब बजारमा सूचीकृत सबै कम्पनीका सबै सेयरहरुको मूल्य (कुल पूँजीकृत रकम) बुधबारसम्म ३२ खर्ब ८६ अर्ब रुपैयाँ छ । सबै कम्पनीहरुको पूँजीकृत रकममा टेलिकमको मात्रै हिस्सा मात्रै ४.८६ अर्थात् (१ खर्ब ६० अर्ब÷३२ खर्ब ८६ अर्ब × १००) हुन आउँछ ।

पूँजीकृत रकमकै आधारमा नेप्से घटबढ हुन्छ

पूँजीकृत रकम बढेका आधारमा नेप्से परिसूचक बढ्ने हो । पूँजीकृत रकम घट्दा नेप्से घट्ने हो । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ३० माघ २०५० देखि सबै कम्पनीको पूँजीकृत रकमलाई १ सय आधार मानेर नेप्से गणना सुरु भएको हो ।

मानौं, सो दिन १० अर्ब पूँजीकृत रकम थियो र भोलिपल्ट पूँजीकृत रकम १० अर्ब २० करोड पुग्यो भने नेप्से पनि २ प्रतिशत बढेर १०२ अंक पुग्यो ।

(सूत्र : पछिल्लो पूँजीकृत रकम×१००÷अघिल्लो दिनको पूँजीकृत रकम अर्थात् १०.२०×१००÷१०) = १०२ त्यसपछि कारोबारपिच्छे समायोजित अंकका आधारमा नेप्से गणना हुँदै गएको हो ।

त्यसैले पूँजीकृत रकम घटबढ भएकै आधारमा नेप्से घटबढ हुने हो । कुनै दिन अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि नेप्से घटेको हुन्छ भने कुनै दिन अधिकांश कम्पनीको मूल्य घट्दा पनि नेप्से बढेको हुन्छ । तर कुल पूँजीकृत रकम बढ्दा नेप्से घट्ने हुँदैन । टेलिकम उच्च पूँजीकृत भएको कम्पनी भएकाले कुल पूँजीकृत रकममा पनि यसले धेरै घटबढ गराउन सक्छ ।

टेलिकम १ प्रतिशत बढ्दा नेप्से बढ्छ १ अंक

हालको अवस्थामा सबै कम्पनीको मूल्य स्थिर रहेर टेलिकमको मूल्य मात्रै १० प्रतिशत बढ्यो भने नेप्से ०.५ प्रतिशत बढ्छ । पूँजीकृत रकमको हिसावले यो निकाल्न सकिन्छ । मानौं, कारोबार सुरु हुँदा टेलिकमको मूल्य ९ सय छ भने सो कम्पनीको पूँजीकृत रकम १ खर्ब ६२ अर्ब हुन्छ । अब १० प्रतिशत मूल्य बढ्दा प्रतिकित्ता ९९० रुपैयाँ मूल्य हुन आउँछ भने कम्पनीको कुल पूँजीकृत रकम १ खर्ब ७८ अर्ब २० करोड हुन आउँछ ।

टेलिकमको मूल्य ९ सय हुँदा बजारको कुल पूँजीकृत रकम ३२ खर्ब भएको अवस्थामा टेलिकमको मूल्य १० प्रतिशत बढेपछि पूँजीकृत रकम १६ अर्ब २० करोड थपिन्छ । कुल पूँजीकृत रकम ३२ खर्ब १६ अर्ब २० करोड हुन आउँछ अर्थात् पूँजीकृत रकम ०.५० प्रतिशत बढ्छ । अरु सबै कम्पनी स्थिर रहेको अवस्थामा टेलिकमको मूल्य १० प्रतिशत बढ्दा नेप्से परिसूचक पनि ०.५० प्रतिशत बढ्छ । हाल नेप्सेको अंक २ हजारमाथि छ ।

२ हजार अंकको ०.५० प्रतिशत भनेको १० अंक हो । त्यसकारण हालको अवस्थामा अन्य कम्पनीको मूल्य स्थिर रहेको अवस्थामा टेलिकमको मूल्य १० प्रतिशत बढ्दा समग्र बजार औसतमा १० अंक बढ्छ । सोमबार पनि भएको यस्तै हो । टेलिकमको मूल्य १० प्रतिशत बढ्दा नेप्सेलाई मात्रै १० अंकको योगदान पुग्यो । यही हिसावले पुष्टि हुन्छ कि टेलिकम सेयर बजारको शक्तिशाली कम्पनी हो, टेलिकमको १० कित्ता सेयर मात्रै किनबेच हुँदा समग्र बजार नै हल्लिन्छ । शक्तिशाली कम्पनीमार्फत समग्र बजारमा चलखेल गर्ने बाटो दिइएको छ ।

टेलिकममार्फत चलखेल सम्भव छ ?

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले कुनै पनि कम्पनीको जारी पूँजीको १० प्रतिशतभन्दा कम सेयर सर्वसाधारणलाई जारी गर्न नपाउने उल्लेख छ । तर, सम्बन्धित नियामक निकायले अन्यथा तोकेकोमा भने त्यो गर्नु नपर्ने पनि नियमावलीले व्यवस्था गरेको छ । सोही सुविधालाई उपयोग गर्दै टेलिकमले सर्वसाधारणलाई ८ दशमलव ४७ प्रतिशत सेयर मात्रै जारी गरेको छ । यससम्बन्धी निर्णय मन्त्रिपरिषद्ले नै गरेको हो ।

कम्पनीको कुल १८ करोड कित्ता सेयर सूचीकृत भए पनि जम्मा १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारण समूहको छ । यही १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर मात्रै बजारमा कारोबार हुन सक्छ । बाँकी रहेको १६ करोड ४७ लाख ५४ हजार कित्ता सरकारी स्वामित्वमा छ, जुन बजारमा कहिल्यै कारोबार हुँदैन । तसर्थ कारोबार हुने सेयर संख्या थोरै भएकाले धेरै हदसम्म टेलिकमको सेयर आपूर्ति नियन्त्रणमा छ ।

एकातिर आपूर्ति नियन्त्रण, अर्कोतिर त्यहीं कम्पनीले समग्र बजारलाई सबैभन्दा धेरै चलाउन सक्ने क्षमता हुनुले टेलिकम चलखेल कम्पनी बन्न सक्ने जोखिम छ । निश्चित समूहले टेलिकमको मूल्य घटाएर वा बढाएर समग्र परिसूचक बढेको वा घटेको भ्रम पारेर लगानीकर्तालाई झुक्यानमा पार्न सक्छन् ।

सेयर बजारका जानकार तथा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट सेयर बजारमा लाग्ने लगानीकर्ता नै पहिले सचेत र सजग हुनुपर्ने बताउँछन् । कम्पनीहरुको मूल्य घटबढले नै सूचकहरु चल्ने भएकाले अरुभन्दा मूल्यभार बढी हुँदैमा चलखेल हुन्छ भनेर बुझ्न नहुने उनले बताए ।

‘नेप्से घटबढमा कस्ता कम्पनीको भूमिका हुन्छ, के हुँदा नेप्से घटबढ हुन्छ भन्ने विषय त लगानीकर्ताले बुझ्नुपर्ने आधारभूत विषय हो,’ उनले भने, ‘त्यसकारण बुझेर, अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ ।’

ठूला लगानीकर्ताका आफ्ना रणनीति हुने भएकाले नेप्सेको सूचक मात्रै नभई अन्य समूहगत सूचक तथा कम्पनीका सूचकहरु बढी महत्वपूर्ण हुने उनले बताए ।

‘मूल्यभारमा आधारित बजार भएकाले मूल्यभार धेरै भएका कम्पनीले नै बजारलाई बढी असर पार्छ’ उनले भने । अन्य मुलुकहरुमा साधारण र संस्थापक भनेर छुट्टाछुट्टै सेयर संरचना नहुने तर नेपालमा संरचना छुट्याइएकाले यस्तो समस्या रहेको उनले बताए ।

हाल भइरहेको गणना विधि नै अन्तर्राष्ट्रियस्तरको रहेको नेप्सेका प्रवक्ता पराजुलीले बताए । ‘एसएण्ड पी ५०० को गणना पनि यही मूल्यभारमा आधारित सूचक हो,’ उनले भने, ‘संस्थापक सेयरमा परेको मूल्य प्रभाव नहेर्नेले फ्लोट इन्डेक्स हेर्न सक्छन् ।’

समग्रमा साधारण सेयरहरुको सूचकलाई फ्लोट इन्डेक्सले जनाउँछ, त्यसकारण साधारण सेयरको उतारचढाव हेर्न लगानीकर्ताले फ्लोट इन्डेक्सलाई अध्ययन गर्न सक्ने उनले बताए ।

नेप्से वा फ्लोट इन्डेक्सबाहेक सबै समूहका छुट्टाछुट्टै इन्डेक्स छन् । समूहगत इन्डेक्ससँगै कम्पनीकै अवस्था बुझेर लगानी गर्नुपर्ने आवश्यकता रहेकाले नेप्सेको अंकलाई मात्रै लगानीको आधार बनाउन नहुनेमा जानकारहरुको सुझाव छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?