+
+
Shares

नेपाल टेलिकमको पहिलो त्रैमासिक नतिजा : आम्दानी र मुनाफा दुवै घटे

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते ७:२०

१ मंसिर, काठमाडौं । नेपाल टेलिकमले आव २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आम्दानी र मुनाफामा गिरावट आएको जनाएको छ । कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।

कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशत रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ (५.८९ प्रतिशत) ले घटेको हो ।

मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२.२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।

कम्पनीका अनुसार यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा  ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा ६७ करोड १५ लाख ७८ हजार (अर्थात् १८.९०  प्रतिशत) ले कमी भएको हो ।

यसैगरी यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म खुद मुनाफा  १  अर्व ३२ करोड ५१ लाख ७५ हजार रुपैयाँ छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ९० हजारको तुलनामा ४१ करोड ४४ लाख १५ हजार (अर्थात्  २३.८२ प्रतिशत) ले कमी भएको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

आय र नाफामा गिरावटका प्रमुख कारण

कम्पनीका अनुसार, वित्तीय सूचक घट्नुका केही मुख्य कारण यसप्रकार छन् –

१. ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको तुलनामा करिब  १० करोड ९७ लाख ४२ हजार (अर्थात् १७.२९ प्रतिशत) ले कम भएको छ ।

२. बजारमा व्याजदरमा ह्रास आएकोले मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ५० करोडले घट्नुको कारण व्याज आम्दानीमा ४९ प्रतिशतले कमी आएको छ ।

३. कर्मचारी सुविधा खर्चतर्फ कर्मचारी बीमा खर्च १.९५ करोडले बढेको छ भने कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको दायित्व हिसाबको गणनाको लागि प्रयोग भएको डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट ७ प्रतिशत भएकोले कर्मचारी अवकाश सम्बन्धी खर्च १६.५ करोडले बढेको छ, जसका कारण कुल कर्मचारी खर्चमा ८.८ करोडले वृद्धि भएको छ ।

नेपाल टेलिकमले राष्ट्रको सञ्चार भएकाले आर्थिक चुनौतीका बीच सेवा सुधार र आधुनिकीकरणका योजनामा निरन्तर अघि बढिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?