
२ असोज, काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा विशेष ‘अफर’ घोषणा गरेको छ ।
नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा घोषणा गरिएको विशेष अफर आज असोज २ गतेदेखि असोज ४ गतेसम्म लागू हुनेछ ।
यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ ।
यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने ६ जिबी डेटा, रु १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा, रु २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जिबी डेटा र रु ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमले यही अफरअन्तर्गत रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ पनि लिन सकिने जनाएको छ ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा र २०० ‘अल नेट एसएमएस’ सुविधा उपलब्ध हुनेछ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याकेज’ वा ३० ‘जिबी डाटा प्याकेज’ लिएमा मासिक रूपमा बुझाउनुपर्ने ‘रेन्टल चार्ज’बाटै यो शुल्क काटिने सुविधासमेत उपलब्ध छ ।
यसअघि नेपाल टेलिकमले जेनजी आन्दोलनका बेला तीन दिनसम्म नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको थियो ।
प्रतिक्रिया 4