+
+
Shares

सञ्चार सचिव अर्यालको सरुवापछि टेलिकम बिलिङको ठेक्का रद्द

सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएपछि अन्ततः नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीसम्बन्धी ठेक्का रद्द गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएपछि नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीको ठेक्का रद्द गरेको छ।
  • नेपाल टेलिकमले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरेर बिलिङ प्रणालीको ठेक्का रद्द भएको जानकारी दिएको हो।
  • सञ्चार मन्त्रालयले गठन गरेको अध्ययन समितिले बिलिङ प्रणालीको टेण्डरमा मिलेमतो र खरिद कानुन उल्लंघन भएको निष्कर्ष निकालेको छ।

४ माघ, काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्याललाई जिम्मेवारीबाट हटाएपछि अन्ततः नेपाल टेलिकमले आफ्नो बिलिङ प्रणालीसम्बन्धी ठेक्का रद्द गरेको छ ।

नेपाल टेलिकमले आइतबार गोरखापत्रमा सूचना प्रकाशित गरेर आफ्नो बिलिङ प्रणालीको ठेक्का रद्द भएको जानकारी दिएको हो ।

आफू सरुवा भएपछि शुक्रबार सचिव राधिका अर्यालले टेलिकमकी कामु प्रवन्धनिर्देशक सबिना मास्के प्रधानलाई टेण्डर रद्द गर्न निर्देशन दिएकी थिइन् । सञ्चार सचिव नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्ष हुने व्यवस्था छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत मंसीरको पहिलो साता गठन गरेको अध्ययन समितिले नेपाल टेलिकमको बिलीङ प्रणालीको टेण्डरमा मिलेमतो भएको र त्यसले प्रचलित खरिद कानुनको बर्खिलाप गरेको निष्कर्ष निकालेको छ ।

अध्ययन समितिले आफ्नो प्रतिवेदनमा खरिद प्रक्रियाकै सेटिङ भएको संकेत गरेको थियो । कम्पनीको नामै किटेर टेण्डर कागजात बनाउदा प्रतिस्पर्धा साँघुरिएको उसको निष्कर्ष थियो । नेपाल टेलिकमले पूर्व प्रवन्धनिर्देशक समेत रहेका १० औ तहका कर्मचारी डिल्ली अधिकारीको नेतृत्वमा बिलिङ प्रणालीको ठेक्कासम्बन्धी कागजात तयार पार्न समिति गठन गरेको थियो ।

बिलिङको टेण्डरमा सचिव अर्यालको निकै चासो र रुची थियो । पूर्वसचिव मणिराम गेलालको नेतृत्वमा गठन भएको सात सदस्यिय समितिले टेलिकमको बिलिङ टेण्डरका क्रममा कागजात सार्वजनिक गर्दा सार्वजनिक खरिद कानुनको उल्लंघन भएको निष्कर्ष निकालेको थियो ।

सन् २०१९ मा तयार पारिएको अहिलेको बोलपत्रको डिजाइन नयाँ र अद्यावधिक नभएको भन्दै समितिले बोलपत्र निर्माण समिति गठनमा समेत प्रश्न उठाएको थियो । नेपाल टेलिकमको बिलिङ टेण्डरमा अनियमितता भएको भनी अख्तियारले दायर गरेको भ्रष्टाचारमुद्दा विशेष अदालतमा विचाराधीन छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?