News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको केवाईसी क्युआर कोडबाट अपडेट गर्ने परीक्षण सुरु गरेको छ।
- टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशक इन्दल यादवले परीक्षण संयुक्त रुपमा गरे।
- पहिलो चरणको परीक्षण दूरसञ्चार कार्यालय सुन्धाराबाट सुरु गरिएको र सफलतापछि उपत्यका र बाहिर विस्तार गरिनेछ।
२३ पुस, काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको ग्राहक विवरण (केवाईसी) क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कायको परीक्षण गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो ।
सो सम्बन्धी परीक्षण कार्यको टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौंका निर्देशक इन्दल यादवले संयुक्त रुपमा गरे ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेले टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भूमिका खेल्ने अपेक्षा गरे । प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गरे ।
हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकले ग्राहक सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने छन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
हाल पहिलो चरणको परीक्षणको क्रममा क्युआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुनेछ ।
पहिलो चरणमा दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षण प्रारम्भ गरिएको र सो परीक्षणको सफलता पश्चात क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र उपत्यका वाहिरका कार्यालयहरुमा समेत यो सुविधा उपलब्ध हुनेछ ।
प्रतिक्रिया 4