+
+

सभामुखलाई प्रश्न : सांसदको दुई दिनको हाजिरी खै ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १८:४१

२४ माघ, काठमाडौं । प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु हुनु अगाडि सभामुख देवराज घिमिरेले सांसदहरुको दैनिक हाजिरी सार्जजनिक गर्ने घोषणा गरेका थिए । उनको प्रस्तावलाई सोमबार प्रतिनिधि सभा बैठक अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको थियो ।

तर, सोमबार र बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी सदस्यको हाजिरी सार्वजनिक भएको छैन । दुबै बैठकमा को सांसद उपस्थित भए, को भएनन् भन्ने विषयमा संसद सचिवालयले सार्वजनिक जानकारी गराएको छैन ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरी प्राविधिक कारणले सांसदहरुको हाजिरी सार्वजनिक हुन नसकेको बताउँछन् । उनी भन्छन्, ‘प्राविधिक रुपमा थप कार्य गर्न बाँकी रहेकाले माननीयहरुको हाजिरी सार्वजनिक हुन नसकेको र यथाशीघ्र सार्वजनिक गर्ने गरी काम भइराखेको छ ।’

सांसदहरुको विद्युतीय हाजिरी भने सुरु भएको छ । सांसदहरुको विद्युतीय हाजिरीका लागि बानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ । सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिन जडान गरिएको छ ।

अधिवेशन सुरु हुनु अगाडि नै संसद सचिवालयले विद्युतीय हाजिरीका लागि दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरेको थियो । भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको भने विद्युतीय हाजिरीको विवरण लिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?