+
+

नकारात्मक टिप्पणीले गाँजेको हाम्रो समाज

हाम्रो मनोविज्ञान बडो विचित्रको छ । आफू ऐना हेर्दैन तर अरूलाई ऐना देखाउन मन पराउँछ ।

दिनेश पोखरेल दिनेश पोखरेल
२०८० माघ २५ गते १२:०३

विगत केही वर्षयता नेपाली समाज चिया-चौतारी, कोठा-चोटा, गाउँ-शहर, देशभित्र-देशबाहिर, राजनैतिक मैदान एवं सबै क्षेत्रमा सुनिने बोलिने र देखिने नकारात्मक टिप्पणी देख्दा लाग्छ हामी नेपाली अझ धेरै वर्ष यस्तै दुःख र कष्टबाट बाहिर निस्कन सक्ने छैनौं ।

सञ्चारमाध्यम होस् या सामाजिक सञ्जाल जताततै हाम्रो बाल वा युवा पुस्तालाई आफ्नो देश, समाज, राजनैतिक संस्कृति आदिबाट विमुख गराउन सहयोग पुग्ने गरी नकारात्मक टिप्पणीको बाढी नै आइरहेको देखिन्छ ।

यसमा अझ उदेकलाग्दो त के छ भने आफू बाहेक अरू सबै नेता नराम्रा भन्ने आशयका भाषण ठोक्ने नेता, अकुत सम्पत्ति जोडिसकेर आलिसान महलको छतमा बसी नेताले देश बिगारे भन्ने पूर्व वा वर्तमान प्रशासक, विभिन्न कारणले विदेशिएका गैरआवासीय नेपाली, जिन्दगीदेखि विरक्तिएर साधु बनेका सन्तहरू, पञ्चायती व्यवस्थाले उत्पादन गरेका धार्मिक मठाधीशहरू, नेताहरूको फेरो समाएर राज्य संचालनमा तर मारेका मनोनितहरू नै नकारात्मक टिप्पणी गर्न अघि सर्छन् ।

पञ्चायती व्यवस्थाको अन्तिम अवस्थादेखि अहिलेको गणतन्त्रको कार्यान्वयनसम्मका करिब चालीस वर्षको हाम्रो अवस्था भोग्ने धेरै नेपाली त जीवित नै छन् । त्यो समय र यो समयको अवस्था र परिस्थितिको विश्लेषण गरी आफ्नो धाराणा सार्वजनिक गर्ने बानी किन हराएको होला ? यो समयमा शिक्षा, स्वास्थ्य, बाटो, पुलपुलेसा सरदर आयु, मातृशिशु मृत्युदर आदि सबै क्षेत्रमा भएका राम्रा उपलब्धिहरूको चर्चा गर्ने कसले हो ?

उदाहरणका लागि २०४५ सालतिर काठमाडौंबाट गुल्मी जाँदा तीन दिन लाग्थ्यो । अहिले गाडीमा १० घण्टा र हवाईजहाजमा ४५ मिनेटमा हामी गुल्मी पुग्न सक्छौं । सबै जिल्लामा मोटरबाटो पुगिसक्यो । सडक विस्तार भएर पिच (कालोपत्रे) हुँदै गएका छन् । ठाउँ-ठाउँमा पुल बनेका छन् । सुरुङ युगको सुरुवात हुँदैछ । रेल यातायात त सुरु नै भैसक्यो । ठूला-ठूला रोगको परीक्षण र उपचारमा हामी सक्षम भइसक्यौं । मृत्युदर ५८ बाट ७२ वर्ष पुग्यो ।

शिक्षामा पनि हामी फड्को मारिरहेका छौं । यी र यस्तै सकारात्मक टिप्पणीतिर हाम्रो ध्यान किन जाँदैन ? यो कुरा सत्य हो कि हामी विश्वको अरू देशभन्दा गरिब र अविकसित छौं तर त्यसको अर्थ केही नगरी हात बाँधेर बसेका पनि त छैनौं !

हाम्रो देशमा भएका भौतिक र मानवीय स्रोतको सही सदुपयोग गर्न आवश्यक कानुनको निर्माण र कार्यान्वयनमा ध्यान नदिई पार्टीको नाममा, वर्गको नाममा, धर्मको नाममा हाम्रो जस्तो वैभवशाली देशका जनतालाई विभाजन गर्ने परिपाटीको अन्त्य अब पनि नगर्ने हो भने अझै ठूलो दुर्गतिको सामना गर्नु बाहेक अर्को विकल्प देखिंदैन

जन्मेर बुझ्ने अवस्था भएदेखि नै नकारात्मक सोच र संस्कारमा हुर्केका हाम्रा सन्ततिको हालत के होला ? यतापट्ट िध्यान कहिले र कसले दिने हो ? समाज र सामाजिक सञ्जालमा परिचित बौद्धिकहरूद्वारा पोखिने नकारात्मक टिप्पणीले समाजलाई अधोगतितिर धकेलिरहेको छ । हामी दैनिक बोली-व्यवहारमा यति धेरै नकारात्मक छौं कि जो-कोहीलाई मान्छे नै नगन्ने र जो-कोही मान्छेमा केही न केही गुण पनि हुन्छ भन्ने कुरा स्वीकार्नै चाहन्नौं !

हामी नेपालीमा नकारात्मक सोच र चिन्तन कुन हदसम्म छ भन्ने कुराको उदाहरण अनलाइनहरूमा पोखिने पाठक प्रतिक्रिया र फेसबुकहरूमा देखिने टिप्पणीहरू हुन् । कुनै घटनालाई लिएर नकारात्मक कुरा कसैले लेख्यो कि लाइक र कमेन्टको ओइरो लाग्छ । सकारात्मक कुरा लेख्यो भने कमेन्टको सिला खोज्नुपर्छ । हामी प्राकृतिक सम्पदाको दृष्टिले वैभवशाली भइकन पनि पछि पर्नुको धेरै कारणमध्ये प्रमुख कारण नकारात्मक चिन्तन पनि हो कि ? अब हरेक नकारात्मक घटनाको सकारात्मक पक्ष पनि हुन्छ भन्ने कुरा बुझ्न ढिला भइसक्यो कि ?

नकारात्मक सोचाइ र टिप्पणीको प्रमुख स्रोत हाम्रो राज्य सञ्चालन गरिरहेको राजनैतिक पार्टी र नेताहरू नै हुन् । राज्य सञ्चालनको मियो मानिने राजनीतिकर्मीहरूमा विरोधीहरूका सकारात्मक पक्ष देख्दै नदेख्ने, आफू मात्र राम्रो र अब्बल ठान्ने चिन्तनले हामी झन् पछि झन् मानसिक तनाव झेलिरहेका छौं । यही कारण राजनैतिक अस्थिरता, बेथिति, विसंगतिहरू मौलाएका छन् । हाम्रा राजनैतिक नेताहरू अरूका आँखाबाट आफू देखिन चाहँदैनन् । आफ्नो आँखाबाट अरूलाई हेर्ने एकोहोरो बानीबाट तिनीहरू यति ग्रस्त छन् कि, दृष्टिदोष के हो ? फिटिक्कै जान्दैनन् ।

अझ भनौं हाम्रो मनोविज्ञान बडो विचित्रको छ । आफू ऐना हेर्दैन तर अरूलाई ऐना देखाउन मन पराउँछ । आज हरकोही अर्कालाई खुइल्याउन र नाङ्गो देखाउन आफ्नो विभागी झोलामा एउटा ऐना बोकेर हिंडिरहेको छ । त्यो ऐनामा आफूलाई कहिल्यै हेर्दैन, अरूलाई मात्र देखाउँछ ।

आजको नयाँ पुस्ताले हाम्रा यी सबै गतिविधि र व्यवहारलाई नजिकबाट नियालिरहेको छ । जुन पुस्ता हत्पत्ति टिप्पणी गर्दैन । तर हाम्रो यही नकारात्मक व्यवहारबाट आजित भएर विरक्तिएर देश छोडिरहेको छ । यो पुस्ताले यो देशमा अँध्यारो मात्र देखिरहेको छ । र त उज्यालो भविष्यको खोजीमा आफ्नो जन्मभूमिलाई चटक्कै छाडेर डीभी, ग्रीनकार्ड, पीआर आदिको लागि मरिहत्ते गरिरहेको छ । सायद यहीकारण होला गएको वर्ष प्लस २ पास गरेका २ लाख ३० हजार विद्यार्थीमध्ये एक लाख १४ हजारले विदेश जान स्वीकृति मागेका छन् ।

हाम्रो राज्य संचालनको ठेक्का पाएकाहरूको चेत कहिले खुल्ने हो ? यिनीहरूको घैंटोमा घाम कहिले लाग्ने हो ? देशमा वृद्ध र केटाकेटी मात्र राखेर देश विकास कसरी गर्ने हो ? अझ भनौं हामी उल्टो बाटो कहिलेसम्म हिंड्ने हो ? यो कुराको जवाफ अहिलेसम्म राज्य चलाउने राजनैतिक पार्टी, तिनका नेता र ती नेताको फेर समाएर वैतरणी तर्नै तम्सने कार्यकर्ताले आम नेपालीलाई कहिलेसम्म दिने होलान् ?

अहिलेका शिक्षित युवा जमातको मनोविज्ञानलाई ध्यानमा राखी अरू देशका राम्रा कुराको अनुसरण गर्दै हाम्रो देशमा भएका भौतिक र मानवीय स्रोतको सही सदुपयोग गर्न आवश्यक कानुनको निर्माण र कार्यान्वयनमा ध्यान नदिई पार्टीको नाममा, वर्गको नाममा, धर्मको नाममा हाम्रो जस्तो वैभवशाली देशका जनतालाई विभाजन गर्ने परिपाटीको अन्त्य अब पनि नगर्ने हो भने अझै ठूलो दुर्गतिको सामना गर्नु बाहेक अर्को विकल्प देखिंदैन । समयमै सबै पक्षको ध्यान जाओस् !

(लेखक राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ नेपालका उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?