+
+

८७९ दिन अन्तरिक्षमा बसेर रूसी अन्तरिक्ष यात्रीले राखे कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १२:५१

काठमाडौं । रूसी अन्तरिक्षयात्री ओलेग कोनोनेंकोले सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बसेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । हालसम्म कुल ८७९ दिनसम्म अन्तरिक्षमा बिताएर उनले यही आइतबार कीर्तिमान कायम गरेका रुसी स्पेस एजेन्सी रोस्कोस्मसले जनाएको छ ।

यद्यपि यो उनले एकै पटकमा अन्तरिक्षमा बसेर बनाएको कीर्तिमान भने होइन । उनी पटक–पटक गरेर हालसम्म ८७९ दिनसम्म अन्तरिक्षमा बसेका हुन् । यसअघि रुसकै जेनेडी पडाल्काले ८७८ दिन ११ घण्टा र ३० मिनेटसम्म अन्तरिक्षमा बसेर बनाएको कीर्तिमान कोनोनेंकोले भंग गरेका छन् ।

यी अन्तरिक्षयात्रीले आगामी जुन ५ मा पुनः अर्को दुर्लभ कीर्तिमान कायम गर्नेछन् । त्यसबेला उनले अन्तरिक्षमा बिताएका दिनहरुको संख्या १ हजार पुग्नेछ । हालको अन्तरिक्ष बसाइँ समाप्त हुने मिति अर्थात् आगामी सेप्टेम्बर २३ सम्म उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कुल ११ सय १० दिन बिताएका हुनेछन् ।

रुसी समाचार एजेन्सी ताससँग अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाटै दिएको अन्तर्वार्तामा उनले आफू कुनै कीर्तिमान कायम गर्नका लागि नभई आफूलाई मनपर्ने काम गर्नका लागि अन्तरिक्षमा जाने गरेको बताएका छन् ।

५९ वर्षीय कोनोनेंकोले आफू आफ्ना सबै उपलब्धिहरुका लागि गौरवान्वित रहेको र त्यसभन्दा पनि मानिसले अन्तरिक्षमा बिताएको सबैभन्दा धेरै कुल समयको कीर्तिमान अझै पनि रुसको नाममा रहेकोमा आफूलाई अझै धेरै गर्व लाग्ने गरेको उनको भनाइ छ ।

सोभियत संघकालीन समयदेखि नै रुसी अन्तरिक्षयात्रीहरुले अन्तरिक्ष उडानमा सबैभन्दा लामो समय बिताउने रेकर्ड कायम गर्दै आएका छन् । अन्तरिक्षमा सबैभन्दा धेरै समय बिताउने अन्तरिक्ष यात्रीको सूचीमा पहिलो ८ नम्बरसम्म रुसी नागरिकहरु नै छन् । नवौं नम्बरमा मात्रै अमेरिकी अन्तरिक्षयात्री पेगी व्हिट्सन रहेकी छिन् जसले ६७५ दिन अन्तरिक्षमा बिताएकी छिन् ।

त्यस्तै रुसी अन्तरिक्षयात्री भेलेरी पोलियाकोभसँग एकै पटकमा लगातार ४३८ दिनसम्म मीर स्पेस स्टेशनमा बिताएको रेकर्ड छ । उनले सन् १९९४ को जनवरीदेखि सन् १९९५ को मार्च महिनासम्म अन्तरिक्षमा बिताएका थिए ।

त्यस्तै अमेरिकी अन्तरिक्षयात्री फ्रेंक रुबियोले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा लगातार ३७१ दिन बिताएका छन् । उनी रुसी यानमा चढेर पृथ्वीमा फर्किएका थिए ।

हाल कोनोकेंको आफ्नो पाँचौं अन्तरिक्ष उडानमा छन् । उनी एक्स्पीडिसन ७० का उडान इन्जिनियर हुन् । तर उनी यो महिना अन्तरिक्षमै रोकिनुपर्यो किनकि कमाण्डर एन्ड्रियास मोगेन्सन स्पेस एक्सको क्रु सेभेन मिसनसँगै पृथ्वीमा आउनुपरेको थियो । क्रु ७ टिमलाई क्रू ८ टिमका चारजना अन्तरिक्ष यात्रीले पालो दिनेछन् । उनीहरुले आगामी फेब्रुअरी २२ मा पृथ्वीबाट अन्तरिक्षको उडान भर्नेछन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?