+
+

निर्देशक समाजले भन्यो- प्रस्तावित फिल्म सेन्सर कार्यविधि तत्काल फिर्ता लेऊ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १४:२५

काठमाडौं । चलचित्र निर्देशक समाजले फिल्मको प्रस्तावित सेन्सर कार्यविधि संविधान विपरीत रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ । अध्यक्ष जनकदीप पराजुलीले विज्ञप्ति जारी गर्दै अविलम्ब फिर्ता नगरे यसले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी समेत दिएका छन् ।

सरोकार निकायको सुझावलाई बेवास्ता गर्दै कार्यविधि ल्याउन लागिएको भन्दै समाजले त्यहाँ उल्लेख भएका प्रावधानले चलचित्र निर्माणको सौन्दर्य र संविधानप्रदत्त अभिव्यक्तिको स्वतन्त्रतामाथि बन्देज लगाउने समाजको धारणा छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्देशक समाज प्रस्तावित कार्यविधि नेपालको संविधानको धारा २ मा रहेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी व्यवस्था विपरीत रहेको स्मरण गराउन चाहन्छ ।’

समाजले चलचित्रसम्बन्धी संघसंस्थालाई साक्षीको रुपमा बोलाउने र संघसंस्थाले दिएको सुझावलाई बेवास्ता गरी आफूखुसी कार्यविधि बनाउने मन्त्रालयको प्रवृत्तिको भर्त्सना गरेको छ ।

कार्यविधिमा उल्लेख भएअनुसार निर्माण इजाजतका लागि चाहिने २० सर्तलाई लिएर यतिबेला तीव्र विरोध भइरहेको छ । सिर्जनात्मक र अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने गरी बनाइएको उक्त कार्यविधि फिल्मका संघसंस्थालाई पठाइएको थियो । तीव्र विरोधपछि कार्यविधिबारे छलफल गर्न मन्त्रालयले बिहीबार सबै संघसंस्थालाई छलफलका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?