+
+

कोशीमा १० सदस्यीय मन्त्रीमण्डल, अर्थ मन्त्रालय मुख्यमन्त्रीसँगै 

हरि अधिकारी हरि अधिकारी
२०८० माघ २६ गते १८:५७

२६ माघ,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियुक्तिको चार महिनापछि सरकारलाई पूर्णता दिएका छन् । चार मन्त्री र दुई राज्यमन्त्री थप गर्दै कार्कीले सरकारलाई पूर्णता दिएका हुन् ।

२७ असोजमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले भोलिपल्ट दुई जना मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीबाट एक–एक जना मन्त्री नियुक्त गरे ।  त्यसयता भने सरकार विस्तार गर्न सकेका थिएनन् ।

पटक–पटक सरकार विस्तारको भाका सारेका मुख्यमन्त्री कार्कीले शुक्रबार चार जना मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रालय उनले आफैसँग राखेका छन् ।

माओवादी केन्द्रबाट नारायणबहादुर मगर खानेपानी सिचाई तथा उर्जा मन्त्री बनेका छन् । उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २(१) बाट प्रदेशसभामा दोस्रो कार्यकालका लागि निर्वाचन भएका थिए ।

माओवादीबाटै राजेन्द्र कार्की सामाजिक विकास मन्त्री बनेका छन् । कार्की यसअघि उद्धब थापाको पहिलो कार्यकालमा विनाविभागीय मन्त्री बनेका थिए ।

नेपाली कांग्रेस सांसद प्रदिपकुमार सुनुवार स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । ओखलढुंगा प्रदेशसभा १ बाट निर्वाचित सुनुवार यसअघि उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा दुवै पटक मन्त्री बनेका थिए । उनी संस्थापन समूहका हुन् ।

कांग्रेसबाट रामकुमार खत्री उद्योग,कृषि तथा सहकारी मन्त्री बनेका छन् । उनी उदयपुरको २(२) बाट निर्वाचित हुन् । डाक्टर शेखर कोइराला समूहका उनी पनि थापा नेतृत्वको सरकारमा केहि दिन विनाविभागीय मन्त्री बनेका थिए ।

कोइराला पक्षकै सांसद इन्दिरा थापा र  सुनिताकुमारी गुरुङ राज्यमन्त्री बनेकी छन् । थापा आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्री नियुक्त भएकी हुन् । गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएकी छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्तारुढ गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको थिए । तर कांग्रेस भित्र कोइराला समूहका ८ सांसदले विद्रोह गरे । एमालेको समर्थनमा २७ असोजमा कार्की मुख्यमन्त्री बने । २८ असोजमा एमालेका राम रानालाई र कांग्रेसका सम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए । १७ कात्तिकमा माओवादी केन्द्रबाट गणेश उप्रेती र एकिकृत समाजवादीबाट कमलप्रसाद जवेगु मन्त्री बनेपछि १८ कात्तिकमा एमाले सरकारबाट बाहिरिएको थियो ।

पार्टी निर्णयविरुद्ध विद्रोह गर्दै मुख्यमन्त्री बनाउन साथ दिएका दुई सांसदलाई कार्कीले मन्त्री र दुईलाई राज्यमन्त्री बनाएका छन् । यसअघि कोइराला समूहबाट शम्शेर राई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।

प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री राईसँगै माओवादी केन्द्रबाट गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भौतिक पूर्वाधार मन्त्री छन् ।

सरकार विस्तार भएपछि मन्त्रीपरिषद् सदस्यको संख्या १० पुगेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?