+
+
Shares

लिमा अधिकारीलाई केदार कार्कीको जवाफ– सुकुमवासी बस्तीमा डोजर चलाएनौं, बास बनाएका हौं

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले  संघीय संसदमा सांसद लिमा अधिकारीको उठाएको विषयमा असन्तुष्टि जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते १७:३२

३० जेठ, विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस सांसद केदार कार्कीले  संघीय संसदमा सांसद लिमा अधिकारीको उठाएको विषयमा असन्तुष्टि जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा अधिकारीले विराटनगर महानगरपालिका– १२ मा निर्माणधीन सम्पन्न बस्तीमा अनियमितता भएको भन्दै छानविन गर्न माग गरेकी थिइन् ।

शनिबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कार्कीले छानविन समितिको संयोजक लिमा अधिकारीलाई बनाएर पठाउन माग गरेका हुन् । उनले सुकुमवासी परिवारलाई जोडर लगाएर लखेटेको नभई सुकुमवासीलाई आफ्नै घरजग्गाको धनी बनाएको दाबी गरे ।

‘संसदमा उहाँले सम्पन्न बस्तीको कुरा उठाउनु भएको छ, म प्रदेशसभाबाट तुरुन्तै छानबिन गर्न माग गर्छ, छानबिन समितिको सभापति पनि जसले कुरा उठायो उहाँलाई बनाएर पठाइयोस्,’ कार्कीले भने,‘बागमतीको किनारमा बस्ने सुत्केरीलाई रातारात डोजर लगाएर सालनाल सम्हाल्दै कुद्ने बनाउने, स–साना बालबालिकाको स्कुल भत्काएर कहाँ जाउ भन्ने कारुणीक अवस्था नदेख्ने माननीयले यहाँको बस्ती देख्नु भएछ ।’

सम्पन्न बस्तीमा नपुगी प्रतिनिधिसभामा अनावश्यक रूपमा कुरा उठाएको उनको भनाइ छ । ‘विराटनगरको रिङरोड छेउमा बस्ती छ, गाडी सरर आउँछ, गाडी बस्ती भित्रै पुग्छ, हुनेखानेका छोराछोरीहरुको पार्टीका मान्छे आउँदा गाडी नपुग्ला कि भन्ने चिन्ता होला, जस्तो गाडी पनि पुग्छ,’ उनले भने, ‘ओपन स्पेस छ, विद्यालय बन्दैछ, नाला बन्दैछ । उहाँलाई चाहिएको के हो ?’

उनले आफ्नै घरजग्गा किन्न नसक्नेहरुलाई जग्गाधनी बनाएर घर बनाइएको बताए । उनले भने,  ‘पहिले माटोको बेड, हावाको दिवार र आकाशको छानो थियो । ताराको बत्ती भएको घरमा बस्नेहरुलाई आफैले जमिन किनेर घर बनाइएको हो । अहिले दुई वटा कोठा एउटा किचन छ, माथि टिनको छना भएको राम्रो घर छ ।’

उनले जमिन किन्दा ऋण लागेको भएपनि घर दाताले बनाइदिएको बताए । ‘हिजो मोबाइल किन्न पर्दा र घरमा मासु खान पर्दा पनि ऋण लिनेहरूले आफ्नो जमिन किनेर आफ्नै लालपूर्जामा बस्छु । मलाई सरकारको विश्वास छैन भन्नेहरूले किस्तामा ऋण लिएर जग्गा किनेको  हो, उहाँहरूको नाममा लालपूर्जा छ । घर प्रदेश सरकार, विराटनगर महानगरपालिका, ह्याबीटाटको लगानीमा बनेको हो, घर बनाउन उहाँहरुको एक पैसा पनि परेको छैन,’ कार्कीले भने ।

उनले सुकुमवासीको बस्तीमा डोेजर नचलाइ व्यवस्थापन गरिएको बताए । सडक पूर्वाधार र विद्यालय पनि निर्माण भइरहेको बताए । ‘हामीले घर भत्काएको होइन, डोजर लगाएको होइन, परिवारको बिच्छेद गराएको होइन,  होल्डिङ सेन्टरमा लगेर मान्छे मारेको होइन, घर भत्काएको देख्न नसकेर  खोलामा हाम्फालेर परिवारलाइ छाडेर जीवन त्याग्न बाध्य हामीले बनाएको होइन,’ उनले भने, ‘छोराछोरीसहित खुसी भएर आफ्नै घरमा बस्ने बतावारण बनाएको हो ।’

कस्तो छ बस्ती ?

विराटनगर १२ मलनवाका १४५  सुकुमवासी परिवारका लागि सम्पन्न बस्ती निर्माण गरिएको  हो । ८५ सुकुमवासी परिवार नयाँ घरमा सरिसकेका छन् । बाँकी ६० परिवार पनि आफ्नै घर पाउने पर्खाइमा छन् । उनीहरुको घर धमाधम निर्माण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?