+
+

बेंसीसहर–चामे सडकको ७ किलोमिटर कालोपत्र   

रासस रासस
२०८० माघ २७ गते १५:४३

२७ माघ, लमजुङ । बेंसीसहर–चामे सडक सात किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको हो ।

डुम्रे बेंसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर किरण पोखरेलले सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भइसकेको जनाउँदै अब सात सय मिटर बाँकी रहेको बताए र उनका  अनुसार उक्त सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

योजना कार्यालयका अनुसार उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म १९ करोड रुपैयाँ खर्च भइसकेको छ । ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको इञ्जिनियर पोखरेलले बताए । उनका अनुसार सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ ।

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले जानकारी दिए । उनका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ ।

अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इञ्जिनियर पोखरेलले बताए । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । सडक योजना कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाख रुपैयाँमा कालोपत्रको सम्झौता भएको छ ।

विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ ।

मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकएपछि विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । पैसठ्ठी किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?