+
+

ठूला अन्तर्राष्ट्रिय बजारमा ‘चलचित्र प्रतिनिधि’ तोकिने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १६:४९

काठमाडौं । चलचित्र विकास बोर्डले ठूला अन्तर्राष्ट्रिय बजारमा ‘चलचित्र प्रतिनिधि’ तोक्ने भएको छ । लण्डनमा आयोजित समारोहमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशमा नेपाली फिल्मको प्रदर्शन, निर्माण, बजारीकरण र प्रशासनिक समन्वयका लागि ‘प्रतिनिधि’ नियुक्त गर्ने बताए ।

नेशनल डेल्फिक काउन्सिल नेपालले आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक : चुनौति र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले प्रतिनिधि तोक्ने काम बेलायतबाटै हुने बताए । तर, कसलाई तोकिनेछ भन्ने कुराको जानकारी चाहिँ काठमाडौं फर्किएपछि गर्ने उनको तयारी छ ।

यसका लागि केसीले आइतबार लण्डनस्थित नेपाली नियोग पुगेर राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट्ने कार्यक्रम छ । उक्त भेटमा प्रतिनिधि चयन गर्नेदेखि बेलायतमा नेपाली फिल्मको प्रवद्र्धनमा समन्वय र सहकार्यबारे छलफल हुने जनाइएको छ । लण्डनबाट अनलाइनखबरसँग कुरा गर्दै केसीले युकेदेखि नै प्रतिनिधि चयनको काम हुने समेत बताए ।

नेपाली फिल्मको दूत अथवा प्रतिनिधि तोकेर अघि बढ्ने चर्चा केहीवर्ष पहिलेदेखि सुरु भएको हो । ‘विदेशमा नेपाली फिल्म चलाउने, बनाउनेदेखि अन्य सहकार्यका कामको जिम्मा दिएर नै बोर्डले प्रतिनिधि तोक्नेछ’ केसीले अनलाइनखबरसँग भने । केसीसहितको टीमले सोमबार ब्रिटिस फिल्म कमिसन भ्रमण गर्ने कार्यक्रम छ ।

‘समस्याको जड् ऐनमा छ’

डेल्फिक काउन्सिलको उक्त कार्यक्रममा केसीले आफू म जागिर खान बोर्डमा नगएको बताए । ‘मैले जीवनमा पहिलोपटक १० देखि ५ बजेसम्मको जागिर खाएको हुँ । सिस्टम ल्याउन विकास बोर्डमा पुगेको हुँ’ उनले भने, ‘जागिर खानकै लागि बोर्डमा गएको होइन ।’

बोर्डसँग ठूला अधिकार नभएको उनले बताए । ‘त्यहाँ गएर के थाहा पाएँ भने कति अधिकार विकास बार्डले गर्न नसक्ने रहेछ । कति अधिकार बोर्डमा छ भन्ने मैले सोचेको थिएँ । त्यो केही पनि रहेनछ’ समस्याको जड् ऐन रहेकोतर्फ इंगित गर्दै उनले भने, ‘मैले फिल्म खेल्नुअघिको फिल्म ऐन आजसम्म लागू भएको छ । आजभन्दा ५० वर्षअघिको ऐनले नेपाली फिल्म चलिरहेको छ । जड यहीँ छ । सबै कुराको समस्याको जड् यहीँ छ । जबसम्म ऐन परिवर्तन हुँदैन ।’

उनले यतिबेला आफ्नो लडाइ सरकारसँग भैरहेको बताए । ‘म अहिले सरकारसँग लडिरहेको छु, पहिला त हामीले गर्न खोजेका चीज यो यो हुन्, त्यसका लागि ऐन चेन्ज गर्नुपर्छ । पुरानो ऐन कानूनमा हामीले गर्न सक्ने कुरा केही पनि छैन । मेरो कार्यकाल २ वर्षको छ । सबैले प्रयास गर्नुभएको हो तर, नसकिएको हो । मैले अन्तिम घडीसम्म प्रयास गरेको छु । अन्तिम प्रयाससम्म पनि ऐन पारित हुन्छ भन्नुभएको छ मन्त्रीज्यूले’ उनले भने ।

केसीसहितको टोली यसैसाता काठमाडौं फर्कंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?