+
+

साउदीसँग एक महिनाभित्रै श्रम सम्झौता गर्न प्रस्ताव, कतारसँग अमिर आउँदा हस्ताक्षर हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते २०:०५

२८ माघ, काठमाडौं । नेपालले साउदी अरेबियासँग एक महिनाभित्रै श्रम सम्झौतालाई अन्तिम रुप दिन प्रस्ताव गरेको छ ।

यूएईको आबुधाबीमा भइरहेको ‘आबुधाबी डायलग’मा सहभागी हुन पुगेका दुबै देशका श्रम अधिकारीहरुको ‘साइडलाइन’ बैठकमा साउदी अरेबियाले एक महिनाभित्रै श्रम समझौतामा हस्ताक्षर गर्ने वातावण बनाउने आश्वासन दिएको छ ।

८ वर्षदेखि नेपाल साउदी अरेबियासँग श्रम समझदारी गर्ने प्रयासमा रहेपनि सफल भएको छैन । साउदी अररेबियाले श्रमिकको हितको विषयमा नेपालले गरेका थुप्रै प्रस्ताव स्वीकार नगर्दा सहमति जुट्न सकेको छैन ।

आइतबारको बैठकमा नेपाली पक्षले प्रस्तावित सम्झौतामा ‘स्वच्छ भर्ना प्रणाली’ सहित सामाजिक सुरक्षा, कार्य घण्टा, बीमा, पेशागत स्वास्थ्य सुरक्षा लगायतका विषयहरुको सम्बोधन गर्न आग्रह गरेको छ ।

साउदी अरेबिया घरेलु श्रमिकको लागि पनि छुट्टै श्रम समझदारी गर्ने अडानमा बस्दा विगतमा श्रम समझदारी हुन सकेको थिए । साधारण श्रमिकको हकमा मात्रै श्रम समझदारी गर्न साउदी धेरै वर्षअघि तयार भएको थियो । तर, नेपाली पक्षले श्रमिकको हित सुनिश्चित हुने गरी श्रम समझदारी हुनुपर्ने अडान राखेपछि साउदी अरेबियाले सम्झौता टार्दै आएको छ ।

आइतबारको साइडलाइन बैठकमा साउदीबाट सीपमूलक जनशक्ति उत्पादन निम्ति तालिम केन्द्र स्थापना गर्न हालसालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवम् भाषा र सीप जानेका श्रमिक उत्पादनमा सहकार्य गर्नेबारे पनि छलफल भएको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले जानकारी दिए । दक्ष जनशक्ति विकासका लागि दुई देशबीच सहकार्य गर्नुपर्नेमा नेपाली अधिकारीले जोड दिएका थिए ।

कफाला प्रणाली एवम् विभिन्न कारणले मृत्यु भएका श्रमिकको शब छिट्टै नेपालसम्म पठाउन सहजीकरण गर्न नेपाली पक्षले आग्रह गरेको छ । नेपाली पक्षले सप्लाइ कम्पनीमा बोलाएर काम नदिने अवस्था निरुत्साहित गर्न पनि साउदी सरकारसँग अनुरोध गरेको हो ।

रोजगारका अवसरहरुमा महिलाको सहभागिता सुनिश्चित गर्न हस्पिटालिटी, केयर गिभर, हेल्थ वर्कफेस लगायतका क्षेत्रमा सुरक्षित र सम्मानित अवसरहरुलाई बढावा दिन पनि आग्रह गरिएको पोखरेलले बताए ।

श्रमिकहरुको गुनासो सम्बोधन गर्न बैंकिङ र स्वास्थ्य सूचना प्रणालीको प्रयोग बढाउनेसहित पूर्वप्रस्थान अभिमुखीकरण, सीपयुक्त तालिम लगायतका कामहरुलाई डिजिटाइजेसन गर्दै लैजानेबारे पनि छलफल भएको छ ।

आइतबार नै नेपाल र कतारबीच समेत साइडलाइन बैठक बसेको छ । बैठकमा कतारी अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको समयमा हस्ताक्षर हुने गरी श्रम समझदारी पत्र तयार गर्ने सहमति भएको छ ।

कतारी अमिर गत २० र २१ कात्तिकमा नेपाल आउो तय भएर पछि स्थगित भएको थियो । तर, छिट्टै कतारी अमिर थानीले नेपालको भ्रमण गर्ने योजना छ ।

कतारसँग स्न २००३मा भएको द्विपक्षीय श्रम सम्झौता विस्थापित गर्दै सीप साझेदारीसहित श्रमिकहरुको हकहित सुरक्षाका विषयवस्तु राखेर श्रम समझदारी गर्ने तयारी छ ।पुरानो सम्झौतालाई पुनरावलोकन गर्न दुवै देशले अनलाइनमार्फत छलफल अघि बढाउने निर्णय पनि भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

कतारी पक्षले घरेलु कामदारका निम्ति पर्यात सुरक्षाका व्यवस्थाहरु गरिएको हुँदा भाषा र सीप सिकाएर पठाउने व्यवस्था गर्न आग्रह गरेको थियो । तालिमका लागि आफूहरु सहयोग गर्न तयार रहेको कतारी अधिकारीहरुको भनाइ थियो । नेपाली पक्षले छलफलबाट सबै विषय टुंग्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?