+
+

अपहरण भारतीय व्यवसायीको, आश्रयस्थल नेपाली भूमि

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० माघ २८ गते २१:१४

अपहरणकारी : कहिले दिन्छौं तीन करोड ?

पीडित परिवार : सर, हामी मात्र ५० लाख दिन सक्छौं

अपहरणकारी : हामीले भिख मागेका हौं र ? लाउ, तिमीहरुको छोरा अन्तिम पटक कुरा गर्न चाहन्छ, कुरा गर । यसपछि तिमीहरुको छोरालाई कहिले भेट्ने छैनौं ।

आमा : मेरो छोरालाई त्यसो नगर्नुस् । हामी जति सक्छौं, त्यति कोशिस गर्छौं ।

अपहरणकारी : हामीले तीन करोड मागेका छौं, तिमीहरु ५० लाख भन्छौं । हामीले के भिख मागेका हौं ?

आमा : हामी आफ्नो छोरालाई बचाउन सबैथोक बेचेर दिन्छौं …।

त्यसपछि अपहरणमा परेका भारत सीतामढी जिल्ला सोनवर्षा बजारका व्यवसायी अभिषेककुमार र उनकी आमाबीच कुराकानी हुन्छ । अभिषेकले अपहरणकारीले जे मागेका छन्, त्यो दिन आग्रह गर्छन् । नभए आफूलाई मारिदिने भन्दै विलाप गर्छन् ।

आमाले पनि रुँदै आफूहरुले सक्दो प्रयास गरेको भन्दै छोरालाई सम्झाउँछिन् ।

****

इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक १६ माघको साँझ बुबासँग घर गइरहेका बेला अपरहणमा परेका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लका अनुसार अहरणकारीले अभिषेकलाई सर्लाहीकै सीमाबाट नियन्त्रणमा लिएर नेपाल छिरेका थिए ।

अपहरणकारीले भोलिपल्ट १७ माघमा पहिलो पटक अभिषेककै मोबाइलबाट घरपरिवारलाई फोन गरी ३ करोड रुपैयाँ फिरौती मागेका थिए । त्यसपछि अपहरणकारी र अभिषेकको परिवारबीच १० दिनसम्म केही पटक फोन सम्वाद भयो । तर प्रहरीले न अपराहरणकारी पत्ता लगाउन सक्यो, न अभिषेकलाई अपहरणमुक्त गर्न नै ।

अभिषेक अपहरणमा परेको सूचना पाएलगत्तै महोत्तरी र सर्लाही प्रहरीले सक्रियता देखेएको थियो । सर्लाही प्रहरीले शंकास्पद ६ जनाभन्दा बढीलाई पक्राउ गरेर सोधपुछ गरेको थियो ।

‘थुप्रै स्थानमा सर्च अपरेसन चलायौं, तर कतै पनि फेला परेन’ सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) धितालले भने ।

लामो समय फिरौती नदिए अभिषेकलाई तलमाथि हुनसक्ने डरले परिवार अपहरणकारी समक्ष निरीह बन्न पुगे । अपहरणकारी ५० लाख भारु फिरौती लिएर अभिषेकलाई अपहरण मुक्त गर्न सहमत भए । सहमति अनुसार २५ माघमा अभिषेकको परिवार ३० लाख भारु लिएर साँझ ७ बजे घरबाट निस्कियो ।

अपहरणकारीले महोत्तरीको पोखरभिण्डा र सम्सी, सर्लाहीको मलंगवा र संग्रामपुर लगायतका ठाउँको लोकेसन दिएर घुमाए । २२ किलोमिटर डुलाएपछि राति १२ बजे सर्लाहीको संग्रामपुर बोर्डर नजिक झाडीमा पैसा फाल्न लगाए ।

अपहरणकारीले पैसा लगे । त्यसको भोलिपल्ट २६ माघकोे बिहान १० बजे फोन गरेर २० लाख लिएर सर्लाहीको बोर्डर छेउमा आउन भने । परिवारले त्यसै गरे । अनि सोमबार बिहान २ बजेतिर अपहरणकारीले संग्रामपुरस्थित बोर्डरमा १०० मिटर पर नेपाली भूमिमा अभिषेकलाई आँखामा पट्टी बाँधेर छाडिदिए ।

अभिषेकले भारतीय प्रहरीलाई दिएको बयानअनुसार अपहरणकारीले एकघण्टा गाडी चलाएपछि सीमामा पुर्‍याएका थिए । त्यसअघि नेपालकै विभिन्न स्थानमा राखे । जंगलमा पनि राखेको थियो । हिन्दी, मैथिली र नेपाली भाषामा समेत बोल्ने गरेकाले अपहरणकारी नेपाली नै भएको अभिषेकको बयान छ ।

तर अहिलेसम्म नेपाल प्रहरीले अपहरणकारीलाई ट्र्याक समेत गर्न सकेको छैन ।

महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्ल भने नेपाल प्रहरीकै सक्रियताको दबाबमा अपहरणकारीले अभिषेकलाई शकुशल मुक्त गरेको दाबी गर्छन् । ‘महोत्तरी र सर्लाही प्रहरीको सक्रियता देखेर अपहरणकारी हतोत्साहित भयो । ३ करोड फिरौती माग्ने अपहरणकारी पछाडि हट्यो’, मल्लले भने, ‘पैसा दिने बेला परिवारजनले हामीसित समन्वय गरेन । २–३ दिन समय दिएको भए हामी सकुशल उद्दार गर्दै अपहरण गर्ने ग्याङलाई समात्न सक्थ्यौं ।’

****

एक महिनाअघि सोनवर्षाकै औषधि व्यवसायी कामेश्वर राय पनि अपहरणमा परेका थिए ।

अभिषेककै शैलीमा २ डिसेम्बर २०२३ मा अपहरणमा परेका उनलाई नेपाल ल्याइएको थियो । कामेश्वरको परिवारले ३० लाख भारु फिरौती बुझाएपछि ७ डिसेम्बरमा महोत्तरीको सम्सीबाट उनी अपहरण मुक्त भएका थिए ।

अभिषेक र कामेश्वरको अपहरण एउटै शैलीमा भएको र बन्धक बनाएको ठाउँहरु पनि एउटै भएकाले अपहरणकारी समूह एउटै भएको प्रहरीको आशंका छ । अपहरणकारीले पनि दुबै घटनामा महोत्तरीको पोखरभिण्डा, सम्सी, संग्रामपुर, रघुनथपुर र सर्लाहीको संग्रामपुर लगायतको स्थानलाई अखडा बनाएका छन् ।

भारतीय टेलिफोन नेटवर्क काम गर्ने भएकाले पनि यो क्षेत्रमा रोजेको हुनसक्ने आशंका छ । यसले प्रहरीलाई महोत्तरी र सर्लाहीमा फेरि यस्तो घटना नहोस् भन्ने परेको छ । यसप्रति आफूहरु गम्भीर रहेको भन्दै महोत्तरीका एसपी मल्लले भने, ‘हामी गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं, अपराधी समात्छौं ।’

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?