+
+

बागलुङको पञ्चकोटमा बस्यो गण्डकीको मन्त्रिपरिषद बैठक    

रासस रासस
२०८० माघ २९ गते १७:५२

२९ माघ, ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव वीरेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले मनाङको नासों गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरेको छ र समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना/कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने तथा गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

प्रदेशमा साझेदार फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने निर्णय गरेको पनि मन्त्री अर्यालले जानकारी दिइन् ।

सर्वसिद्धि पञ्चकोटधामका संस्थापक अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा आगामी फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ हुँदैछ । यस महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि प्रदेश सरकारले अनुरोध पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री सुशीला सिंखडाबाहेक अन्य मन्त्रीहरुको उपस्थिति थियो । पञ्चकोटमा बैठकका लागि आएका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई स्वामी कमलनाचार्यले स्वागत गरेका थिए । प्रदेश राजधानी पोखरा बाहिर गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक यो पहिलो पटक बसेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?