+
+
विचार :

कांग्रेस महासमितिका प्रमुख कार्यभार

निर्धारित मितिमा महाधिवेशन, प्रत्यक्ष निर्वाचन प्रणाली, विचार र उमेरले युवाको काँधमा नेतृत्व महासमितिको मुख्य कार्यभार बन्नुपर्छ । अब पनि ठोस निर्णय लिन नसक्ने हो भने कांग्रेसलाई ‘प्रजापरिषद्’ बन्नबाट रोक्न मुश्किल हुनेछ ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०८० फागुन १ गते १२:४०

कुनै पनि राजनीतिक दलको जन्म केवल सत्तामा पुग्नका लागि मात्रै हुँदैन । सामाजिक र राजनीतिक रूपमा कुनै पनि दल जब जनताबाट विच्छेद भई ‘सत्ता’ लाई केन्द्रमा राख्न पुग्दछ, त्यतिबेला बुझ्नै पर्ने हुन्छ– उक्त दल लोकतन्त्रको हितका खातिर सतिसाल भएर उभिन सक्दैन ।

पार्टी नेतृत्वका कारण आजको कांग्रेस ठ्याक्कै त्यही विन्दुमा पुगेको छ । तसर्थ, कांग्रेसको ‘नवजीवन’ सहितको सुधारका निम्ति समयमै ‘राष्ट्रिय महाधिवेशन’ गरेर ‘विचार र उमेर’ले युवाको हातमा पार्टीको नेतृत्व हस्तान्तरण अनिवार्य शर्त हो । तर यो काम ‘चानचुने प्रयत्न’ले मात्रै हुन सक्दैन । किनकि कांग्रेसभित्रको ‘परम्परागत’ जालो तोड्न सजिलो छैन ।

नेपाली कांग्रेसको पार्टी केन्द्रीय महाधिवेशन पश्चात्को उपल्लो ‘बडी’ हो– महासमिति बैठक । आसन्न महासमिति बैठकले कांग्रेसको निर्धारित मितिमै महाधिवेशनको ग्यारेन्टी सहित अन्य नीति उपर विहंगम बहस गर्न सक्दा मात्रै कांग्रेस श्रेष्ठतम दलका रूपमा स्थापित भैरहन सम्भव छ ।

तिथिमितिका हिसाबले कांग्रेस महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने हुन्छ । ठूलै विपत्ति आइलागे बाहेक महाधिवेशन सार्ने चालबाजी गरियो भने कार्यकर्ता तहबाट दबाब सिर्जना गर्नुको विकल्प नरहन सक्छ ।

सुदर्शन आचार्य

किनकि, कांग्रेस सभापति शेरबहादुर देउवामा हिजो संस्थापन नेता बीपी कोइरालाले रुचाएको बेलाको झैं ‘चार्मिङ’ पटक्कै छैन । सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका तत्कालीन युवा नेता देउवालाई बीपी कोइरालाले त्यस समयमा असाध्यै प्रिय ठानेका थिए ।

तर, तिनै देउवा आज ‘सम्भ्रान्त’ बाहेक पार्टीका ‘नेता–कार्यकर्ता’का प्रिय रहन सकेनन्् । तसर्थ, ‘लोकतन्त्र’को हितका खातिर पनि कांग्रेसको महाधिवेशन निर्धारित मितिमै सम्पन्न गरेर ‘नेतृत्व परिवर्तन’ गर्नु आवश्यक छ । यसपछि यसका नीति तथा कार्यक्रम माथि गम्भीर बहस र छलफल अगाडि बढाउनु जरूरी छ ।

प्रत्यक्ष निर्वाचन प्रणाली

पार्टीले सार्वजनिक गरेको तथ्यांक अनुसार कांग्रेससँग आजका मितिमा आठ लाख पचास हजार क्रियाशील सदस्य छन् । पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न हुने वर्ष कांग्रेसमा ‘क्रियाशील सदस्यता’ को विषयमा ‘चरम घरझगडा’ हुने गर्दछ ।

कतिसम्म भने आफ्ना मान्छेलाई बुथबाटै प्रतिनिधि छनोट गर्न ‘ब्याकडोर’बाट हजारौं सदस्यताका फारम ‘कथित’ क्रियाशीलका नाममा वितरण गरेर ‘जालझेल’को राजनीति बुथबाटै गर्ने परम्परा छ ।

त्यो परम्परा तोडेर कार्यकर्ताको रोजाइको नेतृत्व चयन गर्न पनि कार्यकर्ताले सीधै केन्द्रीय नेतृत्व चयनका लागि ‘प्रत्यक्ष निर्वाचन प्रणाली’ अंगीकार गर्न सक्दा मात्र कांग्रेस कार्यकर्ता र जनताको पार्टीमा रूपान्तरण सम्भव छ ।

कांग्रेसले आजका मितिसम्म बीपी, सुवर्णशमशेर, गणेशमान, किसुनजी र गिरिजाप्रसाद कोइरालाका नाममा ‘इतिहासको ब्याज’ उठाउँदै आयो । तर २०६२–६३ को आन्दोलनमा जन्मिएको ‘एउटा बालक’ अब मतदाता भएर आइसक्यो ।

त्यो युवाको मन जितेर कांग्रेसले आफ्नो पक्षमा मतदान गर्न लगाउन ‘इतिहास भट्याएर’ मात्रै पुग्दैन । ‘कांग्रेसलाई भोट किन दिने ?’ भन्ने विषयमा चित्तबुझ्दो जवाफ अब कांग्रेसले युवालाई दिन सक्नुपर्दछ ।

हुनत, कांग्रेस महामन्त्री गगनकुमार थापा यही विषयको खोजीका निम्ति ‘मेची–काली यात्रा’ पछि राजधानी फर्किएका छन् । अबको मतदाताले ‘इतिहास’ हेरेर नभई ‘एजेण्डा’ हेरेर मात्रै मतदान गर्नेछन् । तसर्थ, महासमिति बैठकले जनताबीच लैजाने एजेण्डा सहित आफ्नो नेतृत्व चयन ‘प्रत्यक्ष निर्वाचन प्रणाली’को बाटो तय गर्न सक्नुपर्दछ ।

युवाको काँधमा नेतृत्व

राजनीतिक रूपमा वर्तमानको वेगलाई थेग्नै नसक्ने गरी बुढो भयो कांग्रेस नेतृत्व । त्यसो त, मूलधारका दलहरू र ती दलबाट प्रधानमन्त्री र पार्टी सभापति भइसकेका नेताहरू ‘उमेर र विचार’ले ‘फेज आउट’ नै भइसकेका छन् । तर, उनीहरूमा आफूहरू ‘फेज आउट’ भएको थाहा पाउन चाहँदैनन् । किनकि यसो गर्नुमा उनीहरूको हित निहित छ ।

पार्टी निर्माणको ६–७ दशक पार गरेका दलले आफ्नो अस्तित्व कायमै राख्ने हो भने ‘उमेर र विचार’ले युवाको काँधमा पार्टी र संसदीय दलको नेतृत्व सुम्पनु श्रेयस्कर हुन्छ । जसको सन्देश हो– कांग्रेसमा रूपान्तरण सम्भव छ ।

किन पनि भने कांग्रेसको पछिल्लो नेतृत्वले त ‘नागरिकको आकांक्षा’ भन्दा नेता विशेषकै चाहनामा पार्टीलाई प्रयोग गर्दै आएको छ । जसका कारण नेपाली कांग्रेसले ‘भारतीय कांग्रेस’कै बाटो समाइरहेको छ भन्ने मनोविज्ञान बलियो बन्दै गएको छ ।

तसर्थ, प्रतिनिधिमूलक रूपमा नाम लिइने ‘गगन, विश्व, प्रदीप’ जस्ता युवाको काँधमा पार्टी नेतृत्व लैजाने बाटोमा महासमिति बैठकले छलफल गर्न सक्दा ‘कांग्रेस र लोकतन्त्र’ एकातिर बलियो हुनेछ भने अर्कातिर कांग्रेसको ‘आदर्श र सिद्धान्त’ पनि लिलाम बढाबढ हुनबाट जोगिनेछ ।

संसदीय दलको नेता परिवर्तन

जोड–घटाउका आधारमा कांग्रेस संसदीय दलको नेता पदमा आज शेरबहादुर देउवा छन् । कांग्रेसभित्र संसदीय दलको नेता परिवर्तन सम्भव नहुञ्जेल संसद्को यही कार्यकालभित्र कुनै ‘चामत्कारिक घटना’ भएन भने उनी छैटौं पटक प्रधानमन्त्री समेत हुनेछन् ।

यहाँनेर प्रश्न उठ्छ– उनी छैटौं पटक प्रधानमन्त्री हुनका निम्ति उनीसँग मुलुकका लागि गर्न चाहेको र अधुरो रहेको विषय के छ ? मुलुक निर्माणमा अभूतपूर्वक योगदान दिएर बाँकी कार्यभार पूरा गरेर राजनीतिबाट विश्राम लिन चाहेकै हो भने ‘त्यो विकास र राजनीति हिसाबले अभूतपूर्व’ काम के भन्ने प्रश्नको जवाफ अब देउवाले आसन्न महासमिति बैठकमा नदिई सुख छैन ।

अर्थात् अघिल्ला पाँच पटकमा के कारणले त्यो काम हुन सकेन जसका कारण देउवा छैटौं पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् । यसबारेमा उनले मुलुकसामु मुख खोल्नै पर्छ । अन्यथा, आफ्नै कार्यकर्तालाई पनि ‘भूलभुलैया’मा राख्ने नैतिक अधिकार कुनै पनि राजनीतिक नेतृत्वलाई हुँदैन र हुनुहुँदैन ।

तर, यस पूर्व आसन्न महासमिति बैठकमा सभापति देउवाको कार्यकालको गम्भीर समीक्षा गर्दै कांग्रेसलाई ‘प्रजापरिषद्’ हुनबाट जोगाउन ‘पार्टी र संसदीय दल’ दुवैबाट नेतृत्व परिवर्तन जरूरी छ ।

अर्को कुरा के भने कार्यकर्ताले अपमान पनि एक हदसम्म मात्रै सहन सक्छन् । बैठकमा सहभागी महासमिति सदस्यले पार्टी नेतृत्वद्वारा गरिने अपमानजनक व्यवहार सहन नसकी कांग्रेस नै छाड्ने तहसम्म नपुगुन् भन्नेमा नेतृत्वले ख्याल पु¥याउनुपर्छ ।

कांग्रेस कार्यकर्ताले पार्टीप्रति ‘अपनत्व महसुस’ गर्न महासमितिले लिने निर्णय नै सबै कुरा हो । निर्धारित मितिमा राष्ट्रिय महाधिवेशन, नीति र कार्यक्रम माथि गम्भीर छलफल, प्रत्यक्ष निर्वाचन प्रणाली अनि विचार र उमेरले युवाको काँधमा पार्टी नेतृत्व अनि संसदीय दलको नेता परिवर्तन अहिलेको मुख्य जिम्मेवारी हो । उल्लिखित विषयमा महासमिति बैठकले ठोस निर्णय लिन नसक्ने हो भने पार्टीलाई ‘प्रजापरिषद्’ बन्नबाट रोक्न मुश्किल हुनेछ ।

(आचार्य कांग्रेसका पूर्व महासमिति सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?