+
+

पाकिस्तानमा ६ दलीय गठबन्धन, नवाज शरीफका भाइ प्रधानमन्त्री र छोरी मुख्यमन्त्रीको उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १०:१९
छोरी मरियम र भाइ शहबाजको बीचमा नवाज शरीफ

२ फागुन, काठमाडौं । नवाज शरीफले पाकिस्तानको नयाँ प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आफ्नो कान्छो भाइ शहबाज शरीफ र पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई अघि सारेका छन् । शहबाज शरीफ पाकिस्तानको पूर्वप्रधानमन्त्री हुन् । उनी सन् २०२२ देखि २०२३ को बीच प्रधानमन्त्री बनेका थिए ।

पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले ६ दलीय गठबन्धनबाट सरकार बनाउने तयारी गरेको छ ।

यसै क्रममा शरीफले आफ्नो भाइ शहबाजलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको पीएमएल-एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।

पाकिस्तानको निर्वाचनमा कुनै पनि पार्टीले एकल बहुमत नपाएकाले गठबन्धन सरकार बन्ने छ । त्यसका लागि ६ दल सम्मिलित पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाइएको छ ।

पीएमएल-एन नेतृत्वको गठबन्धनमा बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपल्स पार्टी (पीपीपी), पाकिस्तान मुस्लिम लिग (क्यू -पीएमएल-क्यू), मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम), इश्तेखाम-ए-पाकिस्तान पार्टी (आईपीपी) र बुलचिस्तान अवामी (बीएएम) पार्टी संलग्न छन् । ती पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलन गरेर गठबन्धन बनाइएको घोषणा गरेका थिए । उनीहरुले चुनावमा एकअर्काविरुद्ध लडे पनि अब मिलेर आर्थिक संकटलाई पार लगाउने बताएका थिए ।

पीएमएल-एनका प्रवक्ता मरियम औरंगजेबले सामाजिक सन्जाल एक्समा गठबन्धनमा सामेल सबै दलप्रति आभार व्यक्त गर्दै अब महँगी र आर्थिक संकटबाट राहत दिलाउने उल्लेख गरेका छन् ।

२४ करोड बढी जनसंख्या रहेको पाकिस्तानलाई आर्थिक संकट र महँगीबाट राहत दिलाउने प्रमुख चुनौती नयाँ सरकारसामु छ ।

पार्टीलाई सल्लाह दिनेछन् नवाज शरीफले

चुनाव अगाडिसम्म नवाज शरीफलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । बीबीसीका अनुसार शहबाज शरीफको चाहना पनि दाजु नवाज शरीफ चौथो पटक प्रधानमन्त्री होउन् भन्ने थियो । तर नवाज शरीफले आफू प्रधानमन्त्री नबन्ने भन्दै भाइलाई अघि सारे ।

नवाज शरीफ र उनकी छोरी मरियम

जिओ न्युजसँगको कुराकानीमा नवाज शरीफकी छोरी मरियमले नवाजले अब पार्टीलाई सुझाव दिँदै सहयोग गर्ने बताएकी छन् ।

शहबाज शरीफ नाताको हिसाबले नवाज शरीफका कान्छो भाइ हुन् । उनी २०७८ चैत अन्तिम साता पाकिस्तानको २३ औं प्रधानमन्त्री बनेका थिए । पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका अध्यक्ष इमरान खानविरुद्धको प्रस्ताव संसदबाट पास भएपछि संसदले शरीफलाई नयाँ प्रधानमन्त्री चयन गरेको थियो ।

शहबाजले यसअघि पञ्जाब प्रान्तको मुख्यमन्त्री भएर काम गरिसकेका छन् । पाकिस्तानका व्यवसायीसमेत रहेका उनको स्टिल कम्पनी छ ।

गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री शहबाज शरीफ तथा उनका दुई छोराहरुविरुद्ध सन् २०२० मा संघीय जाँच एजेन्सी (एफआईए) मुद्दा दायर गरेको थियो ।

शहबाज र उनका छोराहरुविरुद्ध १६ अर्ब पाकिस्तानी रुपैयाँ अकुत रुपमा कमाएको आरोप थियो । जमानतको याचिका अदालतले खारेज गरिदिएपछि उनीहरु पक्राउ परेका थिए । उनीहरुलाई सात महिनासम्म लाहोरको सेन्ट्रल जेलमा राखिएको थियो । सन् २०२१ अप्रिलमा उनलाई लाहोर उच्च अदालतले जमानतमा रिहा गरेको थियो । विशेष अदालतले उनीहरुलाई सफाइ दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?