+
+
भ्यालेन्टाइन्स डे :

१० लभस्टोरी नेपाली फिल्म जसले भ्यालेन्टाइन्स मुड जगाउन सक्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १३:०२

काठमाडौं । झण्डै ६० वर्ष पुग्न लागेको नेपाली फिल्मसँग केही यस्ता लभस्टोरी फिल्म छन्, जुन अहिले पनि उत्तिकै कालजयी र सान्दर्भिक लाग्छन् । त्यो कालखण्ड र समयको प्रतिनिधित्व गर्ने यी फिल्म हेर्दा एकैसाथ नेपाली समाज र त्यतिबेलाको प्रेम अभिव्यक्त गर्ने शैली थाहा हुन्छ ।

प्रताप सुब्बा निर्देशित ‘परालको आगोदेखि’ उपेन्द्र सुब्बा निर्देशित ‘जारी’सम्मको टाइमलाइन हेर्दा केही यस्ता लभस्टोरी फिल्म छन्, जसले तपाईंमा भ्यालेन्टाइन्स मुड जगाउन सक्छ । तपाईंले प्रणय दिवसमा रोमान्टिक र लभस्टोरी नेपाली फिल्मको सूची खोज्नुभएको छ भने यी फिल्म उत्कृष्ट हुनसक्छन् ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्रले लभस्टोरी कथावस्तुमा फिल्म बनाउन बिर्सिएको जस्तो देखिन्छ । सोसल-ड्रामा र एक्सन फिल्मको बाढी आउँदा पछिल्लो समय लभस्टोरी जनरा उपेक्षित जस्तो देखिन्छ । यस्तोमा केही यस्ता रोचक नेपाली लभस्टोरी फिल्मको चर्चा गरिन्छ ।

परालको आगो

२०३४ सालमा रिलिज भएको प्रताप सुब्बा निर्देशित फिल्म ‘परालको आगो’ले श्रीमान–श्रीमतीबीचको सुन्दर प्रेमकथा पेश गर्छ । गुरुप्रसाद मैनालीले लेखेको पटकथा अहिले पनि उत्तिकै सुन्दर छ । मैनालीले पति-पत्नीबीचको झगडालाई परालको आगो विम्बसँग तुलना गरेका छन् । श्रीमान–श्रीमतीबीचको झगडा परालको आगोजस्तै हो, एकछिनमै दन्किन्छ अनि एकछिनमै निभ्छ । दम्पतीको झगडामा प्रेमको जित हुने निष्कर्ष फिल्मले पेश गरेको छ ।

कुसुमे रुमाल

पहिलोपटक रजत जयन्ती मनाउने यो फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका हुन् । भुवन केसी, उदितनारायण झा र तृप्ति नाड्करको शीर्ष भूमिका रहेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सुन्दर प्रेमकथामा आधारित यो फिल्ममा प्रशस्त हास्यव्यंग्य पनि प्रस्तुत गरिएको छ ।

मुनामदन

ज्ञानेन्द्र देउजा निर्देशित यो फिल्म महाकवि लक्ष्मीप्रसाद देवकोटाको सोही नामको उपन्यासमा आधारित छ । यो फिल्मले एक व्यक्ति (मदन)को जीवनलाई वर्णन गर्छ, जो आफ्नी श्रीमती (मुना)लाई छोडेर पैसा कमाउन ल्हासा जान्छन् । मदनले आफ्नो जीविकोपार्जनका लागि पैसा कमाउन विदेश जाने सबै नेपाली युवाहरूको प्रतिनिधित्व गर्छन् । यो सुन्दर प्रेमकथा हो जुन अहिलेको वर्तमान नेपाली समाजको यथार्थ पनि हो ।

दर्पणछाया

२०५८ सालमा रिलिज भएको फिल्म दर्पण वियोगान्त प्रेमको एक सुन्दर उदाहरण हो । तुलसी घिमिरे निर्देशित फिल्ममा निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको शीर्ष भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित यो फिल्मले मित्रता, प्रेम र त्यागको कथा पेश गर्छ ।

सन्ती

नीर शाह निर्देशित यो फिल्ममा करिश्मा मानन्धर र राजेश हमालको शीर्ष भूमिका छ । यो ऐतिहासिक प्रेम, रोमान्स र थ्रिलर फिल्मले राणाकालकी किशोरीको कथालाई प्रस्तुत गर्छ । डायमण्ड शमशेरले लेखेको उपन्यास ‘सेतो बाघ’मा यो फिल्म आधारित छ । तत्कालीन दरबारिया प्रेमकथालाई यसले सुन्दर ढंगले पेश गर्छ । राणाकालीन तत्कालीन कालखण्डमा प्रेमको आयाम कस्तो थियो भन्ने बुझ्न पनि यो फिल्म हेर्नुपर्छ ।

सानो संसार

२०६५ सालमा रिलिज भएको यो सुन्दर लभस्टोरी फिल्मलाई आलोक नेम्बाङले निर्देशन गरेका हुन् । नम्रता श्रेष्ठ, कार्म र जीवन लुइँटेलको शीर्ष भूमिका रहेको यो फिल्म प्रेम प्रसंगयुक्त र कमेडी फिल्म हो । नेपाली फिल्मको परम्परागत कथ्य वाचनमा यसले नयाँ खालको लभस्टोरी ट्रेन्डको थालनी गरेको थियो । यो फिल्मको सांगीतिक पक्षको पनि निकै चर्चा भएको थियो । यो फिल्मले नम्रता श्रेष्ठको करिअरलाई नयाँ उचाइ दिएको थियो ।

घामपानी

२०७० सालमा रिलिज भएको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । यसमा दयाहाङ राई र केकी अधिकारीको शीर्ष भूमिका छ । दुई अलग जातीय समुदायको प्रतिनिधित्व गर्ने फूर्वा र तारा बाल्यकालदेखिका साथी हुन् । तर ताराका बुवाले छोरीको विवाह स्वजातीय युवकसँग गर्न चाहन्छन् । यो कथावस्तुले दुई समुदायबीचको प्रेमकथा र यसको द्वन्द्वलाई गजबले चित्रण गरेको छ ।

लभ सासा

कार्म, केकी अधिकारी र शिवानी चालिसेको शीर्ष भूमिका रहेको यो फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । लामो समयदेखिको प्रेमीसँगको इन्गेजमेन्ट तयारीमा रहेकी युवती नयाँ युवकसँगको अफेयरमा परेको कथावस्तु यसमा छ । आधुनिक प्रेमको स्वाद पस्किइएको यो फिल्मलाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् ।

महानगर

मोहन राई निर्देशित यो फिल्मले एक साँझ दुई अपरिचित युवायुवती काठमाडौंमा भेटिएपछि सम्बन्धमा आउने उतारचढावको कथा पेश गर्छ । मानवीय सम्बन्ध र आशा चित्रण गर्ने यो फिल्ममा मेनुका प्रधान र कार्मको शीर्ष भूमिका छ । यो फिल्मले थुप्रै अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड पनि जितेको छ ।

जारी

उपेन्द्र सुब्बा निर्देशित यो फिल्म कुनै समुदायको निश्चित सांस्कृतिक विशेषता बोकेको भन्दा पनि प्रेमकथामा आधारित फिल्म हो । पूर्वश्रीमान र पूर्वश्रीमतीको कथावस्तु यसमा छ । दम्पतीले अलग हुने निर्णय गरे पनि विशेष परिस्थितिले यी दुईलाई नजिक ल्याउँछ । उनीहरुको प्रेम पुनः अंकुराउन थाल्छ । निर्देशक सुब्बाले लिम्बू समुदायमा प्रचलित जारीप्रथा र विवाह संस्कृतिलाई पनि गजबले चित्रण गरेका छन् । यो फिल्मको केन्द्रमा संस्कृतिभन्दा प्रेम लुकेको छ ।

यी १० फिल्म बाहेक अनमोल केसी र आना शर्मा स्टारर ‘जेरी’, सौगात मल्ल र उषा रजकको ‘कथा’, पहिलो नेवारी भाषाको फिल्म ‘शिलु’, बौद्ध समुदायको प्रेम कथामा आधारित फिल्म ‘झुमा’ पनि रोचक लभस्टोरी फिल्म हुन् । यी सशक्त र बलिया फिल्म अहिले पनि उत्तिकै मर्मस्पर्शी र अर्थपूर्ण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?