+
+

भीम सार्कीको त्यो फोनले क्रिकेटमा फर्किएका आकाश

अन्तिम पटक क्रिकेटमा ट्राइ गर्छु भनेर आकाशले आमालाई फकाए र खर्च मागे । आमाको मन न हो । छोराको रहरलाई नकार्न सकिनन् । छिमेकीकोमा गएर ५ हजार ऋण खोजेर ल्याइदिइन् ।

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० फागुन २ गते १९:३३
क्यानडासँगको खेलमा विकेट लिएपछि खुसी मनाउँदै आकाश र उनलाई बधाई दिन जाँदै भीम सार्की । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

२ फागुन, काठमाडौं ।  गतवर्ष नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टिम घोषणा गर्दा तीव्र गतिका बलर आकाश चन्द टोलीमा थिएनन् । तर अर्का तीव्र गतिका बलर राजेश यादव घाइते भएपछि उनले अन्तिम १८ मा जोडिने अवसर पाएका थिए ।

२०७९ फागुन १० मा युवा टोली युएई जाने कार्यक्रम थियो । अघिल्लो दिन गुल्शन झाले आईसीसी विश्वकप लिग–२ खेल्ने पक्का भएपछि आकाशले उनको स्थान लिने तय थियो । तर उड्ने दिनको बिहानसम्म टिकट काटिएको थिएन ।

जाने दिननै टिकट काटेर युएई उडेका उनले त्यसयताको एक वर्षमा नेपाली क्रिकेटमा अद्भूत उडान भरेका छन् । य–ू१९ मा राम्रो गर्दै नेपालको राष्ट्रिय टोलीबाट नै खेलिसकेका छन् ।

तर पनि उनले त्यो क्षण बिर्सिका छैनन्, ‘मलाई सबैभन्दा बढी दुःख त्यहिँ लागेको थियो । यू–१९ टोलीमा परिनँ । दुई तीन दिन सुत्नै सकिनँ । यस्तो किन भयो भनेर सोची रहेँ । दुई तीन दिन कोठाबाट पनि निस्किनँ । एक दिन खाना पनि खाइनँ ।’

अन्तिम समयमा टोलीमा परेर युएई गए पनि पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध हेमन्त धामी र दुर्गेश गुप्तालाई खेलाएपछि आकाश बेञ्चमा बसे । दोस्रो खेलमा कुवेतविरुद्ध दुर्गेशको स्थानमा खेने अवसर पाए ।

देव खनाल १२५ र अर्जुन कुमाल १०८ रनको सहयोगमा नेपालले दिएको ३४४ रनको विजयी लक्ष्य पछ्याएको कुवतेलाई १ सय रनमा अल आउट गर्न आकाशले ९.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिए ।

त्यसपछि यू–१९ क्रिकेटमा लगातार पहिलो रोजाइमा खेल्न थाले । अर्को खेलमा हङकङसँग २ र मलेसियासँग ३ विकेट लिए । यू–१९ विश्वकप छनोट, यू–१९ प्रिमियर कप, एसिया कप हुँदै अघिल्लो महिना दक्षिण अफ्रिकामा यू–१९ विश्वकपमा राम्रो प्रभाव छाडे ।

सुपर सिक्समा पुग्ने निर्णायक खेलमा अफगानिस्तानलाई हराउनै पर्ने खेलमा आकाश नेपालको हिरो बने । उनको पाँच विकेटको सहयोगमा अफगानिस्तान १४५ रनमा अल आउट भएको थियो । त्यसअघि पाकिस्तानसँगको खेलमा ३ विकेट लिएका थिए ।

त्यो प्रदर्शनपछि मोन्टी देशाईले क्यानडासँगको तीन खेलको एक दिवसीय सिरिजमा आकाशलाई मौका दिए । १० फेब्रुअरीका दिन दोस्रो खेलमा उनलाई नेपालका अनुभवी क्रिकेटर शरद भेषावकरले डेब्यू क्याप दिए ।

‘नेपालको लागि डेब्यू गर्दा खुसी र गर्व लागेको थियो । शरद दाइबाट डेब्यू क्याप पाउनु मेरो लागि धेरै ठूलो कुरा हो,’ उनी सम्झन्छन् ।

डेब्यूपछि ड्रेसिङ रुममा जार्दै गर्दा विनोद दासले पहिलो खेलमा नर्भस नहुनु भन्दै शुभकामना दिए । दासको बोली सुनेपछि भित्रबाटै आँशु झरे जस्तो भएको सुनाउँदै उनी भन्छन्, ‘विनोद सरले दुई तीन शब्द अरु बोलेको भए म त रुन्थे होला’

क्यानडालाई ओपनर आरोन जोनसन र नवनित धलिवालले ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । टियु एन्डबाट आएका आकाशको बलमा धलिबाल एज लागेर आसिफ शेखबाट क्याच आउट भएपछि नेपाल र आकाश दुवैले पहिलो विकेट पाए ।

उत्कृष्ट सुरुवातको अन्त्य गर्दा आकाशले डेब्यू विकेटमा चोभार एन्डको दर्शकदीर्घामा उत्कृष्ट सेलेब्रेसन गरेका थिए ।

अफगानिस्तानविरुद्ध भावुक त्यो अन्तिम क्षण

२६ जनवरीका दिन यू–१९ विश्वकपमा आकाशको ५ विकेटकै मद्दतमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अल आउट गरेको थियो । १४६ रनको विजयी लक्ष्य पछ्याउँदा आकाश ४४ औं ओभरको अन्तिम बलमा १ रनमा बोल्ड भए । नेपाललाई जितको लागि दुई रन चाहिँदा १ विकेट हातमा थियो ।

‘दुई रन चाहिँदा म आउट भएँ । देव उता रोइराखेको थियो । दुई तीन जना अर्को छेउमा रोएर बसेका थिए । म रुँदै फर्किदा तिलकलाई जिताएर आउन भनेको थिएँ’, उनी सम्झन्छन् ।

तिलक नन स्ट्राइकमा उभिए । ४५ औं ओभरको पहिलो बल फेस गर्न ५ रन बनाइसकेका सुभाष भण्डारी तयार थिए । तर अफगानी बलरले वाइड फाले स्कोर बराबरी भयो ।

त्यसपछिका ३ बल सुभाषले डट खेले, चौथो बलमा उनले अफगानी बलर अरब गुललाई चौका हाने । ‘सुभाषले चौका हानेर जितायो । त्यसपछि एकदमै खुसी । बयान नै गर्न सकिँदैन । पाँच फुटको प्याडनै लगाएर भागेका थियौं । चोट लाग्न सक्थ्यो । तर त्यो खुसीमा के भइरहेको छ कसैलाई थाहा थिएन’, उनी त्यो जित अहिले पनि सम्झन्छन् ।

विकेटकिपरबाट बलर

महेन्द्रनगरको बनगाउँमा जन्मिएका आकाशले सानोमा घरबाट नै टेनिस बलले क्रिकेट सुरुवात गरेका हुन् । सुरुवात गर्दा उनी विकेटकिपर ब्याटर थिए । अंकलका छोरा र आफ्नै दाइ क्रिकेट खेल्न भारत जान्थे ।

आकाशले क्रिकेट खेल्दा घुम्न जान पाइन्छ भनेर सुरुवात गरेका थिए । खेतमा क्रिकेट खेल्ने उनले त्यो समयमा नेपाली टोलीबाट खेल्ने कल्पनै गरेका थिएनन् । पछि कञ्चनपुर क्रिकेट एकेडेमीमा भर्ना भए ।

महेन्द्रनगर क्रिकेटको उर्भर भूमि मानिन्छ । चन्द्र साउद, विनोद भण्डारी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, प्रदीप ऐरी, भीम सार्की लगायतका थुप्रै खेलाडी त्यहाँबाट उत्पादन भइसकेका छन् ।

सन् २०१८ तिर विनोद भण्डारी घर गएका थिए । त्यसै बेला आकाशलाई उनले हाइट राम्रो भएकाले बलर बन्न सुझाव दिए ।

‘विनोद दाइले तेरो हाइट छ, बलिङ पनि गर भन्नुभयो । मेरो लाइफको टर्निङ प्वाइन्ट नै त्यहिँ थियो । मैले त्यो दिनपछि ब्याटिङ नै छोड्दिएँ । बलिङ सुरुवात गरेको एक वर्षमै यू–१९ को नेट बलर बनेर काठमाडौं आएँ’, उनले भने ।

भीमको त्यो फोन

बुबा रोजगारीको कारण भारतमा थिए । दिदीको बिबाह भइसकेको थियो । भाइले पढ्छ भनेर दाइले छाडेका थिए । क्रिकेटमा लागेपछि आकाशले पनि पढाइ अघि बढाउन सकेनन् । आर्मी पुलिसतिर जानलाई दाइको हात भाँचिएको थियो ।

त्यसैले आमाले केहि गर्न सुझाव दिएकी थिइन् । घरको आर्थिक अवस्था कमजोर हुँदा आमाले आर्मी पुलिसमा भर्ती हुन वा विदेश जान सुझाव दिएकी थिइन् । आकाशले पनि दुई तीन वर्षमा आर्मी पुलिस नभए विदेश जानुपर्छ भन्ने सोचका साथ क्रिकेट छाडिसकेका थिए ।

२०७६ साल असोजको अन्तिमतिर कुनै दिन काठमाडौंबाट भीम सार्कीले आकाशलाई फोन गरे । भीमले यू–१९ विश्वकप छनोटको तयारीका लाग क्यानले टिम बनाउन लागेको भन्दै नेट अभ्यासका लागि काठमाडौं बोलाएका थिए । घर गएको बेला भीमले आकाशको खेल हेरेका थिए ।

अन्तिम पटक क्रिकेटमा ट्राइ गर्छु भनेर आकाशले आमालाई फकाए र खर्च मागे । आमाको मन न हो । छोराको रहरलाई नकार्न सकिनन् । छिमेकीकोमा गएर ५ हजार ऋण खोजेर ल्याइदिइन् ।

आकाश काठमाडौं त आए, तर क्याम्प केहि ढिलो सुरु हुने भयो ।

ढिलो क्याम्प सुरु हुँदा नेट बलर नै नराख्ने भयो । सिधै म्याच खेलाउने तयारी क्यानले गर्‍यो । म्याच खेल्न उनलाई प्रदेशबाट कसैले भन्दिनुपथ्र्यो । विनोद दासले निरज चन्दलाई भनेर उनलाई खेल्ने अवसर दिलाए ।

उनले पहिलो खेलमै त्यस बेला नेपालको यू–१९ मा नाम चलेका आसिफ शेख, पवन सर्राफ र रित गौतमलाई आउट गरे । दोस्रो खेलमा दुई र तेस्रोमा तीन विकेट लिए ।

उनले बलिङमात्रै होइन, एउटा खेलमा ब्याटिङ पनि गरे । उनी स्ट्राइकमा पुग्दा सन्दीप लामिछाने बलिङमा थिए । उनले सन्दीपको बलमा एक छक्का र चौका हाने ।

‘बाहिरबाट मलाई आयुशमान, रोयल बम दाइले सन्दीपको ह्याट्रिक बलमा छक्का हान भन्नु भयो, मैले सन्दीपलाई एक छक्का र चौका हानेँ,’ उनी रोमाञ्चित हुँदै सुनाउँछन्, ‘सन्दीप दाइ जस्तो मान्छेलाई छक्का र चौका कसरी हानेँ मलाई नै थाहा थिएन ।’

त्यसपछि नेपालको यू–१९ टोलीमा पर्दै यू–१९ च्यालेञ्जर सिरिज खेल्न भारत गए । भारतकै ३ वटा टोली सम्मिलित प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि फ्रेन्चाइज क्रिकेट, घरेलु हुँदै २०२१ मा त्रिभुवन आर्मी क्लबमा जोडिएका उनी अहिले राष्ट्रिय टोलीमा परेका हुन् ।

आकाशसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?