+
+

‘गोर्खा वारिअर’को धरान प्रिमियर, मुख्यमन्त्री कार्की भन्छन्- यो हाम्रो पहिचान हो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ५ गते २२:०५
धरानका मेयर हर्क साम्पाङ (बीचमा), निर्देशक मिलन चाम्स र अभिनेत्री रेविका गुरुङ ।

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘गोर्खा वारिअर’लाई शनिबार लाहुरेको सहर धरानमा प्रिमियर गरिएको छ । फ्रेन्ड्स सिनेमाज हलमा आयोजित प्रिमियरमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र धरान उपमहानगरका मेयर हर्क साम्पाङ अतिथि थिए ।

प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको र यसबाट आफू उत्साहित भएको जानकारी निर्देशक चाम्सले अनलाइनखबरलाई दिए । ‘एकदमै उत्कृष्ट प्रतिक्रिया प्राप्त भयो । उक्त हलमा भोलिदेखि नै एड्भान्स बुकिङ खुल्दैछ’ उनले भने ।

प्रिमियरमा निर्देशक चाम्स, निर्माता सुमन राईसहित कलाकारहरु रितेश चाम्स, रेविका गुरुङ, रियर राई, विजय लामा लगायत सहभागि थिए । निर्माता राईले धरानको प्रतिक्रियाले आफूहरु थिएट्रिकल रिलिजका लागि झनै उत्साहित भएको बताए ।

प्रिमियर समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विश्वमा ‘गोर्खा वारिअर’को रुपमा नयाँ पहिचान थपिएको बताए । उनले निर्देशक चाम्सको प्रशंसा गर्दै फिल्ममार्फत विश्वमा नेपालीको पहिचान जीवित राख्न योगदान दिएको बताए । ‘यो फिल्म मात्र नभएर हामी हरेकको कथा र पहिचान हो । यसलाई हौसला दिनुपर्छ’ कार्कीले भने ।

धरानपछि यो वार-ड्रामालाई पोखरा र काठमाडौंमा प्रिमियरको तयारी छ । निर्माताले प्रिमियरका लागि पोखरा र धरानजस्ता लाहुरे बहुल थलो छानेका छन् । फिल्मको ब्यवसायिक भविष्यका लागि यी दुईको प्रवद्र्धन महत्वपूर्ण हुनसक्ने ठानिएको छ ।

७० वर्षअघिको मलाया युद्धमा बेलायती सेनामा कार्यरत गोर्खाली सैनिकले लडेको बहादुरीपूर्ण लडाइको कथा यो फिल्मले पेश गर्छ । हलमा भने दर्शकले यो फिल्मलाई फागुन ११ गते हेर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?