+
+

एमालेले माग्यो मन्त्री प्रकाश ज्वालाको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते ११:२६
एमाले सचेतक महेश बर्तौला

६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । आजको प्रतिनिधि सभाको बैठकमा एमालेले मन्त्री ज्वालाको राजीनामा मागेको हो ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट दुई जनाको मृत्यु भएको घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको उच्चस्तरीय आयोगको छानविनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै एमालेले विरोध जनाएको छ ।

आजको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले ज्वालालाई बर्खास्त गर्न माग गरे ।

कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा आयोग बनाएको थियो । आयोगले गत शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा प्रदर्शनस्थलको बाटो हुँदै यात्रा गर्ने मन्त्री ज्वालासँगै उनका पीएसओ र फिल्ड कमाण्डर नेपाल प्रहरीका डीएसपी पनि दोषी देखिएको निष्कर्ष छ ।

संसद बैठकमा एमालेका सचेतक बर्तौलापछि बोलेका रास्वपाका सभापति रवि लामिछानेले पनि बालकुमारी घटनामा मन्त्री नै दोषी भएको भनेर निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए ।

‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पार्यो । यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले,’ उनले भने ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेकपा एमाले र रास्वपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई समय दिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदहरुको प्रश्नोत्तरको कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?