+
+

त्रिविको उपकुलपति छनोट प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी : अनेरास्ववियु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १९:००

६ फागुन, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अपारदर्शी र स्वेच्छाचारी भएको आरोप लगाएको छ ।

फागुन २ देखि ४ गतेसम्म भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि सरकारले अपारदर्शी तवरले सिफारिस समिति गठन गरेको र समितिले स्वेच्छाचारी ढंगबाट प्रक्रिया अगाडि बढाएको भन्दै तत्काल त्रिविको शासकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रष्टीको नीतिगत व्यवस्था गर्न माग गरेको छ ।

‘त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको लागि सरकारले अपारदर्शी तबरले सिफारिस समिति गठन गरेको, समितिले स्वेच्छाचारी ढंगबाट प्रक्रिया अगाडि बढाएकोमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ’, अध्यक्ष समिक बडालले विज्ञप्तिमा भनेका छन्, ‘मेरिटोक्रेसीको नाटक मञ्चन गरेर पुनः राजनीतिक भागवण्डाको आधारमा उपकुलपति नियुक्त नगर्न र तत्काल वर्तमान साशकीय संरचना परिवर्तन गरी बोर्ड अफ ट्रष्टीको अवधारणाको नीतिगत व्यवस्था गर्न जोडदार माग गर्ने निर्णय गरिएको छ ।’

अनेरास्ववियुको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले मावि स्तरीय राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता, विद्यार्थी महोत्सव, एसियन स्टुडेन्ट कन्फरेन्स गर्ने लगायतको निर्णय गरेको छ ।

अनेरास्ववियुका अनुसार १३ वैशाख २०८१ देखि १४ असारसम्म हुने मावि स्तरीय राष्ट्रिय हाजिरी जवाफ प्रतियोगितामा १० हजार विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने गरी आयोजना गर्ने तयारी छ । त्यस्तै संगठनको ६० औं स्थापना दिवसको अवसरमा १ जेठमा आयोजना हुने विद्यार्थी महोत्सवमा १ लाखदेखि २ लाख विद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागी हुने अनेरास्ववियुको दाबी छ ।

महोत्सवमा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिहरुसँग जोड्ने, विद्यार्थीहरुको बहुआयामिक प्रतिभाहरुलाई उजागर गर्ने, युवाहरूमा कला, संस्कृित, नवप्रर्वतन र राजनीतिक चेतनाको विस्तार गर्ने अनेरास्ववियुले जनाएको छ ।

त्यस्तै नेपाली विद्यार्थी आन्दोलनलाई एसियाली स्तर तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि एसियन स्टुडेन्ट कन्फरेन्स आयोजना गर्ने निर्णय अनेरास्ववियुले गरेको छ । शिक्षा, शिक्षा प्रणाली, दिगो विकासका लक्ष्यहरू तथा राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरूमा विद्यार्थीहरू संगठनहरूबीच छलफल गराई साझा धारणा बनाउने गरी कार्यक्रमहरू तय गर्ने अनेरास्ववियुले जनाएको छ ।

अनेरास्ववियुले आयोजना गर्ने यस कार्यक्रममा एसिया क्षेत्रका समाजवादी तथा प्रजातान्त्रिक विद्यार्थी संगठन र शैक्षिक आन्दोलनमा क्रियाशिल नेताहरू, विश्वविद्यालय स्ववियुका अध्यक्षहरू लगायतको सहभागिता रहने निर्णयमा उल्लेख गरेको छ ।

अनेरास्ववियुको २२ बुँदे निर्णयमा कर्णाली प्रदेशलगायतका दुर्गम क्षेत्रमा हवाइ भाडामा ३३ प्रतिशत विद्यार्थी छुट प्रदान गर्न सरकारलाई दबाब दिने, स्ववियु काउन्सिलको आयोजनामा ‘स्ववियु कप राष्ट्रिय भलिबल प्रतियोगिता’ आयोजना गर्ने विषय पनि उल्लेख छ ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, मध्यपश्चिमबाहेक अन्य विश्वविद्यालयहरूमा नियमित रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?