+
+

मन्त्रीकै सल्लाहकार बने दूरसञ्चार प्राधिकरणको अध्यक्ष, शंकास्पद विगत

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० फागुन ६ गते २३:५९

६ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठकले आइतबार भूपेन्द्र भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको छ । भण्डारी तिनै पात्र हुन्, जो सात महिनाअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त भएका थिए ।

सिंहदरबार छिरेको छोटो समयमै भण्डारी दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनेका छन् । उनले मन्त्रालयभित्रै बसेर प्राधिकरणको अध्यक्ष बन्न अनुकुल वातावरण तयार गरेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट भण्डारीले विदेशमा समेत बसेर टेलिकम कम्पनीमा काम गरेका थिए । पछिल्लो आधा दशक नेपालमा ‘पे नेप’  कम्पनी चलाएर असफल भएका दाङका बासिन्दा भण्डारीलाई दाङबाटै संसदमा निर्वाचित सञ्चारमन्त्री शर्माले सल्लाहकारमा राखेकी थिइन् ।

प्रक्रिया नै गोलमटोल पारेर उनलाई सिंहदरबार प्रवेश गराउने मन्त्री शर्माको कदम नै शंकास्पद थियो । ५ असार २०८० को मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रालयको सहसचिवस्तरको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

५ असारमा मन्त्रालयको दूरसञ्चार सल्लाहकारलाई सहसचिवको तलब भत्ता, गाडी र चालक उपलब्ध गराउने भन्दै नेपाल दूरसञ्चार प्राधिकरणसँग सहमतिका लागि मन्त्रालयले पत्र लेखेको थियो ।

सोही दिनमा दूरसञ्चार प्राधिकरणबाट सहमति पाइसकेको भन्दै झुटो विवरण राखेर तत्कालीन सञ्चार सचिव कृष्णबहादुर राउतले नियुक्तिका लागि प्रस्ताव तयार गरेका थिए भने मन्त्री शर्माले मन्त्रिपरिषद बैठकमा प्रस्ताव पठाउन स्वीकृति दिएकी थिइन् ।

५ असारमै मन्त्रिपरिषद्ले भण्डारीलाई मन्त्रीको सल्लाहकार नियुक्त गरेको थियो भने सोही दिनमा मन्त्रिपरिषदबाट निर्णय प्रमाणीकरण भएर आएपछि भण्डारीले नियुक्तिको पत्र बुझेका थिए । साउनदेखि प्राधिकरणबाटै तलब र चालकसहितको गाडी सुविधा लिइरहेका छन् ।

भण्डारीको नियुक्ति सम्बद्ध यस्ता विवरणहरु बाहिरिएपछि मन्त्री शर्मा र तत्कालीन सचिव राउतबीच मतभेद भएको थियो । मन्त्रालयमा आफ्नो भन्दा बढी भण्डारीको रजगज चलेपछि राउतले निटस्थहरुसँग तीव्र असन्तोष व्यक्त गर्ने गरेका थिए । मनमुटाव बढ्दै गएपछि मन्त्री शर्माले सञ्चार सचिवमा रामकृष्ण सुवेदीलाई ल्याएकी थिइन् ।

भण्डारी मन्त्रालय आएदेखि नै विभिन्न विवादास्पद प्रकरणमा मुछिएको दूरसञ्चार प्राधिकरणमाथि मन्त्रालयबाट दबाब बढ्न थालेको थियो । विवादास्पद प्रकरणमा मुछिँदा पनि प्रतिरक्षा गरिरहेका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालको भूमिकामाथि थप प्रश्न उठ्ने गरी भण्डारीले मन्त्रालयस्तरबाटै छानबिनको योजना तयार गरेका थिए ।

मन्त्रालयले नै अनियमितताको विवादमा फसेका टेरामक्स, एमडीएमएस प्रविधिसम्बद्ध आयोजनामा भएको अनियमितताको अध्ययन गरेर प्रतिवेदन तयार गरेको थियो । महालेखा परीक्षकले बेरुजु औंल्याएको इन्टरनेट सेवा प्रदायकको रोयल्टी र ग्रामीण दूरसञ्चार दस्तुरसम्बन्धी विवादमा समेत अध्ययन गराउन योजना तयार गरेका थिए । त्यसअनुसार मन्त्रालयले छानबिन गरेर प्राधिकरणलाई असुल गर्न निर्देशन दिएको थियो ।

फ्रिक्वेन्सी नीति तयार गर्न र अनुमतिपत्र खोसिएका स्मार्ट टेलिकमजस्ता दूरसञ्चार सेवा प्रदायकहरुको सम्पत्ति व्यवस्थापन नियमावली संशोधनमा पनि भण्डारीले नेतृत्वदायी भूमिका खेलेका मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यसरी प्राधिकरणमा भएका अनियमितताबारे मन्त्रालयले छानबिन गरेर प्रतिवेदन तयार गर्दै विभिन्न निर्देशन दिएपछि दबाब परेका तत्कालीन प्राधिकरण अध्यक्ष खनालले २४ पुसमा राजीनामा बुझाएका थिए ।

जोडबल लगाएर अनियमितताको अध्ययन गराउन भूमिका खेलेका भण्डारीले आफू प्राधिकरणको अध्यक्ष हुनलाई भने नियमित बाटो हिँडे्नन् । प्रतिस्पर्धा खुम्च्याउने गरी १४ माघमा दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिका विज्ञापन प्रकाशित भयो ।

निजी क्षेत्रमा सञ्चार प्रविधि क्षेत्रमा १० वर्ष काम गरेकाहरु योग्य हुने तर, सरकारी निकायमा उपल्ला पदबाहेक अन्यमा १० वर्ष अनुभव हासिल गरेकाहरु अयोग्य हुने गरी स्वघोषणा फारम भर्नुपर्ने प्रावधान राखियो । दूरसञ्चार ऐनले दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक र प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा तोकिए बमोजिम योग्यता र अनुभव भएका अध्यक्ष हुनसक्ने भनेपनि स्वघोषणामा सम्बन्धित क्षेत्र भनेर प्रतिस्पर्धा खुम्च्याइएपछि विवाद अदालतमा पुग्यो ।

यही बीचमा २५ जनाले आवेदन दिँदा भण्डारी पनि प्रतिस्पर्धीका रुपमा देखिए । मन्त्रालयभित्रै बसेर प्राधिकरणको मामिला हेरिरहेका भण्डारी स्वार्थ बाझिने गरी पूर्वयोजना अनुसार नै दाबेदार बने ।

मन्त्रालयको विज्ञापनमाथि परेको रिटमा सर्वोच्च अदातबाट अन्तरिम आदेश नआएपछि  शुक्रबार अन्तर्वार्ता गरिएको थियो । तर, सिफारिस भएका तीन जनाको नामसमेत सार्वजनिक नगरी भण्डारी प्राधिकरणको अध्यक्ष नियुक्त भए ।

शंकास्पद विगत

प्राधिकरण अध्यक्ष बनेका भण्डारीले विगतमा विभिन्न बैंक, वित्तीय संस्था र टेलिकम कम्पनीसँग आवद्ध भएर काम गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट २०५४ सालमा व्यवस्थापनतर्फ स्नातक गरेका भण्डारीले २०५९ देखि बैंकिङ क्षेत्रमा काम सुरु गरेका थिए । तत्कालीन नेपाल श्रीलंका मर्चेन्ट बैंकमा कम्पनी सचिव भएर काम गरेका उनी पछि बैंकमा लेखा तथा वित्त प्रमुख बनेका थिए ।

त्यसपछि उनले नेपालगञ्जमा तत्कालीन कर्णाली विकास बैंक संस्थापक बोर्ड सचिव तथा प्रमुख कार्यकारी अधिकृत र तत्कालीन पशुपति विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे ।

२०६२ मा भारतको इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टसबाट चार्टर्ड एकाउन्टेन्टको कोर्स पूरा गरेका थिए । करिब तीन वर्ष उनले भारतमै सीएका रुपमा तालिम लिएपछि नेपाल फर्किएका थिए । २०६४ मा इन्ष्टिच्यूट अफ चार्टर्ड एकाउन्टेन्टस नेपाल (आइक्यान) को सदस्यता लिएपछि भण्डारीले सात महिना तत्कालीन मेरो मोबाइल (हालको एनसेल)को सञ्चालक कम्पनी स्पाइस नेपाल प्रालिको नायव प्रमुख वित्तीय अधिकृतको रुपमा काम गरे ।

त्यतिबेला गैरआवासीय नेपालीहरुसँग सम्बन्ध बनाएका उनले गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा सञ्चालन भएको ‘लासेल’ (स्मार्ट मोबाइल) मा २०६४ सालदेखि २०७२ सम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरे ।

त्यसपछिको एक वर्ष भने उनले महतो समूहकै लगानी रहेको सियरालियोनको इन्टरग्रुप टेलिकममा प्रमुख कार्यकारी अधिकृत भएर काम गरे ।

फेरि लासेल कम्पनीमै ‘कन्सल्ट्यान्ट’का रुपमा एक वर्ष काम गरेपछि उनी २०७४ मा नेपाल फर्किए र पे नेप प्रालि खोलेर ‘मोरु’ मोबाइल वालेटको बिजनेस थाले । तर, ६ वर्षसम्म कम्पनी सफल नभएपछि गत असारमा उनी सिंहदरबार प्रवेश गरेका थिए ।

दूरसञ्चार प्राधिकरणका अधिकारीहरु नेपाल टेलिकमको २५ वर्षे मोबाइल सेवाको लाइसेन्स अवधि नवीकरण गर्ने बेलामा भण्डारीको प्राधिकरण प्रवेशलाई अर्थपूर्ण मान्छन् । आगामी वैशाखमा टेलिकमले लाइसेन्स नवीकरण गर्नुपर्नेछ । तर, त्यस्तो नवीकरण गर्दा कति शुल्क लिने भन्ने अहिलेसम्म अन्योल छ ।

‘२०८६ मा एनसेलको लाइसेन्स नवीकरण हुँदा टेलिकमकै भएअनुसार हुने भएकाले नयाँ अध्यक्षज्यू अग्निपरीक्षाको समयमा आउनुभएको छ’, प्राधिकरणका एक अधिकारीले भने,‘उहाँको विगत नेपालमा मोबाइलको लाइसेन्समा चलखेल गर्ने समूहकै निकटमा बितेकाले नीतिगत निर्णयहरुमा उहाँलाई सहज हुनेछैन ।’

यसबाहेक अनियमिततामा मुछिएका एमडीएमसएस, टेरामक्स जस्ता अलपत्र परियोजनाहरुलाई पनि टुंगोमा पुर्‍याउनुपर्ने चुनौती भण्डारीसामु छ ।

भण्डारीले भने मन्त्रालयमा बसेर सुशासनका लागि आफूले कदम चालेकाले प्राधिकरणभित्र पनि सुशासन कायम गर्ने बताएका छन् ।

मन्त्री रेखा शर्माको सचिवालयले सञ्चारमाध्यमलाई पठाएको नोटमा भण्डारीले नेपालमा सूचना प्रविधि क्षेत्रमा भए गरेका बेथितिहरु कानुनको परिधिभित्र ल्याएर राष्ट्रको हितमा हुने गरी काम गरेको र गरिरहने उल्लेख गरिएको छ ।

‘..यो क्षेत्रबाट देशको अर्थतन्त्र र रोजगारी वृद्धिमा योगदान दिनुका साथै भरपर्दो तथा उच्च गुणस्तरको टेलिकम सेवाको सुनिश्चितता गरेर अगाडि बढ्ने साथै नेपालमै बसेर राष्ट्रको सेवा गर्ने दृढ संकल्प र उच्चमनोबलका साथ काम गरिराख्नुभएको छ’ भण्डारीबारे सञ्चारमन्त्रीको सचिवालयले नोटमा भनेको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?