+
+

‘काँडेतार’लाई एकल रिलिज गर्न दिन बोर्डमा नवल खड्काको उजुरी  

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते ११:५२

काठमाडौं । फागुन २५ गते आफू निर्देशित फिल्म ‘काँडेतार’लाई एकल प्रदर्शन गर्न दिन भन्दै निर्देशक नवल खड्काले चलचित्र विकास बोर्डमा उजुरी दिएका छन् । उक्त निवेदनलाई आइतबार बोर्डले दर्ता गरेको छ ।

उक्त मितिमा ‘काँडेतार’सहित ‘उपहार’ र ‘रंगेली’ले पनि रिलिज मिति घोषणा गरेका छन् । गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको पनि खड्काले उल्लेख गरेका छन् ।

चलचित्र निर्माण, प्रदर्शन र वितरण नियमावली २०५७ बमोजिम बोर्डले दिने इजाजत पत्रको प्रकरण नम्बर (च ४) मा प्रदर्शकले स्वदेशी वा विदेशी फिल्म प्रदर्शन गर्दा सेन्सर पास भएको मितिलाई आधार मानेर सबैभन्दा पहिले जाँचपास भएको फिल्मलाई प्रदर्शनको मौका दिनुपर्ने भन्ने व्यवस्थाको स्मरण उनले गराएका छन् ।

बोर्डले आयोजना गरेको कथा लेखन प्रतियोगितामा उत्कृष्ट भएर यो फिल्मले १० लाख नगदसहित पुरस्कार जितेको र यसमा बोर्डको पनि सहकार्य रहेको निवेदनमा उल्लेख छ ।

‘प्रचलित नेपालको कानुनको अक्षरशः पालना गरी देशभक्तिपूर्ण चलचित्र निर्माण गरेर प्रदर्शन गर्न लागिएको व्यहोरा समेत अवगत गराउँछु,’ चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले उजुरीमा भनेका छन्, ‘सोही नीति नियमलाई परिपालना गरी चलचित्र काँडेतारलाई एकल प्रदर्शन गर्नका निम्ति सम्बन्धित निकायलाई निर्देशन दिई कानुन परिपालना गर्न गराउन अनुरोध गर्दछु ।’

उजुरीमार्फत आफूले सरकारले नै बनाएको नीति नियम कार्यान्वयन गर्न आग्रह गरेको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?