+
+

रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को टिजर : शैक्षिक बेरोजगारीमाथि कटाक्ष

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १६:१२

काठमाडौं । वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट टिजर भिडियो सार्वजनिक गरेको हो ।

साढे तीन मिनेट लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । गाउँको बेरोजगार डिग्रीधारीलाई शिक्षकको जागिरमा लिन हेडमास्टरले कनिकुथी अंग्रेजीमा लिएको प्रसंगदेखि आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रको किस्सा यसमा छ ।

आँचल शर्मासँग दयाहाङ राईको रोमान्टिक दृश्य पनि यसमा समेटिएको छ । दयाहाङ र आँचलको शीर्ष भूमिका रहेको सोसल-ड्रामा फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर जसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन ।

आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ ।

फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले बटमलाइन बनाएको छ ।

रामबाबुले ‘डिग्री माइला’ रिलिजपछि २०८१ सालमा ‘सुन्दर बजार’ र ‘कबड्डी ५’ बनाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?