+
+

त्रिभुवन विमानस्थल भन्सारमा जान सहसचिव पोखरेलको अटेरी

मधेशमा भएको सरुवा रोकेपछि भन्सार कार्यालय नजान जोडबल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० फागुन ७ गते २३:५९

७ फागुन, काठमाडौं । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखविहीन भएको छ ।

सहसचिव सेवन्तक पोखरेलले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुखका रुपमा हाजिर हुन आनाकानी गरेका छन् । अर्थ मन्त्रालयका अधिकारीहरुले सल्लाह नगरी विमानस्थल भन्सार कार्यालयमा सरुवा गरेको भन्दै पोखरेल असन्तुष्ट छन् ।

मन्त्री डा. प्रकाशशरण महतले १९ माघमा उनलाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए ।

तर, पोखरेलले भने विमानस्थल भन्सार कार्यालयमा जान रुचि देखाएका छैनन् । भन्सार विभागमा भने उनको ठाउँमा टंकप्रसाद पाण्डेय हाजिर भइसकेका छन् ।

पोखरेल भने सरुवा गरेको कार्यालयमा हाजिर नभएपछि भन्सार कार्यालयमा दैनिक कामकाज नै प्रभावित हुने अवस्था आएको कर्मचारीले बताएका छन् । १८ दिनसम्म पनि पोरखेल हाजिर नभएपछि भन्सार कार्यालयबाट सरुवा भएका सहसचिव टोकराज पाण्डेले आइतबार रमाना लिएको स्रोतको दाबी छ ।

अहिले भन्सार विभागले उपसचिव (प्रमुख भन्सार अधिकृत) गगनबहादुर बिकेलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको छ । ‘कतिपय जोखिम लिएर निर्णय गर्नुपर्ने हुन्छ, कतिपय अवस्थामा तुरुन्तै लिनुपर्ने निर्णय र एक्सन पनि हुन्छ’, विमानस्थल भन्सार कार्यालयका एक अधिकारी भन्छन्, ‘निमित्त प्रमुखले भन्सार सम्हाल्दा अनेकन समस्या पर्छ ।’

गत ३ साउनमा तत्कालीन भन्सार प्रमुख अरुण पोखरेल विदामा बसेर निमित्त प्रमुखले नै भन्सार सम्हालेका बेला सुन तस्करीबारे भन्सारमा आउनुपर्ने सूचना राजस्व अनुसन्धान विभागमा पुगेको थियो । ६१ किलो सुनसहितको ‘ब्रेक सु’ विमानस्थल भन्सारबाट बाहिरिएपछि मात्रै राजस्व अनुसन्धान विभागले समातेको थियो ।

राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई संगठित अपराधमा अनुसन्धान गर्न जिम्मा दिएको सो प्रकरणमा भन्सारकै कर्मचारीहरु पनि समातिएका थिए ।

९ साउनमा टोकराज पाण्डेय प्रमुख भन्सार प्रशासकका रुपमा कार्यालयमा सरुवा भएका थिए । त्यतिबेला प्रहरीले कर्मचारीलाई मानसिक तनाब दिएको भन्दै विमानस्थल भन्सारभित्रै कर्मचारीले प्रहरीविरुद्ध आन्दोलन गरिरहेका थिए ।

त्यसअघि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको प्रकरणमा समेत प्रहरीले भन्सार नासु रेवन्त खड्काविरुद्ध मुद्दा चलाएको थियो ।

२१ मंसिरमा विमानस्थलमा भन्सार कार्यालयकै अग्रसरतामा १४ किलो तस्करीको सुन बरामद भएको थियो । तर, २४ मंसिरमा भन्सारबाट बाहिरिएको साढे ६ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

यसरी सिलसिलावद्ध सुन तस्करीको घटना बढेपछि अर्थ मन्त्रालयले विमानस्थलको भन्सार क्षेत्रमा नेपाल प्रहरीको असन्तुष्टिका बीच माघ पहिलो हप्तादेखि सशस्त्र प्रहरी बललाई चेकजाँचको जिम्मा दिएको थियो । यसले गर्दा भन्सारसँग विमानस्थल सुरक्षा हेर्ने मूल जिम्मा पाएको नेपाल प्रहरीको सम्बन्ध सुमधुर छैन ।

पाण्डेले पनि भन्सार प्रमुख भएर विमानस्थलमा लामो समय बस्न चाहेनन् । र, अर्थमन्त्री महतले विज्ञ कर्मचारीका रुपमा भन्सार विभागबाट सेवन्तक पोखरेललाई विमानस्थलमा पठाउने निर्णय गरेका थिए ।

विमानस्थल भन्सार अनेक झमेलामा परेका बेला सरुवा गरिएको भन्दै असन्तुष्ट पोखरेल पद सम्हाल्न नजाँदा संवेदनशील सरकारी कार्यालय प्रमुखविहीन बन्न पुगेको छ ।

३ माघमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको सहसचिव सरुवाको सूचीमा पोखरेल अर्थ मन्त्रालयबाट मधेश प्रदेशको अर्थ मन्त्रालयमा सरुवा भएका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री अनिता देवीले पोखरेलसहित २९ जना सहसचिवको सरुवा भएको सार्वजनिक रुपमै बताएकी थिइन् ।

तर, ९ माघमा निर्णय प्रमाणीकरण हुँदा २८ जना सहसचिवको मात्रै सरुवा भएको सूची बन्यो । संघीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरुलाई चक्मा दिँदै एकाएक पोखरेलको नाम सहसचिव सरुवाको सूचीबाट गायब भएको थियो ।

पोखरेलले राजनीतिक पहुँच प्रयोग गरेर अर्थ मन्त्रालयमै आफ्नो थमौती गरेको भन्दै मन्त्री महतले पोखरेललाई विमानस्थल भन्सारमा पठाउने निर्णय गरेको स्रोतको दाबी छ ।

पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७२ देखि भदौ २०७५ सम्म वीरगञ्ज भन्सार कार्यालयमा प्रमुख भन्सार प्रशासक भएर काम गरेका थिए । त्यसअघि उनले विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेका थिए ।

२०७८ फागुनमा सहसचिवमा बढुवा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा काम गरेका पोखरेल विष्णु पौडेल अर्थमन्त्री भएलगत्तै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । चालु आर्थिक वर्षको बजेट निर्माणका बेला उनी भन्सार विभागमा निमित्त महानिर्देशक थिए ।

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल केही दिनमै विमानस्थल भन्सार कार्यालयमा प्रमुख नै पुगेर पद सम्हाल्ने बताउँछन् । ‘भन्सारमा हतपती सहसचिवस्तरका कर्मचारी जान खोज्नुहन्न, तर मन्त्रालयले निर्णय गरेपछि जानुपर्छ’, उनले भने, ‘अहिले निमित्तले सम्हाल्दा पनि भन्सारमा कुनै काम रोकिंदैन, रोकिएको पनि छैन ।’

विभागबाट कार्यालयमा जानुपर्ने भएपछि पोखरेलले विमानस्थल भन्सारमा नजान जोडबल लगाइरहेको अर्थ मन्त्रालयका अधिकारीहरु दाबी गरिरहेका छन् । सहसचिव पोखरेलले आफू अहिले विदामा बसेको जानकारी दिए । विमानस्थल भन्सार कार्यालय नजाने नै सोच्नुभएको हो भन्ने अनलाइनखबरको प्रश्नमा भने, ‘होइन, हप्ता–१० दिनको विदामा छु’, उनले भने, ‘म विदेशमा भएका बेला सरुवा भएछ, मैले चिठ्ठी पनि बुझेको छैन ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?