+
+

विश्वप्रकाशको प्रस्ताव : दुई पटक प्रधानमन्त्री, चार पटक सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १७:२७

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव महासमिति बैठकमा राखेका छन् ।

ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकको बन्दसत्रमा महामन्त्री शर्माले मंगलबार समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्, जसमा नागरिक पङ्तिमा रहेको असन्तुष्टिलाई कसैले सत्तामा जाने भर्‍याङ बनाउन खोजेको बताएका छन् ।

कतिपयले पुरानो सत्ता फर्काउन प्रयोग गर्न खोजेको भन्दै महामन्त्री शर्माले कांग्रेसले व्यवस्थामा परिमार्जनका लागि पहल गर्नुपर्ने बताएका हुन् । यसका लागि व्यक्ति बहिर्गमनको पद्धति बसाल्नुपर्ने प्रस्ताव गरेका छन् ।

कांग्रेसले पार्टीको केन्द्रीय वा जिल्ला सभापति दुई पटक मात्र बन्न पाउने व्यवस्था गरेको भन्दै उनले भनेका छन्, ‘यसको अर्को प्रतिरुप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ ।’ उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्न प्रस्ताव गरेका हुन् । ‘कांग्रेसले यो पद्धतिको अनुशरण आफूले गर्ने छ र, संवैधानिक बस्दोबस्तका लागि प्रस्ताव गर्ने छ’ प्रतिवेदनमा भनिएको छ ।

प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्ने महामन्त्री शर्माको प्रस्ताव छ ।

उनले तीनै तहको उम्मेदवार चयन गर्दा भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरुको सहभागितामा चयन गर्ने प्राइमरीलाई पाइलट प्रोजेक्टका सुरु गर्ने प्रस्ताव गरेका छन् ।

एउटै घर परिवारमा रहने सदस्य एकै तहमा सांसद हुने गरी उम्मेदवार बन्दा आलोचना भएको भन्दै महामन्त्री शर्माले विकल्प खोज्नुपर्ने बताएका छन् ।

विषयविज्ञ र दक्ष्य व्यक्तित्वहरुलाई राजनीतिमा प्रवेश र शासनमा सहभागिताको ढोका फराकिलो बनाउनुपर्ने भन्दै शर्माले प्रस्तावमा लेखेका छन्, ‘मन्त्रिपरिषद् गठन गर्दा त्यस्तो विज्ञताको उपयोग गर्ने सम्बन्धमा संवैधानिक बन्दोबस्तका लागि अन्य दलहरुसँग पनि कांग्रेसले छलफल प्रारम्भ गर्ने छ ।’

हेर्नुहोस्  महामन्त्री विश्वप्रकाश  शर्माको प्रस्ताव :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?