+
+

प्रबल गुरुङको धोती प्यान्ट्स डिजाइनमा सजिइन् पप-क्वीन बियोन्से

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:४४

काठमाडौं । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन पहिरिन विश्व सेलिब्रेटी मरिहत्ते गर्छन् । हलिउड र बलिउडका ए-लिस्टर सेलिब्रेटीले उनको डिजाइनमा आफूलाई सजाइसकेका छन् ।

पप-क्वीन तथा अर्बपति गायिका बियोन्से गुरुङका पहिरनको पारखी हुन् । उनले यसअघि पनि प्रबलको डिजाइनमा आफूलाई प्रस्तुत गरिसकेकी छन् । फेरि पनि बियोन्सेले प्रबलको डिजाइनमा सजिएर विश्वको ध्यान आफूतिर आकृष्ट गरेकी छन् ।

हलिउड सहर लस एन्जलसमा आयोजित एक हेयर केयरको उद्घाटन समारोहमा प्रबलको डिजाइन लगाएर बियोन्से पुगेकी थिइन् । गुरुङको स्प्रिङ समर २०२४ को कलेक्सनबाट बियोन्सेले धोती प्यान्टको साथमा सेतो रङको रेशम कपास सारी, सुतीको सिल्क कुर्ता ब्लाउज पहिरिएकी छन् ।

प्रबलले बियोन्सेको आकर्षक फोटो सेयर गर्दै यो क्षण आफ्ना लागि विशेष रहेको उल्लेख गरेका छन् ।

‘२०२४ को वसन्तको कलेक्सन मेरा लागि हृदयस्पर्शी थियो, किनभने यसले पूर्व र पश्चिमलाई जोड्छ । यो दुई भिन्न ध्रुवका विचार, संस्कृति र आकारको संयोजन पनि हो । म यस्तो जादूयी क्षणलाई अन्वेषण गर्न रुचाउँछु,’ उनले लेखेका छन्, ‘पूर्वमा धोती-पटियाला प्यान्ट धेरै लोकप्रिय छन्, यद्यपि पश्चिममा यी पहिरन लगाउन धेरैलाई असहज भएको छ । अन्ततः मैले हासिल गर्न खोजेको भिन्न संसार, संस्कृति, महाद्वीप, विचारलाई जोड्ने यो सम्बन्धको प्रतीक बन्यो । बियोन्से मलाई मनपर्ने व्यक्ति पनि हुन् । आफ्नो संगीतमा जस्तै उनी निर्वाध रुपमा विभिन्न संस्कृति, शैली, सिलहुट, विधालाई पछ्याउँछिन् । तसर्थ, उनी विश्व संगीतमा शासन गर्छिन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?