+
+

राष्ट्रिय सभा अध्यक्षमा माओवादी उम्मेदवारमा सहमति खोज्छौं : देव गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:२८

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय सभाको अध्यक्ष आफूहरुले लिने गरी सहमतिको प्रयास गर्ने बताएका छन् ।

राष्ट्रिय सभामा वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल २० फागुनमा सकिँदैछ । तिमिल्सिनासहित १९ सांसद बिदा हुँदैछन् र उनीहरुको ठाउँमा ११ माघमा १९ जना निर्वाचित भइसकेका छन् ।

२१ फागुनमा नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुको शपथ हुनेछ र लगत्तै अध्यक्षको निर्वाचन चयन प्रक्रिया सुरु हुनेछ ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको राष्ट्रिय सभाको कार्यतालिकामा यही फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचनको मिति प्रस्तावित छ ।

कांग्रेसको महासमिति बैठकका कारण सत्ता गठबन्धनमा अहिलेसम्म राष्ट्रियसभा अध्यक्षका विषयमा छलफल भइसकेको छैन । ११ माघमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने कांग्रेसको तयारी छ ।

तर, राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलको दाबी रहने माओवादी महासचिव गुरुङको भनाइ छ । राष्ट्रिय सभामा ठूलो दल रहनु, संवैधानिक निकायमा शक्ति सन्तुलन मिलाउनुपर्ने लगायतका आधारमा माओवादीले अध्यक्षमा दाबी गर्नु उचित हुने उनको भनाइ छ ।

५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र २० फागुनपछि १७ सिटसहित पहिलो, १६ सिटसहित कांग्रेस दोस्रो र १० सिटसहित नेकपा एमाले तेस्रो ठूलो दल रहनेछन् । राष्ट्रियसभाका अध्यक्ष संवैधानिक परिषदको पनि सदस्य हुने भएकाले कांग्रेस र माओवादी दुबैको यो पदमा दाबी छ ।

‘माओवादीकै पहलमा राज्यका उच्च तहमा शक्ति सन्तुलनको विषय स्थापित भएको छ । राष्ट्रिय सभाको हकमा पनि यही स्पिरिटमा सहमति हुन्छ र गरिन्छ’ महासचिव गुरुङले अनलाइनखबरसँग भने ।

माओवादीको उम्मेदवारलाई सबै दलले समर्थन गर्ने उनको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?