+
+

कोलकातामा समातेर ल्याइएका पूर्वप्रहरी एक लाख धरौटीमा छुटे

हिरासतमा खटिएका प्रहरीले नै भगाएका थिए लागूऔषध मुद्दाका थुनुवा

गौरव पोखरेल गौरव पोखरेल
२०८० फागुन १० गते २१:०६

१० फागुन, काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले भारतको कोलकाताबाट पक्राउ गरेर ल्याएको अभियुक्त वीरवल राय यादव थुनामुक्त भएका छन् ।

जिल्ला अदालत, काठमाडौंकी न्यायाधीश कमला पौडेलको इजलासले थुनुवा भगाएको कसूरमा पूर्वप्रहरी समेत रहेका यादवलाई मंगलबार एक लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको थियो ।

अदालतको आदेशपछि धरौटीवापतको रकम जम्मा गरेर उनी छुटिसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

अपराध अनुसन्धान कार्यालयले १२ माघमा पत्रकार सम्मेलन गरेर कोलकाताबाट पक्राउ गरेर ल्याइएका पूर्वप्रहरी जवान यादवलाई सार्वजनिक गरेको थियो । त्यसबेला अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनलाई ११ माघमा नेपालमा आएका बेला पक्राउ गरेको दाबी गरेका थिए ।

१६ वर्षअघिको घटनामा आफूलाई प्रहरीले समातेर ल्याएको भन्दै यादवले पत्रकार सम्मेलनमा ‘जसले पनि गल्ती गर्‍यो भने नेपाल पुलिसले नछाड्ने रहेछ’ भनेका थिए ।

आफूलाई यत्तिका वर्षपछि प्रहरीले समात्ला भन्ने नलागेको भन्दै उनले भनेका थिए, ‘प्रहरीले जहाँदखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन ।’

के थियो घटना ?

तत्कालीन प्रहरी जवान वीरवल राय यादव ९ जेठ २०६४ मा जिल्ला प्रहरी परिसर, हनुमानढोकाको हिरासत कक्षको ड्यूटीमा खटिएका थिए । अनुसन्धान अधिकृतहरुले बोलाएका बेला थुनुवालाई ल्याउन लैजाने काम पनि उनकै हुन्थ्यो । अधिकृतहरुको कक्षमा आरोपीलाई लाँदा बाटोमा उनको विभिन्न मुद्दाका अभियुक्तहरुसँग कुराकानी हुन्थ्यो ।

त्यस्तैमा लागूऔषध हेरोइन कारोबार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक मोहमद असरफ आलमसँग उनको कुरा भएको थियो ।

हिरासत कक्षमा हुँदा पनि उनी यादवसँग बोलिरहन्थे । अनुसन्धान अधिकृतसँग भेटाउन लगेका बेला एक दिन वीरवलले उनलाई आफूलाई भगाउन सहयोग गरे १० लाख रुपैयाँ दिने प्रस्ताव राखे ।

विद्रोही माओवादीसँग सरकारले भर्खरै शान्ति सम्झौता गरेको थियो, तराईमा मधेश आन्दोलन चलिरहेको थियो । कहिले सरुवा भएर कता जानुपर्ने ठेगान थिएन । जागिरको पैसाले जिन्दगी चलाउन सहज भइरहेको थिएन । उनले भविष्य त्यति सुरक्षित देखिरहेका थिएनन् ।

त्यहीबेला ‘मोटो रकमसहितको अफर’ सुनेर यादव लोभिए । आलमले नै उनलाई सिकाए – इन्स्पेक्टर सा’बसँग भेट्न लैजाने भनेर निकालेर भगाउनू, कसैले चाल पाउँदैन ।

वीरबलले प्रहरी कहाँ दिएको बयान अनुसार, अभियुक्तकै योजना अनुसार उनले ९ जेठ २०६४ मा साँझ ६ बजेदेखि १० बजेको बीचमा भगाउने योजना बनाएका थिए ।

त्यसबेला हिरासत कक्षको ‘ए’ साइडमा प्रहरी जवान चन्द्रसिंह बोहोरा र ‘बी’ साइडमा उनको ड्यूटी थियो । योजना अनुसार, उनले तत्कालीन इन्स्पेक्टर प्रजित केसीको हस्ताक्षर कीर्ते गरेर कागज बनाए ।

‘उनले आमललाई हत्कडी लगाएर चाबी आफैंले लिएर गेटको ड्यूटीमा रहेकालाई त्यो चिकर्टो देखाए र अभियुक्तलाई बाहिर निकाले’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यसरी हिरासतबाट बाहिर ल्याएर उनले आफूले लगाएको चुस्ता, आलमलाई लगाएको हत्कडी र चाबी मेसको नजिकै रहेको कुरामा छाडेर बाहिर निस्किएको पाइएको छ ।’

प्रहरीका अनुसार, गेटको बायाँपट्टीको पानी ट्यांकी भएको कुनाबाट पर्खार नाघेर उनी अभियुक्त मोहमद असरफलाई लिएर बाहिर निस्किएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख राठौरका अनुसार, उनीहरु त्यसबेला बस चढेर सुनौली नाका हुँदै भारतको रक्सौल पुगेका थिए ।

त्यसक्रममा असरफको घरमा पुगेर दुई/तीन दिन त्यही बसेको वीरबलले बयानमा बताएका छन् । त्यही घरमा बस्दा वीरबलले आफूलाई भारतीय रुपैयाँ ३ लाख ९० हजार ६२५ (नेपाली ६ लाख २५ हजार रुपैयाँ) दिएको उनले भनेका छन् ।

बाँकी रहेको ३ लाख ७५ हजार रुपैयाँ उनले हालसम्म पनि दिएका थिएनन् ।

कोलकातामा श्रीमतीसहित बसेका थिए यादव

पक्राउ परेका आरोपीलाई भगाएपछि उनले पक्राउ परिने डरले प्रायः भारतमै बसे । लागूऔषध कारोबारी आलमले दिएको पैसाले उनले दुईवटा ट्याक्सी खरिद गरेर चलाउन थालेका थिए ।

पुरानो मुद्दाहरुको फाइल पल्टाउने क्रममा खोजी गर्दा उनी भारतको कोलकातामा बस्दै आएको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरु बताउँछन् । त्यसक्रममा कार्यालयको टोलीले उनलाई कोलकातामा लोकेट गरेको थियो ।

यादवलाई लिन अनुसन्धान अधिकृतको टोली कोलकाता पुग्दा उनीसँग अहिले ९ वटा ट्याक्सी रहेको खुलेको थियो । उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स पनि बनाइसकेको पाइएको थियो ।

‘उनी त्यहाँ रहेको पक्का भएपछि टोलीले पक्राउ गरेर ल्याएको हो’, प्रहरी स्रोतले भन्यो । उनले भगाएका आरोपी आलम भने अहिलेसम्म फरार सूचीमै छन् । आफ्नो बाँकी पैसा समेत नदिइ फरार रहेको पूर्वप्रहरी जवान आलम बताउँछन् ।

अधिकृतहरुका अनुसार, कोलकातामा उनी श्रीमती र सन्तानसहित बसिरहेका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?